१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सीमा क्षेत्रका योजनामा भारतीय अवरोध

कान्तिपुर संवाददाता

मोरङ — नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण टोलीले नापी नगरेकाले इलामलगायत सीमावर्ती क्षेत्रमा भौतिक निर्माणका योजना कार्यान्वयनमा अवरोध भइरहेको भन्दै प्रदेशसभामा आवाज उठेको छ ।

बुधबार बसेको प्रदेश १ को प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपाकी सांसद खिनुलङबा लिम्बुले नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण टोलीले सीमाको नापी नगरेकाले विकास निर्माणका आयोजना कार्यान्वयनमा समस्या भएको बताइन् । ‘सर्भे टिमले तराईको क्षेत्रमा झापासम्म सीमाको नापी गरेको तर इलामलगायत पहाडी जिल्लाका सीमा क्षेत्रमा भने नापी गरेको छैन,’ उनले भनिन् । पूर्वाधार निर्माणको काममा समस्या भइरहेकाले तत्काल सीमानाको नापीका लागि लिम्बूले सरकारको ध्यानाकर्षण गराइन् ।


इलामको सीमावर्ती सन्दकपुर क्षेत्रमा नेपालले एकलौटी संरचना बनाएको भन्दै असोज दोस्रो हप्ता भारतीय सीमा सुरक्षा बलले अवरोध गरेका थिए । समस्या तत्काल नसुल्झाए नेपालतर्फ सीमावर्ती क्षेत्रमा यसअघि निर्माण थालिएका र चालु आर्थिक वर्षमा निर्माण हुने पर्यटकीय पूर्वाधारका योजना कार्यान्वयनमा समस्या हुने उनको भनाइ छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गतछुट्याएको रकमबाट सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडामा करिब एक करोड लागतमा पूर्वाधार निर्माण थालिएको थियो । यहाँ भ्यु–प्वाइन्टसहित एक सय मिटर पैदल मार्ग, प्रवेशद्वारलगायत निर्माणका काम सीमानाको नापी नहुँदा रोकिएको लिम्बूले सुनाइन् ।


नेपालतर्फ आहालटारमा निर्माण गर्न लागिएको आवास गृहमा पनि अवरोध छ । तीन करोड लागतमा बन्ने आवास गृहका लागि टेन्डरसमेत भएको अवस्थामा भारतीय पक्षले सीमा यकिन नभएसम्म पूर्वाधार बनाउन दिएका छैनन् । ‘पाँचथर सीमा नजिकै इलामकै क्षेत्रमा भवन बन्ने यकिन भए पनि भारतीय भनाइले काम अघि बढाउन व्यवधान भएको छ,’ उनले भनिन्, ‘प्राविधिकले गुगल म्याप देखाएर भवन बनाउन लागिएको क्षेत्रमा समेत भारतीय पक्षले अवरोध गर्दै आएका छन् ।’ हिमालय दृश्यावलोकनसहित नेपाल, भारत र भुटानका अनेक स्थान नियाल्न सकिने गरी उक्त क्षेत्रमा भवन निर्माणको योजना छ ।


शेर्पा च्यालेट होटलअगाडि जंगे पिलर रहे पनि त्यसमाथि सहायक र सानो पिलर नहुँदा सीमा यकिन हुन सकेको छैन । यस क्षेत्रमा सीमा क्षेत्रलाई पानीढलोका आधारमा बुझिने गरेको छ तर पछिल्लो समय भारतीय पक्षले गुगल नक्साअनुसार नेपालका धेरै क्षेत्र र बस्ती भारततिर पर्ने दाबी गर्दै आएको छ । वैज्ञानिक सीमांकन नभएसम्म यस क्षेत्रमा पूर्वाधार निर्माणदेखि अन्य गतिविधि गर्न समस्या हुने उनको भनाइ छ ।


सीमा सुरक्षा कार्यालयले गरेको सर्वेक्षणअनुसार कतिपय सीमास्तम्भ हराएका छन् भने कतिपय सुधार गर्नुपर्ने अवस्थाका छन् । इलामको सीमावर्ती क्षेत्रमा ३७ सीमास्तम्भ छैनन् । यो क्षेत्रमा जंगे पिलर १७ वटा हुनुपर्नेमा १६, सहायक पिलर ८३ हुनुपर्नेमा ७२ र सानो पिलर ४६ हुनुपर्नेमा २१ वटामात्र छन् । गत आवमा प्रदेश १ स्थित नेपाल–भारत सीमामा १७९ नयाँ सीमा स्तम्भ बनाइएको थियो । नेपाल–भारत संयुक्त सीमा क्षेत्र सर्वेक्षण टोलीको दोस्रो बैठकमा ३६ वटा स्तम्भ मर्मत गरिएको जानकारी गराइएको थियो । टोलीले सुनसरी, मोरङ र झापास्थित सीमामा निर्माण गर्नुपर्ने स्तम्भमध्ये केही यसअघि नै निर्माण भइसकेका र बाँकी रहेका स्थानमध्ये केही जमिनमा र नदीमा निर्माण गरेको जनाएको थियो । ठूला नदीबाहेक विजोर नम्बरका स्तम्भ नेपाल पक्षले र जोर नम्बरका स्तम्भ भारत पक्षले निर्माण गर्ने व्यवस्था छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?