१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जेनतेन चल्दै सामुदायिक

कक्षा तीनसम्म पढाइ हुने विद्यालयमा जम्मा चार विद्यार्थी   
पढाउन कार्यालय सहयोगीको भर 
कुम्भराज राई

(ओखलढुंगा) — सानोजुरे आधारभूत विद्यालय मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्छ । कक्षा ३ सम्म पढाइ हुने यहाँ जम्मा चार विद्यार्थी छन् । सोमबार साढे १० बजे विद्यालय पुग्दा कार्यालय सहयोगी सुशीला राई भर्खरै कार्यालय खोल्दै थिइन् । विद्यार्थी आइसकेका थिएनन् ।

जेनतेन चल्दै सामुदायिक

‘खै त विद्यार्थी ?’ भन्ने प्रश्नमा सुशीलाले ‘आउँदै छन्’ भन्ने जवाफ दिइन् । नभन्दै दुई छात्रा आइपुगे । तीमध्ये एक सुशीलाकै छोरी थिइन् । बाहिरै राखेर सुशीलाले उनीहरूलाई पढाइन् । विद्यालयका शिक्षक ठण्डसिं राई कार्यालयको कामले गाउँपालिका गएकाले सुशीला आफैंले पढाइन् । ‘सर नहुँदा मैले नै पढाउने गर्छु ।’ सुशीलाले भनिन्, ‘सर हुँदा पनि सरले अंग्रेजी, गणितजस्ता विषय पढाउनुहुन्छ । मैले नेपाली र सामाजिक पढाउने गर्छु ।’ एक शिक्षक र एक कार्यालय सहयोगी भएको यस विद्यालय यसरी नै चल्दै आएको छ ।


मोलुङ गाउँपालिका–२ स्थित प्रभु आधारभूत विद्यालयको अवस्था पनि त्यस्तै छ । भर्ना संख्या ११ छ । तर औसतमा चार जना विद्यार्थी हाजिर हुन्छन् । एक शिक्षक र बाल विकासका एक शिक्षिकालाई गरी भागमा दुई जना विद्यार्थी पर्छन् । थोरै विद्यार्थी भएपछि पढाउने शिक्षक सक्रिय हुन नसकिने प्रधानाध्यापक कुलबहादुर बानियाँले बताए ।


‘पहिले यही विद्यालयमा ७० भन्दा बढी विद्यार्थी हुँदा बहुकक्षा विधिबाट भ्याइनभ्याई पढाको हो,’ उनले भने, ‘अहिले दुई जनालाई पढाएर बस्दा खासै जाँगर पनि चल्दैन ।’ गाउँका अधिकांश बालबालिकाहरू निजी विद्यालयमा जाने चलनले विद्यालय रित्तिएको उनले बताए । सानोजुरे र प्रभु आधारभूत, दुवै विद्यालय २०६९ सालमा घटुवा भएका हुन् । त्यसअघि कक्षा ५ सम्म पढाइ हुन्थ्यो । तत्कालीन जिल्ला शिक्षा कार्यालयले कतिपय विद्यालयलाई विद्यार्थी संख्या कम भएकै कारण विद्यालय मिलान र घटुवा गरेको थियो ।जिल्लामा तीन सय ३१ वटा सामुदायिक विद्यालयहरू छन् । त्यसमध्ये ५४ वटा विद्यालयमा २० भन्दा कम विद्यार्थी संख्या छन् । भर्ना संख्या धेरै देखिए पनि एकजना, दुईजना विद्यार्थीको भरमा चलेका विद्यालयको संख्या एक दर्जनभन्दा बढी छन् । घरधुरी र बालबालिका संख्या हेर्ने हो भने विद्यालय आवश्यक देखिन्छ । तर अभिभावकको आकर्षण भने निजी विद्यालयमा मात्र देखिन्छ । त्यसैको कारण सामुदायिक विद्यालयहरू रित्तिने अवस्थामा पुगेका हुन् ।


पूर्वाधार र जनशक्तिको हिसाबले संस्थागतको तुलनामा सामुदायिक विद्यालय राम्रो भए पनि अभिभावकलाई विश्वास दिलाउन नसकेको शिक्षा समन्वय इकाईका प्रमुख भीमप्रसाद मिश्रले बताए । ‘पहिलेभन्दा बालबालिकाको संख्या जन्मदरकै आधारले पनि घटेको छ ।’ प्रमुख मिश्रले भने, ‘अनि मुख्य कारण सामुदायिक विद्यालयका शिक्षकहरूले अभिभावकलाई विश्वास दिलाउन सकेनन् ।


आफ्नै शिक्षण सिकाइको विश्वास नभएपछि कसरी अभिभावकलाई विश्वास दिलाउन सकिन्छ त ? यहाँ सरासर शिक्षकको कमजोरी देखिन्छ ।’


अंग्रेजी भाषाको मोहको भ्रमले अभिभावकहरू पनि निजी विद्यालयमा आकर्षित भएको उनले बताए । केही विद्यालयले अंग्रेजी माध्यमबाट पढाइसहित शिक्षाको गुणस्तर सुधार गर्दा थोरै संख्यामा विद्यार्थी बढेको उदाहरण छन् । तर अधिकांश सामुदायिक विद्यालयको अवस्था नाजुक छ ।


जिल्लामा २ सय ५९ वटा आधारभूत तहका विद्यालय छन् । त्यसमध्ये कक्षा १ देखि ५ सम्म पढाइ हुने २ सय ९ विद्यालय छन् । ८ कक्षा सम्म पढाइ हुने ५० वटा विद्यालय छन् । माध्यमिक तहमा कक्षा १० सम्म पढाई हुने ४७ वटा र कक्षा १२ सम्म पढाइ हुने २५ वटा विद्यालय छन् । ती विद्यालयमा दरबन्दीका स्थायी शिक्षकहरू १ हजार ९९ सय छन् भने राहत र निजी स्रोतमा ४ सय २७ शिक्षक कार्यरत छन् ।


बालकक्षादेखि कक्षा १२ सम्म जिल्लामा हाल ३४ हजार ९ सय १७ छात्रछात्रा अध्ययनरत रहेको शिक्षा समन्वय इकाईको अभिलेखमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?