२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पुराना राजनीतिज्ञको सरल जीवनशैली

लगातार ६ वर्ष शिक्षा राज्यमन्त्री रहेका घिमिरे विराटनगरकै चर्चित एलिट क्लबका संस्थापक हुन्
जितेन्द्र साह

विराटनगर — विराटनगर महानगरपालिका–२ स्थित शिक्षामार्गको दुवैतिर अग्ला एवं आकर्षक प्रवेश ढोका भएका भव्य आवास क्षेत्र छ । तर यो मार्गको दायाँपट्टिको अन्तिमतिर एक तले पुरानो घरले विराटनगरको बौद्धिक जमातलाई आकर्षित गर्छ । २०१४ मा बनेको यो होचो घरमा विराटनगरको सामाजिक, शैक्षिक एवं राजनीतिक इतिहासका साक्षी र ८९ वर्षीय राधाप्रसाद घिमिरे बस्छन् ।

पुराना राजनीतिज्ञको सरल जीवनशैली

उनी पूर्वमन्त्री एवं २०१५ मा स्थापित विराटनगरको चर्चित एलिट क्लबका संस्थापक सदस्य हुन् । कसैले घरको ठेगाना सोधे उनी भन्छन्, ‘शिक्षामार्गको सबैभन्दा फुच्चे घर मेरै हो । बीपी कोइराला जेलमुक्त भएर विराटनगर आउँदा पहिलो मञ्च उनी सक्रिय रहेको एलिट क्लबले प्रदान गरेको थियो । २०३६ को जनमत संग्रहमा बहुदलीय पक्षघरको पराजयपछि पनि बीपी र मनमोहनले क्लबकै मञ्च प्रयोग गरेका थिए । नेताद्वयलाई मञ्च प्रदान गरेको आरोपमा यो क्लब पञ्चायती व्यवस्थाको कोपभाजनमा पर्‍यो ।


‘छ दशकअघि स्थापित क्लबले प्रजातान्त्रिक आन्दोलनको सुरुवाती चरणदेखि अहिलेसम्म महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ,’ उनी भन्छन्, ‘सबै दलका अग्रज प्रजातान्त्रिक सेनानीहरूलाई मञ्च दियौं ।’ यही क्लबले २०२४/२५ तिर विराटनगरको आदर्श विद्यालयको मैदानमा बीपीसँग साक्षात्कार कार्यक्रमको आयोजना गरेको थियो । ‘बीपीले त्यति बेला आफू अहिले ५५ वर्षको भएको र १५ वर्ष बाँचेमा नेपालको मुहार फेर्ने अभिलाषा छ भन्ने दिएको अभिव्यक्ति अहिले पनि मेरो संझनामा ताजै छ,’

घिमिरे भन्छन् ।


अर्को दिन निवासमा भेट हुँदा वीपीले भनेका थिए, ‘प्रधानमन्त्री भएँ भने भारतलाई मेरो पछिपछि हिंडाउँछु ।’ घिमिरे यहींबाट बीपीका प्रशंसक भए । ‘सानो मुलुकको नेता भए पनि वीपीमा अदभुत क्षमता र साहस थियो,’उनी भन्छन्, ‘राजनीतिक स्थिरता तथा विकासका लागि आफ्नो मौलिक आधार मजबुत नबनाएसम्म फड्को मार्न कठिन हुन्छ भन्ने बीपीको सोचाइ ठीक थियो ।’

यो सबबीच मुलुकमा उथलपुथल जारी थियो । घिमिरेको क्याम्पस पढ्दाका सहपाठी एवं पञ्चायती व्यवस्थाका पक्षधर कीर्तिनिधि विष्ट प्रधानमन्त्री भए । सहयात्री शैलेन्द्र उपाध्याय सहायक मन्त्री भए भने शत्रुघ्नप्रसाद सिंह संयुक्त राष्ट्रसंघमा पुगे ।


भारतको बढ्दो दबदबाबीच मुलुकको स्वाभिमानलाई प्रधानता दिनुपर्छ भन्ने निष्कर्षमा घिमिरे पनि पुगेका थिए । परिस्थितिले पञ्चायत व्यवस्थासँग घिमिरेको सामीप्य बढेर गयो । राजा महेन्द्रले पूर्वपश्चिम र कोदारी राजमार्ग खोल्ने योजना ल्याएपछि नेपालीहरूमा आत्मसम्मान एवं राष्ट्रियताको भावनाले ठोस स्वरूप ग्रहण गरिरहेको थियो ।


