१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुढ्यौलीमा पनि आराम छैन आमालाई !

सुम्निमा चाम्लिङ

सुनसरी — खहरे खोलाको डिलमा झुरुप्प परेको बस्ती छ । बीचतिर ५६ वर्षीया कुमारी विश्वकर्माको दुईकोठे सानो घर छ । टिनको छाना ठाउँठाउँमा प्वाल परेका छन् । इँटाको गारो चर्केको छ । जीवन दुःखले बितिरहेको छ ।

बुढ्यौलीमा पनि आराम छैन आमालाई !

२६ वर्षअघि बनेको यो घरमा उबेला कम्ती उमंग थिएन । साथमा श्रीमान् थिए । एउटी छोरी र तीन छोरा थिए । जेठो छोरा कुमार जन्मँदा परिवारमा निकै खुसी छाएको थियो । उनीपछि गणेश, सन्तोष र छोरी गंगा परिवारमा थपिए । सन्तान हुर्कदै थिए । विश्वकर्मा दम्पतीले सन्तानले भविष्यमा केही गर्ने आशा बोकेका थिए । समय बित्दै जाँदा उनीहरूले आशा गरेजस्तो भएन । जेठो सन्तान कुमारको एउटा हात राम्ररी नचल्ने भयो । त्यस्तै अवस्थामा पनि गाडी मर्मत गर्ने सीप सिके । हात राम्ररी चलाउन नसक्ने भएकाले ग्यारेजमा सहयोगीका रूपमा काम गरिरहेका छन् ।


माइला छोरा २४ वर्षीय गणेश पनि शारीरिक रूपमा अशक्त छन् । घस्रेर हिँड्छन् । हातखुट्टा एकोहोरो कामिरहन्छ । उनी १५ वर्षको उमेरमा एक्कासी बिरामी परेका थिए । जति उपचार गराउँदा पनि निको भएन ।

३२ वर्षीया छोरी गंगाको पनि उस्तै अवस्था भयो । उनी पनि घस्रेर ओहोरदोहोर गर्छिन् । तैपनि पानी थाप्ने र खाना पकाउने काममा उनी सघाउँछिन् । गंगाकी १४ वर्षीया छोरी छिन् । जन्मेको केही वर्षपछि उनका पनि दुवै खुट्टा चल्न छाडेको कुमारीले सुनाइन् ।


जति उपचार गरे पनि अवस्था सामान्य भएन । यस्तो दुःखसाथ बितिरहेको जीवनमा श्रीमान्को साथ टुट्यो । ८ वर्षअघि उनले संसार छाडे । त्यसपछि उनी माइतमा बस्दै आएकी छन् । कुमारीका कान्छा छोरा दिल्लीमा छन् । उनको पनि सामान्य रूपमा हात चल्दैन ।


ठूली बुहारी ३७ वर्षीया अनिता परियारको एउटा आँखामा दृष्टि छैन । पाँच वर्षअघि सर्पले टोकेको थियो । उपचारपछि अरू अप्ठ्यारो त गयो तर एउटा आँखा भने सद्दे रहेन । अर्को आँखाले पनि मधुरो मात्र देखिने भएकाले घरकै काम गर्न पनि असजिलो हुने अनिताले बताइन् ।


कुमारीका दुई नाति र एक नातिनी भने सामान्य अवस्थाका छन् । श्रीमान् बितेपछि छोराछोरी, बुहारी र नातिनातिनाको पालनपोषण उनकै भरमा छ । उनी आफैं पनि कम्मर र ढाड दुख्ने समस्याबाट ग्रस्त छिन् । थिलथिलो शरीरले बनिबुतो नगरी घरको चुलो बल्दैन । उनी बिहान ७ बजेदेखि साँझैसम्म अरूको घरमा काम गरेर खर्च जुटाउँछिन् । ‘बडो दुःखले छोराछोरी पालेकी छु,’ उनी भन्छिन्, ‘बुढी भइसकें, मैले पनि काम नगरे यिनीहरूलाई कसले हेर्ला !’


दिनभर अरूको बारी खन्नु, बंगुरको खोर सफा गर्नु, लुगा धुनु, घर सफा गर्नु उनको दैनिकी हो । गत वर्ष परेको असिनाले घरको छाना प्वाल परेको छ । प्लास्टिक र कार्टुनले टालेर पानीबाट जोगिने गरेका छन् । सानै झरी पर्दा समेत राम्ररी सुत्न पाउँदैनन् । ‘घरको छाना हाल्न पाए हुन्थ्यो । पानी पर्दा बिजोग हुन्छ,’ उनले भनिन्, ‘यो बर्खा कसरी कट्ला भन्ने पिरलो छ ।’


छोरा र छोरीले मासिक ३ हजार अपांग भत्ता पाउँछन् । मासिक दुई हजार एकल महिला भत्ता उनको भागमा पर्छ । आमाको कमाइमा बाँच्न पर्दा दुःख लाग्ने गरेको अनिता बताउँछिन् । घरैमा बसेर केही सीप सिक्ने र त्यसैबाट कमाइ गर्न सकिने भए गरौं भन्ने उनलाई लागेको छ । ‘अन्यत्र गएर काम गरौं भन्दा राम्ररी देख्नै सक्दिनँ’ अनिताले भनिन्, ‘घरमै केही गरेर थोरै भए पनि कमाउन सके आमालाई भरथेग हुन्थ्यो ।’

प्रकाशित : फाल्गुन २४, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?