प्रसारण लाइन गुराँस क्षेत्रबाहिर पार्न माग

गुराँस वन संकटमा परेको भन्दै स्थानीय तहद्वारा विरोध
चन्द्र कार्की

(तेह्रथुम) — राष्ट्रिय गौरवको आयोजना भनिएको कोसी करिडोर २२० केभिए विद्युत् प्रसारण लाइन बिस्तारका क्रममा गुराँससहितका रुख नष्ट हुने भन्दै स्थानीय तहले विरोध गरेको छ । लालीगुराँस नगरपालिकाले गुराँस बनक्षेत्रलाई नोक्सानी नहुने गरी अन्यत्रबाट प्रसारण लाइन लैजान माग गरेको छ ।

प्रसारण लाइन गुराँस क्षेत्रबाहिर पार्न माग

गुराँससहित बहुमूल्य प्रजातिका रुख नष्ट हुने भन्दै यसको असर वातावरण र पिउने पानीको मुहानमा पर्ने नगरपालिकाले जनाएको छ । गुराँस भूमि तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र भएर आयोजनाले प्रसारण लाइन बनाउन खम्बा गाड्ने तार टाँग्ने काम गरिरहेको छ ।


लालीगुराँस नरका मेयर अर्जुन माबोहाङसहितको टोलीले काठमाडौं पुगेर सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । वन तथा वातावरण मन्त्रालय, ऊर्जा तथा जलस्रोत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, खानेपानीलगायत मन्त्रालयको ध्यानाकर्षण गराइएको उनले बताए ।


उनका अनुसार गुराँस वन जोगाएर अन्यत्रबाट प्रसारण लाइन लैजान माग गर्दै मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ । ताप्लेजुङको तमोर तथा मेवा खोला क्षेत्रमा उत्पादित र उत्पादन हुने तयारीमा रहेको एक हजार मेगावाट विद्युत् वसन्तपुरको टुटे सबस्टेसन हुँदै सुनसरीको इनरुवास्थित सबस्टेसनमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको आयोजनाका साइट इन्जार्च सोमप्रसाद पौडेलले बताए ।


यो प्रसारण लाइनले तेह्रथुमका ६ वटा सामुदायिक र केही राष्ट्रिय वनका १५ हजारभन्दा बढी रुख काटिने आयोजनाले जनाएको छ । लालीगुराँस नगरपालिकाका चैते, तीनजुरे रातपोखरी र चित्रे सामुदायिक वन क्षेत्र भएर प्रसारण लाइन निर्माणका लागि काम भइरहेको छ । वसन्तपुर ढुंगेसाँघु क्षेत्रको प्रसारण लाइनमा पर्ने चैते सामुदायिक वन क्षेत्रमा एक हजार चार सय २५ वटा गुराँससहितका रुख कटान हुने डिभिजन वन कार्यालयले जनाएको छ । अरु क्षेत्रसमेत गरी कति रुख कटानमा पर्ने भन्नेबारे अध्ययन भइरहेको डिभिजन वन कार्यालयका अधिकृत सुनिलकुमार सिंहले बताए । प्रसारण लाइन पर्ने क्षेत्रका रुख काट्ने निर्णय संघीय सरकारको भएकाले स्थानीय स्तरबाट केही हुन नसक्ने सिंहको भनाइ छ ।


एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने यो क्षेत्र गुराँसको राजधानीको रूपमा चर्चित छ । आयोजनाले तेह्रथुमका चार, संखुवासभाका चार र ताप्लेजुङको एक गरी नौवटा सामुदायिक र केही निजी जग्गाको समेत रुख काट्ने तयारी गरिरहेको साइट इन्चार्ज पौडेलले बताए । क्षति भएको एउटा रुख बराबर २५ वटा विरुवा हुर्काएर हस्तान्तरण गरिने उनले जनाए ।


आयोजनाले तमोर नदी र मेवाखोला क्षेत्रमा उत्पादित बिजुली टुटेमा बनिरहेको सबस्टेशन हुँदै सुनसरीको इनरुवामा लगेर ढल्केबरबाट आएको ४०० केभीए क्षमताको राष्ट्रिय प्रसारणमा जोड्ने जनाएको छ । पूर्वका पाँच जिल्लालाई समेट्ने गरी बन्दै गरेको कोसी करिडोर प्रसारण लाइनका लागि भारतीय एक्जिम बैंकको ९० मिलियन डलर ऋण सहयोग छ । यो लाइनबाट अरुण–३ बाहेक भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा उत्पादन भएको विद्युत संकलन गरी राष्ट्रिय प्रसारणमा जोडिनेछ । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाले उत्पादन गरेको ५१६ मेगावाट विद्युत् पनि सोही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता गरिसकेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७६ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?