यही वातावरणमा पञ्चायती व्यवस्थाले राष्ट्रवादी पक्षहरूसँग सहकार्यको ढोका खोलेको थियो । राजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग निर्माणको घोषणा गरेपछि विभिन्न मित्रराष्ट्रहरूले सहयोगका हात बढाए । धेरै पुलहरू बनाउनु पर्ने खर्चिलो र चुनौतीपूर्ण काम मानिएको काँकडभिट्टादेखि ढल्केबरसम्मको बाटो बनाउने जिम्मा चिनले लिएको थियो । त्यतिबेला भारत अहिलेको जस्तो आर्थिक रूपले मजबुत थिएन । तर चिनियाँ उपस्थितिबाट तर्सेर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग जुटाएर छिमेकी मुलुकको बाटो बनाउन भारत बाध्य भएको थियो । राजाले चतुर्‍याइँपूर्ण कूटनीति लगाएर राष्ट्रिय फाइदा लिएका थिए । अमेरिकी लेखक जर्जलियो रोजले स्ट्रगल फर सर्भाइवलमा यो सन्दर्भको वर्णन गरेका छन् । भारतीय हस्तक्षेप झेल्दै आएको नेपालले त्यतिखेर राष्ट्रियता र हितका लागि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । राजाको कदमबाट प्रभावित भएका घिमिरे पनि योग्यता अनुरूपको पदमा पुगेर देश सेवा गर्न चाहन्थे । अहिलेझैं त्यो बेलामा अघि बढ्नलाई माथिको आशीर्वाद नभइ हुँदैनथ्यो । योग्य हुँदाहुँदै पनि प्रभावकारी ढंगले देश सेवाका लागि जिम्मेबार पदमा पुग्न घिमिरेका लागि कठिन थियो ।


‘सहपाठी मित्र एव प्रधानमन्त्री विष्टलाई इच्छा बताएँ, राजासमक्ष कुरा पुगेछ,’घिमिरे भन्छन्, ‘राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भएँ, मन्त्री बनेँ ।’ २०२९ देखि २०३५ सम्म शिक्षा राज्यमन्त्रीको दायित्व निर्वाह गरेका थिए । सरल जीवनशैली बिताइरहेका यिनी युवा पुस्ताका राजनीतीकर्मीका लागि उदाहरणीय हुन् । उमेरजतिको बुढ्यौली नदेखिएका घिमिरेको दिनचर्या स्थानीय एवं राष्ट्रिय पत्रपत्रिकाको अध्ययन र विश्लेषणमा बित्छ ।


पहिलो नियमित प्रातः भ्रमण गर्ने र पत्रपत्रिकाहरू बिहानै ल्याएर पढ्ने गर्थे । अचेल उनी टाढासम्म हिंडड्लु गर्न सक्दैनन् । त्यसैले पुस्तक र पत्रिका किनेर ल्याइदिने जिम्मेवारी उनको कान्छी बुहारी ५० वर्षीया दुर्गा घिमिरेले लिएकी छन् । यतिका वर्ष मन्त्री हुँदासमेत धनसम्पति नजोडी सामान्य जीवन बिताइरहेका ससुराबुबाको हेरचाह उनैले गर्छिन् ।


‘पञ्चायती व्यवस्थामा मन्त्री भएका हुनाले उहाँलाई भेट्न आउने जो कोही पनि वरपरिका छिमेकीहरूका ठूला घरकै ढोका ढकढकाउँछन्,’ दुर्गा भन्छिन्, ‘छिमेकीहरूले त्यो सानो ढोका भएको सानो घर मन्त्रीको हो भनेपछि आगन्तुकहरू छक्क पर्छन् ।’

सम्मान र स्वाभिमान गुमाउँदै परिवार एवं आफन्तकै बेइज्जती हुने गरी धन जोड्नुभन्दा सामान्य जीवन नै उत्तम भएको उनी बताउँछिन् । अध्ययन, लेखन र समाजसेवामा रुचिले पनि बुबालाई अरू नेताभन्दा फरक बनाएको उनको बुझाइ छ ।


पढ्न पाएपछि ससुराले भोकतिर्खा समेत बिर्सने गरेको उनी बताउँछिन् । ‘पञ्चायती शासनकालमा पनि धन थुर्पानलाई नभएर राष्ट्रिय स्वाभिमानका लागि काम गर्न मन्त्री भएको थिएँ,’ घिमिरे भन्छन्, ‘अहिले जीवनको सन्ध्याकालमा छु तर धन नथुपारेकोमा कहिल्यै पछुतो भएन ।’


उबेला र अहिलेको विराटनगरको स्वरूप निकै फेरिएको उनको अनुभव छ । ‘शिक्षा एवं अवसरको खोजीमा ७७ वर्षअघि विराटनगर आउँदा सानो गाउँ जस्तो थियो, टिन र काठका घरहरू मात्र थिए,’उनी भन्छन्, ‘एक फन्को घुमेर सकिने सानो बजार थियो, अधिकांश भागमा खेत, जंगल, चौर र पोखरी थियो, अहिले भवन र मल खडा भएका छन् ।’ त्यो बेला एक मात्र दन्तकाली मोटर सेवामा दिनभर लगाएर विराटनगरबाट धरानसम्म यात्रा गर्नुपर्थ्यो । पाँचथरको लिम्बामा जन्मेका घिमिरेले पढ्नलाई विराटनगर झरेर २००२ मा आदर्श विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यो बेला देशभरिबाट १ सय ४७ जना उत्तीर्ण भएका थिए ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?