कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

झुक्याउला दलालले !

सुम्निमा चाम्लिङ

(इटहरी) — भोजपुरकी सपना कार्की (नाम परिवर्तन) वैदेशिक रोजगारीको क्रममा तीन वर्षअघि बेचिन पुगेकी थिइन् । निम्न आर्थिक अवस्था भएकाले कक्षा ८ को पढाइ छाडेर घरेलु कामदारका रूपमा धरान झर्न पर्‍यो ।

थोरै तलब, घरमा दुईचार पैसा पठाउन नपुग्ने । त्यसैले घरको काम छाडेर रेडिमेड कपडा पसलमा काम सुरु गरिन् । मासिक ५ हजार तलब कोठा भाडा र खानामा ठिक्क ।


दुखका साथ परिवार चलेको थियो । कमाउने जिम्मेवारी उनकै काँधमा थियो । एक दिन छिमेकी दिदीले उनलाई विदेशको मोहमा फसाइन् । उनले घरेलु कामदारका लागि साउदी अबर जाने निधो गरिन् । आमाबुवाले ऋण खोजेर पठाएको ७५ हजार रुपैयाँ एजेन्टलाई दिइन् ।


भारत तथा अन्य तेस्रो मुलुकको बाटो भएर वैदेशिक रोजगारीमा जान मिल्दैन । यसबारे सामान्य जानकारीसमेत नभएकाले उनलाई दलालले झुक्याउन सफल भए ।


एक साताभित्र साउदी पुर्‍याउने आश्वसन दिएका दलालले बम्बई र दिल्लीमा पाँच महिनासम्म बन्धक बनाए । उनीसहित अन्य नेपाली र भारतीय महिलालाई तेस्रो मुलुकका लागि बेचिएको थियो । ‘आफू बेचिएको थाहा पाउँदा कस्तो भयो, म बताउन सक्दिनँ,’ उनले भनिन्, ‘दुर्व्यवहार सहन परेन तर बन्धक हुनुको पीडा नमिठो हुन्छ ।’


परिवारबाट सम्पर्कविहीन हुनुपर्दा उनलाई बाँच्ने इच्छा हराएको रहेछ । यस्तै अवस्थामा बन्धकमा रहेका उनी र अन्य दुई जनाले भाग्ने योजना बनाए ।


धेरै दिनको प्रयासपछि राति १२ बजे शौचालय जाने बहानामा जोखिम मोलेर एकतले भवनबाट हामफालेर भाग्न सफल भएका थिए ।


बन्धकमा परेका दिदीको छोरा यतै बस्ने भएकाले उनीहरूलाई सजिलो भयो । दिल्लीमा रहेका नेपालीहरूले पैसा संकलन गरेर उनीहरूलाई नेपाल फर्काउने वातावरण तयार गरिदिएका थिए ।


अचेल उनले बराहक्षेत्रमा चटपटे पसल खोलेकी छन् । त्यति मात्र होइन, विदेश जाने बहानामा आफूजस्तै ठगिन नपरोस् भनेर अरू महिलालाई सजिलो अप्ठ्यारो अनि आफूले भोगेको कुरा बताउने गरेकी छन् ।


सुरक्षित आप्रवासन परियोजना सुनसरीका संयोजक श्रवण राजधामीले खुल्ला सीमाको कारण मानव तस्करी मौलाउँदै गएकाले उनीजस्ता महिलाले निकै दुःख पाउने गरेको बताए ।

‘वैदेशिक रोजगारीमा जान परे श्रम स्वीकृति लिएरमात्र जानुपर्छ’, उनले भने, ‘यसबारे जानकारी नहुँदा धेरैले दुःख पाउँदै आएका छन् ।’

प्रकाशित : फाल्गुन १३, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?