कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

धितो राखेर ऋण लिँदा ‘सुकुम्बासी’

छिमेक र आफन्तलाई विश्वास गरेर घरजग्गा सुम्पिएका चार दर्जनभन्दा बढी परिवारको बिजोग
विनोद भण्डारी

(विराटनगर) — छिमेकी र आफन्तलाई थोरै समयका लागि जायजेथा धितो पास गरिदिएर ऋण लिएकाहरू अहिले आफ्नो त्यही गल्तीमा पछुताउँदै छन् । उनीहरूले  ऋण तिर्दासमेत आफ्नो जायजेथा फिर्ता पाएका छैनन् । बेलबारी नगरपालिकामा मात्र यस्ता चार दर्जन  परिवार अहिले ‘सुकुम्बासी’ बन्न पुगेका छन्  । 

धितो राखेर ऋण लिँदा ‘सुकुम्बासी’

यसको पछिल्लो पात्र हुन् वडा ४ का हिरालाल विश्वकर्मा । उनलाई घरायसी कामका लागि तीन लाख रुपैयाँ आवश्यक पर्‍यो । गाउँ समाजमा मौलाउदै गएको जग्गा धितो पास गरेर ऋण लिने जुक्ति अपनाए । त्यसैअनुरूप उनले आफनै नाममा रहेको २ कठा १० धुर जग्गासहित घर पशुपति राईलाई तीन वर्षमा ११ प्रतिशत ब्याजसहित रकम फिर्ता गर्ने सर्तमा आफनो नामको जमिन राईको नाममा धितो पास गरेर तीन लाख रुपैयाँ लिए ।


विश्वकर्माले २०७२ माघ १० मा राईसँग ३ लाख रुपैया लिएर २०७५ माघ १० गते फिर्ता गर्ने सर्त थियो । त्यसको चाजोपाजो मिलाउन सहयोग गर्ने महेन्द्र राई र अब्दुल राईलाई विश्वकर्माले ३० हजार रुपैयाँ कमिसन पनि दिएका थिए ।


तीन वर्षपछि आफुले लिएको रकमको व्याज सहित फिर्ता गरेर जमिन र घर फिर्ता लिन विश्वकर्मा पशुपतिको घरमा पुगे तर उनले आजभोली भन्दै विश्वकर्मालाई झुलाए । दुई बर्षपछि धरान स्थित प्राइम बैकको शाखा कार्यालयले घर जग्गा लिलामी भएको र घरबाट हट्न भन्दै पत्र पठाएपछि हिरालालको परिवार छाँगाबाट झरे झै भयो । पशुपतिले विश्वकर्माको जमिन र घर उक्त बैंकमा राखेर १५ लाख रुपैयाँ निकालेर साँवा र व्याज नतिर्दा बैंकले लिलाम गरेको रहेछ ।


बेलवारीकै अप्सरा गुरुङले बजारमा रहेको आफ्नो एक कठ्ठा जमिन र घर यति डेभलपमेन्ट बैकमा धितो राखेर ५५ लाख रुपैयाँ ऋण निकाले पथरीका प्रकाश गिरीलाई बैंकको किस्ता तिर्ने सर्तमा २८ लख रुपैया दिएर बाँकी २७ लाख रुपैयाँ आफैले चलाइन । आफुले चलाएको २७ लाख र त्यसको ब्याज उनले बैंकमा जम्मा गरिन तर गिरी चलाएको २८ लााख, ब्याज र किस्ता नतिर्दा अहिले बैंकले घर खाली गर्न पत्र पठाएपछि गुरुङ बिचल्लीमा परेकी छन् ।


बेलवारीकै सन्तमाया लिम्बुले आफनो जमिन र घर तिन महिनामा फिर्ता गर्ने सर्तमा केरावारीका तिलक राईसँग धितो राखेर दुईलाख रुपैयाँ ऋण निकालेर बेलबारी २ का आफन्त धनबहादुर लिम्बुलाई ऋण दिइन । तर धनबहादुरले उक्त रकम सन्तमायालाई फिर्ता नगर्दा उनी अहिले सुकुम्बासीझै भएकी छन् । सन्तमायाको जमिन चार वर्षदेखि तिलकले उपभोग गर्दै आएका छन । बेलबारीका हिरालाल, सन्तमाया र अप्सरा मात्र हैन । उनीहरू जस्तै चार दर्जन परिवार यो पीडा भोग्दै वेलवारी नगरपालिकाको न्यायिक समितिसमक्ष गुहार माग्न पुगेका छन् ।


न्यायिक समितिमा १० वटा त्यस्ता मुद्दा दर्ता भएका छन । आर्थिक लेनदेनका उजुरी न्यायिक समितिले हेर्न नमिल्ने भए पनि उजुरी दर्ता नगरी व्यावहारिक रुपमा मिलाउने प्रयास भइरहेको न्यायिक समिति संयोजक ढाकाकुमारी पराजुलीको भनाइ छ ।


पछिल्लो समय धितो पास गरेर ऋण लिने र त्यही धितो एकवाट दोस्रो र दोस्रोवाट तेस्रोसम्म धितो राखेर ऋण निकालेर पहिलो पक्षलाई धितो फिर्ता नगर्दा वेलवारीमा मात्र दर्जनौ परिवार सुकुम्वासी भएका छन । ‘केही परिवारको समस्या समाधान पनि भएका छन्, ‘पराजुलीले भनिन्, ‘यो प्रवृत्तिमा ठूलो गिरोह सक्रिय भएको पाइएको छ ।’


त्यो गिरोहका कारण नगर क्षेत्रका दर्जनौ परिवार सुकुम्बासी बनेको उनले बताइन् । पराजुलीका अनुसार पहिलो पक्षले राखेको धितो दोस्रो हुँदै सातौं व्याक्तिले धितो राखेर ऋण निकालेर भाग्ने र पहिलो पक्षलाई धितो फिर्ता नगर्दा सयौ परिवार सडकमा पुगेको पाइएको पराजुलीले बताइन् ।


मालपोत कार्यालय बेलबारीमा दैनिक सरदर तीनचार व्यक्तिबीचमा जग्गाको धितो पास हुने गरेको पाइएको छ । व्यक्ति व्यक्तिबीच धितो पास गर्दा पनि किनबेचको लिखत पेस गरेर राजीनामा पास नै गराउने गरिएको छ । एक शाखा अधिकृतका अनुसार ऋण प्रयोजनका लागि त्यसरी धितो राजीनामा पास गराउँदा उल्लेख गरिएको ऋणको एक प्रतिशत सेवा शुल्क तिरे पुग्छ । एउटै धितो एक–एक दिनको फरकमा अर्काका नाममा जतिपटक पनि पास गर्न पाउने प्रावधान रहेकाले यस्तो विकृति फैलिएको उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?