‘अपूर्ण विधेयक किन संसद्‍मा ?’- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अपूर्ण विधेयक किन संसद्‍मा ?’

देवनाराण साह

विराटनगर — प्रदेशसभामा अधिकार प्रत्यायोजन गराउने गरी मात्रै अपूर्ण विधयेक ल्याउने गरेको भन्दै सत्तारूढ दल नेकपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन् । सरकारले संसद्‍मा ल्याएका प्रत्येक विधेयकको अधिकांश दफामा ‘तोकिएबमोजिम हुने’ शब्दावली प्रयोग गरी सदनलाई छल्न खोजेको भन्दै उनीहरूले आलोचना गरेका हुन् । 

विराटनगरस्थित प्रदेश संसद् भवन । फाइल तस्बिर : कान्तिपुर

प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को सैद्धान्तिक छलफलमा सत्तारूढ दलका सांसद उपेन्द्रप्रसाद घिमिरेले ४६ दफा रहेको यस विधयेकको ३१ वटा दफामा तोकिएबमोजिम हुने शब्दाबली प्रयोग गरी सदनबाट अधिकार प्रत्यायोजन गराउन खोजेको बताए । ‘सरकारले ल्याउने अधिकांश विधयेकमा तोकिएबमोजिम हुने शब्दावलीको अत्यधिक प्रयोग गरिएको हुन्छ,’ उक्त विधयेकको सैद्धान्तिक छलफलमा उनले भने, ‘सरकारले सरोकारबालाहरूसँग छलफलै नगरी हचुवाको भरमा सदनमा अपूर्ण विधयेक ल्याउने गरेको हो ।’


यस्तो अपूर्ण विधयेक सदनबाट पारित भए ३१ वटा नियमावली बनाउनै वर्षौं लाग्ने र कानून कार्यान्वयन हुन गाह्रो हुने अबस्था सरकारले सृजना गरिरहेको घिमिरेको भनाई थियो । ‘सरकारले विधयेक निर्माण गर्दा जनताको मर्म र भावना अनुकुल व्यवहारिक बनाउनुपर्छ,’ उनले भने, ‘अहिले सदनमा छलफलका लागि आएका अधिकांश विधयेक व्यवहारिक नहुँदा कार्यान्वयनमा समस्या भइरहेको छ ।’ सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सदन अधिकार प्रत्यायोजन गर्ने थलो मात्रै भएको भन्दै प्रश्न गरे । ‘संसदमा ल्याउने विधयेकमा तोकिएबमोजिम हुने शब्दावली अत्यधिक प्रयोग गरेर ल्याउनु व्यवहारिक होइन,’ उनले भने, ‘जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न विधेयकमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुबिधा तोकेरै जानुपर्छ ।’


निःशुल्क उपचार पनि तोकिएबमोजिम लेखेर नहुने राजभण्डारीको भनाई थियो । ‘ठूलाबडाले भनेपछि मात्रै निःशुल्क उपचार होइन, विधयेकमै के के र कस्तो उपचार निःशुल्क हुने उल्लेख गर्नुपर्छ ।’ उपचार निःशुल्क गर्नुभन्दा पहिले चिकित्सक पठाउने भरपर्दो व्यवस्था विधयेकमा गर्नुपर्ने उनको भनाई थियो ।


विधयेकमा प्रदेश मातहत रहेका अस्पतालहरूमा व्यवस्थापन समिति गठन गर्ने उल्लेख भए पनि चिकित्सक पठाउने व्यवस्था नभएकाले थपेर अघि बढ्नुपर्ने राजभण्डारीले बताए । ‘उपचारमा लापरबाही गर्ने चिकित्सकलाई सजाय र राम्रो उपचार गर्नेलाई पुरस्कारको समेत विधयेकमै व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘सहरभन्दा बाहिर चिकित्सक जान नमानिरहेको अबस्थामा हिमाल, पहाड र तराईमा चिकित्सकको सेवा र सुबिधा वृद्धि गर्नुपर्छ ।’ निःशुल्क औषधी सामुदायिक र निजी सबैतिर सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।


सत्तारुढ दलकै अर्का सांसद मोहनकुमार खडकाले पूर्ण विधयेक संसदमा ल्याउनुपर्ने र प्रत्यायोजित अधिकार निश्चित गरेर अघि बढनुपर्ने बताए । ‘स्वास्थ्यकर्मीले प्रदान गर्ने स्वास्थ्य सेवालाई अनिवार्य बनाउनुपर्छ,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेका व्यक्तिलाई देशभरि उपचार गराउन पाउने व्यवस्था गर्नुपर्छ ।’


