शिक्षकको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ६ दिनदेखि ठप्प

एलिसा श्रेष्ठ

भोजपुर — भोजपुर बहुमुखी क्याम्पसमा अध्यापनरत आंशिक शिक्षक संघको आन्दोलनका कारण पठनपाठन ६ दिनदेखि ठप्प छ । त्रिभुवन विश्वविद्यालयको रिक्त दरबन्दीमा करार नियुक्ति पाउँनु पर्ने माग राख्दै फागुन १६ गतेबाट आन्दोलन गरिरहेका छन् ।

शिक्षकको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ६ दिनदेखि ठप्प

क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकहरुले पठनपाठन ठप्प पारेका हुन् ।

उनीहरुले गत ११ गते ध्यानकर्षण पत्र बुझाएका थिए ।


त्यसपछि पनि माग पूरा नभएपछि १६ गतेबाट ‘पेन डाउन’ गरेर उनीहरुले पठनपाठन ठप्प पारेका हुन । शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थीहरुको पढ्न पाउने अधिकार कुण्ठित गरिएको भन्दै बुधबार स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रकाश सिं राईले प्रेस विज्ञप्ती निकालेर आपत्ति जनाएका छन् ।


शिक्षकहरुको आन्दोलनका कारण पठनपाठन ठप्प हुँदा पढाईमा बाधा पुगेको शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्रा सावित्रा तामाङले बताइन् । उन्ले भनिन्, ‘दुई पक्षीय छलफल गराएर निष्कर्ष निकाल्दै पढाइ सुचारु भए हुन्थ्यो । पढाईका लागि सदरमुकाम आएर बसिरहेका छौ ।’


आन्दोलनरत शिक्षकहरुले भने विज्ञप्ती मार्फत आफूहरुलाई करारमा नियुक्त नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् । आन्दोलनरत शिक्षकका प्रवक्ता पदम कार्कीले भने ‘हामी अहिले दैनिक ज्यालादारीमा काम गरिरहेका छौ, क्याम्पसमा करारका पदहरु रिक्त छन् । तरपनि हामीलाई करारमा लैजान क्याम्पस प्रशासनले मानिरहेको छैन्, यसबाट हाम्रो वौद्धिक शोषण भईरहेको छ ।’


आंशिक शिक्षकहरुले राखेको मागको विषयमा माथिल्लो निकायसंग पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । आन्दोलनरत प्रध्यापकसंग वार्ता गर्ने तयारी भइरहको क्याम्पसको भनाइ छ । भोजपुर क्याम्पसमा ६ सय बढी विद्यार्थीहरु छन् ।

प्रकाशित : फाल्गुन २१, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?