१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

थोरै ऋण, कडा मिहिनेत अनि उन्‍नति

सुम्निमा चाम्लिङ

(इटहरी) — कामको खोजीमा तेह्रथुमकी ३७ वर्षीया कविता सुब्बा १९ वर्षअघि धरान झरेकी थिइन् । श्रीमान् र उनी काखे छोरीसाथ कोठा भाडामा लिएर बसे । श्रीमान् कक्षा १२ मा अध्ययन गर्थे । अलि पछि उनी चाहिँ एक मार्केटिङ कम्पनीमा काम गर्न थालिन् ।

थोरै ऋण, कडा मिहिनेत अनि उन्‍नति

मुस्किलले परिवारको खर्च चलेको थियो । व्यवसाय गर्ने सोच थियो । पैसा थिएन । सुरुका दिनमा आफन्तले ऋण पनि पत्याएनन् । त्यसैबेला छिमेक लघुवित्त नामको संस्थाले महिलालाई उद्यमशील बनाउन बिनाधितो ऋण दिने थाहा पाइन् ।


संस्थाबाट सुरुमा उनले १० हजार रुपैयाँ लिइन् । २७ धुर जग्गा भाडामा लिएर सयवटा बोइलर कुखुरा र ४ वटा बंगुर पाल्न थालिन् । दुई घण्टा जति मात्र सुतेर बाँकी समय त्यसैमा खटेको उनले सुनाइन् । मिहिनेत गरेअनुसार व्यवसाय फस्टाउँदै गयो । यति कडा मिहिनेतले उनलाई फाइदा नहुने कुनै भएन । अहिले उनको फार्ममा २५ वटा उन्नत जातका खसीबोका र ६० वटा बंगुर छन् । ती बिक्रीका लागि तयारी अवस्थामा छन् । माउ बंगुर र बाख्रा पनि छन् । बंगुरबाट मात्रै उनको वार्षिक कमाइ ६ लाख रुपैयाँभन्दा बढी रहेछ ।


बाख्राबाट वार्षिक ५ लाख रुपैयाँ नाफा भइरहेको कविताले सुनाइन् । ‘कुनै समय १० हजार रुपैयाँ सापटी पनि पाएको थिइनँ,’ उनले भनिन्, ‘अब भने सबै गरेर करोड बराबरको पुँजी जुटाउन सफल भएकी छु ।’


यही कामको कमाइले जग्गा किनेर त्यसैमा फार्म चलाएकी छन् । घडेरी पनि जोडेकी छन् । ‘संस्थाले ऋण नदिएको भए गरिखान सजिलो थिएन,’ कविताले भनिन्, ‘ऋण राम्रोसँग उपयोग गर्न सके किस्ता तिर्न पनि गाह्रो नहुने रहेछ ।’ धरानमा रहेको खाली जग्गा लिजमा लिएर बाख्राका लागि घाँस लगाएकी छन् । उनका अनुसार बाख्रा बेच्न लायक बनाउन मिहिनेत लाग्छ र ढिलै भए पनि आम्दानी राम्रो हुन्छ । १३ वर्षयताको उनको अनुभव अरूका लागि पनि काम लाग्न थालेको छ । उनी आफूआबद्ध समूहका सदस्यलाई लघुवित्तबारे बुझाउँदै पेसा व्यवसाय गरी जीवनस्तर उकास्न सकिने भन्दै उत्साहित गराउन थालेकी छन् ।


धरानकी ३५ वर्षीया गीता कामत पनि लघुवित्तमार्फत उन्नति गर्ने महिलामा पर्छिन् । ८ वर्षअघि फरवार्ड नामक वित्तीय संस्थामा आबद्ध भएकी थिइन् । श्रीमान्को मदिरा सेवन गर्ने बानी भएकाले सुरुमा चलाएको तयारी कपडा पसलबाट नोक्सानी भएको सुनाइन् ।


दुई छोरा र छोरी सानै थिए । सन्तानको पढाई र घर खर्च जुटाउन निकै मुस्किल थियो । व्यवसाय गर्ने अठोट भने उनमा रहेछ तर साथमा पुँजी थिएन । साहु र आफन्तले सापट दिएनन् । एकजना साथीबाट संस्थाले बिनाधितो ऋण दिने थाहा पाइछिन् । अनि संस्थाको सदस्य बनेर सुरुमा २० हजार रुपैयाँ ऋण लिइन् । त्यसबाट भानुचोकमा पूजा स्टोर नाम राखेर जुत्ता पसल खोलिन् । व्यवसाय राम्रो फस्टायो । सम्झाइ बुझाइ गरेपछि श्रीमान् पनि सुध्रिए । दुवैको सहकार्यमा व्यवसाय फस्टायो । हाल उनको पुँजी १५ लाख पुगेको छ ।


एकजना कर्मचारीको पारिश्रमिक र कोठा भाडा कटाएर राम्रै नाफा भइरहेको उनले सुनाइन् । उनीहरूले सुनसरीको भण्टाबारीमा कपडा पसल विस्तार गरेका छन् । व्यवसायकै कमाइले छोरालाई डाक्टर र छोरीलाई निजी विद्यालय पढाउन पुगिरहेको गीताले बताइन् ।


उनीहरू जस्तै इन्दु लिम्बु पनि लघुवित्त संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेकी छन् । ७ वर्षदेखि ब्युटीपार्लर चलाउँदै आएकी उनी चार वर्षअघि स्वदेशी लघुवित्त संस्थामा आबद्ध भएकी हुन् ।


बिनाधितो एकमुष्ट लगानी गर्ने भएकाले व्यवसाय विस्तार गर्न सजिलो भएको उनको अनुभव छ । ‘सामानहरू थपेर लगानी गर्न पाएकी छु’ उनले भनिन्, ‘यसैको कमाइले मासिक किस्ता तिर्छु ।’

प्रकाशित : फाल्गुन २२, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?