यस विधयेकमा तीन वटा कोषको व्यवस्था गरिएको र उक्त कोषको रकम दुरुपयोग नहुने व्यवस्था पनि सँगै गरेर अघि बढ्नुपर्ने खडकाको भनाई थियो । उनले शौचालय सफा नराख्ने कार्यालयका प्रमुखलाई कारबाही गर्ने व्यवस्था विधयेकमै गरेर अघि बढ्नु पर्ने बताए । चालु हिउँदे अधिवेशनमा प्रदेशसभा सचिवालयमा दर्त्रा भएका प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक, बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशस्तरमा फर्म दर्त्ता, नवीकरण तथा तत्‌सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत अधिकांश दफामा तोकिएबमोजिम हुने शब्दाबली प्रयोग भएको पाइयो ।


सामाजिक विकास मन्त्री जीवन घिमिरेले जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकको छलफलका क्रममा २३ जना सांसदहरूले उठाएको प्रश्नको शुक्रबार जवाफ दिएका थिए । ‘ऐनलाई छोटो, छरितो र सैद्धान्तिकृत बनाउनका लागि तोकिएबमोजिमको व्यवस्था गरिएको छ,’ उनले भने, ‘स्वयंसेविका कोषको परिचालन उनीहरूले नै गर्ने भएकोले अनियमितता हुने सम्भावना न्यून हुन्छ ।’ प्रदेशमा एम्बुलेन्स सेवा नभई अहिले ब्यापारसँगै निजी अस्पतालहरूको बिचौलीयासमेत भएकोले विधयेकमार्फत नियमन गर्न खोजिएको उनले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्

कविता सुन्न रु. १००/–

माधव घिमिरे

विराटनगर — चर्चित कविता सर्जककै स्वरमा । आफ्नै सहरमा । महिनैपिच्छे फरक फरक शैली र बान्कीका सिर्जना सुन्न पाइने । यो अवसर विराटनगर र आसपास क्षेत्रका साहित्यकार अनि साहित्यप्रेमीले पाइरहेका छन् । स्थापित कविको उपस्थितिमा हुने कार्यक्रमले एउटा बेग्लै साहित्यिक तरंग ल्याएको छ । मंसिरयता यहाँ नियमित आयोजना भइरहेको कार्यक्रममा पुराना सर्जकमात्र होइन नयाँ पुस्ता पनि रमाउन पाएको छ ।

ख्यातिप्राप्त सर्जकका कालजयी कविता उनीहरूकै प्रस्तुतिमा आमने सामने हुने मेलो आरोहण गुरुकुलले मिलाएको हो । हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कार्यक्रममा विराटनगर र पूर्वका अन्य स्थानका सर्जकको उल्लेख्य सहभागिता हुन्छ । कविता सुन्न सय रुपैयाँको टिकट लिनुपर्छ । विद्यार्थीका लागि ५० रुपैयाँमात्र लिने गरिएको छ ।

स्थापित कविको कविता वाचनको शृंखला ‘काव्यारोहण, आरोहण कविता यात्रा’ मा विराटनगरस्थित सुशीला कोइराला नाटक घरमा भेला भएका साहित्यकार, साहित्यप्रेमी सहभागी हुन्छन् । विद्यार्थीको पनि उल्लेख्य सहभागिता हुन्छ । प्रत्यक्ष देख्न/भेट्न नपाएकाहरूले आफ्नै अगाडि ख्यातिप्राप्त व्यक्तित्वलाई पाउँदा सँगै फोटो खिच्ने र भलाकुसारी समेत गर्ने गरेका छन् ।

यो शृंखलाको पहिलो अनुक्रममा मंसिरको पहिलो शनिबार वैरागी काइँला प्रस्तुत भएका थिए । उनले हाट भर्ने मानिस, माया र मफलर, औंलाहरू चुमेर, अटोग्राफ, प्लाञ्चेटको टेबल, म मेरो वजन जति मेरो धरतीलाई भार भएको छु जस्ता कविता सुनाएका थिए । खास नाम तिलविक्रम नेम्वाङ भएका वैरागी काइँला २०२० को आयामेली आन्दोलन मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारका रुपमा चर्चित छन् । थोरै कविता लेखेर धेरै चर्चा कमाउने स्रष्टाका रुपमा उनी स्थापित छन् । उनका कवितामा दुरुह र विलक्षण बिम्वहरू पाइन्छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपतिका रुपमा पनि उनले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान पुर्‍याएका छन् । लिम्बू जातिको धर्मशास्त्र मानिने मुन्धुमबारे उनले खोज अनुसन्धान गरी ऐतिहासिक तथ्यहरू लिपिबद्ध गरेका छन् । दोस्रो अनुक्रममा पुस ५ गते सुनिए अर्का चर्चित कवि तुलसी दिवस । उनले आफ्ना चर्चित करिब दर्जन कविता सुनाए । रुख, बाघचाल, रंगिन आवाजहरूको जुलुस, अवतार दर्शन, रातो फूल, जिन्दगी लुगा भएलगायत कविता वाचन गरेका थिए । विराटनगर, दमक, धरान, इटहरीबाट साहित्यकार, विद्यार्थीलगायतमाझ उनले आफ्ना सिर्जनामार्फत मुग्ध बनाए ।

