शिविर आए मात्र उपचार

कान्तिपुर संवाददाता

(संखुवासभा) — मानवीर गुरुङ एक सय दुई वर्ष पुगे । उनलाई उच्च रक्तचाप, चिनी रोग र श्वासप्रश्वासको समस्या छ । तर, चचिला गाउँपालिका–१, चिचिला बजारका गुरुङ उपचार गराउन सदरमुकाम खाँदबारीसम्म आउन सक्दैनन् ।

शिविर आए मात्र उपचार

अस्पतालसम्म ल्याउने कोही नभएका कारण गाउँमा भएको स्वास्थ्य चौकीमा सामान्य औषधि खाएर बस्न बाध्य छन् । गुरुङका लागि राम्रो उपचार सेवा लिन गाउँमै विशेषज्ञ टोलीसहितको नि:शुल्क शिविर बस्नै पर्छ । ‘बुढेसकालमा अनुभवी चिकित्सकबाट उपचार गराएँ,’ चिचिलामा सञ्चालित शिविरमा स्वास्थ्य परीक्षणपछि उनले भने, ‘गाउँमा राखिएको स्वास्थ्य जाँचले हामीजस्ता बुढापाकालाई धेरै राहत मिल्यो ।’


अस्वस्थ भए पनि सदरमुकाम खाँदबारीसम्म आउन समस्या भएपछि गुरुङजस्तै ग्रामीण क्षेत्रका बासिन्दा उपचारका लागि नि:शुल्क शिविरको प्रतीक्षामा हुन्छन् । गाउँमै शिविर सञ्चालन हुँदा पर्याप्त औषधि लिने र आफ्नो समस्या चिकित्सकलाई खुलेर भन्न सक्ने उनको अनुभव छ ।


चिचिला गाउँपालिकाले यसपटक विशेषज्ञ चिकित्सकसहित दुईदिने नि:शुल्क स्वास्थ्य शिविर राख्यो । यही मौकामा एक हजार चार सय स्थानीयले उपचार गराए । गाउँपालिका अध्यक्ष पासाङ शेर्पाका अनुसार सबै वडाका बिरामीका लागि शिविर स्थलसम्म आइपुग्न नि:शुल्क यातायात सेवासमेत उपलब्ध गराएको थियो । ‘धेरै रकम खर्चेर सदरमुकाम या अन्य अस्पतालमा गएर उपचार गर्न नसक्नेका लागि गाउँमै शिविर राखेका हौं,’ उनले भने, ‘त्यसका लागि पाँचवटै वडामा बस र ट्याक्सीबाट बिरामी ल्याउने व्यवस्था मिलाएका थियौं ।’


नोवेल अस्पतालको सहयोगमा सञ्चालित शिविरमा १४ प्रकारको उपचार सेवा दिइएको थियो । मुटु, स्त्री तथा प्रसुति, बाल, शल्यक्रिया, मानसिक, हाडजोर्नी तथा नसा, छाला तथा यौन, नाक, कान, घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त सेवा, न्यूरो सर्जरी, भिडियो एक्सरेलगायत सेवा दिइएको अध्यक्ष शेर्पाले बताए ।


निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि प्रभावित क्षेत्रका बासिन्दाका लागि यातायात खर्चबापत गाउँपालिकालाई एक लाख रुपैयाँ सहयोग गरेको थियो । सो रकम चिचिलाका सात स्थानबाट बस र ट्याक्सीको सहयोगमा बिरामी बोक्न खर्च गरिएको उनले जानकारी दिए ।


अध्यक्ष शेर्पाका अनुसार शिविरमा उपचार हुन नसकेका बिरामीलाई पालिकाले विराटनगरसम्म लगेर नि:शुल्क उपचार गराउने छ ।


विराटनगरमा उपचारमा खर्च भएको रकम पनि गाउँपालिका र नोबेल अस्पतालले संयुक्त रूपमा बेहोर्ने सहमति भएको उनले बताए ।

आँखा नदेख्ने समस्याबाट पीडित विपन्न परिवारका वृद्धवृद्धाको शिविरमा शल्यक्रिया गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश मगरले बताए । ‘शल्यक्रियाका लागि खर्च गर्न सक्ने आर्थिक हैसियत नभएका परिवार गाउँमा धेरै छन्,’ उनले भने, ‘उनीहरूका लागि गाउँपालिकाले आयोजना गरेको शिविर वरदान सावित भएको छ ।’


उनका अनुसार गाउँपालिकाले आँखाका रोगीका लागि चस्मासमेत नि:शुल्क वितरण गरेको छ । विपन्न तथा ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरेर सबै प्रकारका सेवा एकै ठाउँमा दिइएको उनले बताए ।


शुक्रबारबाट सुरु भएको शिविर शनिबार सम्पन्न भएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?