तुलसी दिवस जहाँ अन्धकार छ, त्यहीँ पसेर प्रकाशको खोजी गर्न सक्ने कवि भएको राष्ट्रकवि माधव घिमिरेले टिप्पणी गरेका स्रष्टा हुन् । मानवभित्रको चिरन्तन प्रकाशको चाहनाका निम्ति जन्मनासाथ सूर्य टिप्न जाने हनुमान, स्वर्गको आगो चोर्ने प्रमिथियस र ग्रहताराबाट नयाँ आलोक ल्याउन उड्ने प्रथम स्पुतनिकलाई प्रतीक बनाउने दिवस मनुष्यका टाउका–टाउकामा कुद्दै आगो सल्काउँदै हनुमानले सीतालाई झैं मानवतालाई पत्ता लगाउने सर्जक भएको घिमिरेले एक प्रसंगमा चर्चा गरेका छन् । माघको पहिलो शनिबार तेस्रो शृंखलामा प्रस्तुत भए अर्का चर्चित सर्जक बम देवान ।

विम्ब प्रयोग गरेर प्रगतिशील कविता पस्कन खप्पिस मानिने देवानले आगाको फूल, भरिया कान्टो, वन फूल, बुद्ध नेपाल, वैशाख हिँडिरहेको छ, भयबोध, मेरी प्रियसीलगायत डेढ दर्जनभन्दा बढी कविना सुनाएर स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए । साहित्यमा योगदानको कदरस्वरुप उनले महानन्द पुरस्कार, कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कारलगायत प्राप्त गरेका छन् ।

चौथो पटक फागुनमा पालो थियो कवि मोमिलाको । पूर्वेली सर्जक र साहित्यप्रेमीमाझ उनले नारी संवेदना, प्रेम, दर्शनजस्ता विषयमा सिर्जना गरेका दर्जनभन्दा बढी कविता सुनाइन् । २०४२ सालताका निर्माण पत्रिकामा प्रकाशित प्रतिबिम्बित मानवता शीर्षकको कविताबाट सार्वजनिक भएकी मोमिलाका प्रतीक्षा फेरि चिताकोलगायत कविता चर्चित छन् । पैयुँ फुल्न थालेपछि, जूनकिरीहरू ओर्लिरहेछन्, दुर्गम उचाइमा फूलको आँधी, निर्वस्त्र नगरीमा जस्ता कविता संग्रह प्रकाशन गरेकी मोमिलालाई साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले पुरस्कृत गरेका छन् ।

चैतको कार्यक्रमका लागि दार्जिलिङका कवि मनप्रसाद सुब्बा आउने तय भएको कवि सुमन पोखरेलले बताए । काव्यारोहण कार्यक्रममार्फत स्थापित सर्जकले कस्तो लेख्छन्, कसरी वाचन गर्छन् भन्ने नयाँ पुस्ताले बुझ्न पाएको उनको अनुभव छ । ‘यो कार्यक्रममा साहित्य सिर्जनामा सक्रियहरूलाई त ऊर्जा दिन्छ नै’ पोखरेलले भने, ‘नयाँ पुस्तालाई पनि प्रेरणा मिलेको अनुभव गरेका छौं ।’

विगतमा आरोहणले एकल कविता वाचन शुंखला समेत सञ्चालन गरेको थियो । त्यही कार्यक्रममो निरन्तरता भए पनि अलि बेग्लै रुपमा नयाँ शृंखला सुरु गरिएको आरोहण अध्यक्ष भैरव क्षेत्रीले बताए । त्यसबेला कष्णभूषण बल, जसराज किराती, केशव आचार्य, मिश्र वैजयन्तीजस्ता सर्जकले आफ्ना रचना सुनाएका थिए । यसअघि आरोहणले काठमाडौंमा कविता वाचनकै शृंखला कविता यात्रा सञ्चालन गरेको थियो । उक्त शृंखला हाल बन्द भएको छ ।

लामो समयदेखि रंगमञ्च तथा कला–साहित्यको विभिन्न विधामा काम गर्दै आएको आरोहणले साहित्यप्रेमीलाई उत्कृष्ट कविताहरूको प्रत्यक्ष रसास्वादन गराउन यो अभियान सुरु गरेको हो । यसबाट नेपाली कविताको सम्बर्द्धन र प्रवर्द्धन हुने अपेक्षा गरिएको आरोहणको साहित्यतर्फका कार्यक्रम संयोजक धीरज राईले बताए ।

प्रकाशित : फाल्गुन १७, २०७६ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×