कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्योगसम्बन्धी सबै सेवा एकै ठाउँबाट

देवनारायण साह

(मोरङ) — प्रदेश सरकारले उद्योगसम्बन्धी सबै सेवा एकै ठाउँबाट दिने व्यवस्था गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको प्रदेश औद्योगिक व्यवसायसम्बन्धी विधेयकमा उक्त व्यवस्था गरिएको हो ।

प्रदेशमा लगानी हुने पूँजी र प्रविधिको समुचित सदुपयोग गर्न, लगानीमैत्री वातावरणको सृजना गर्दै उत्पादकत्व र रोजगारीको अवसर अभिवृद्धि गर्न, स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी उद्यमशीलता तथा लगानी प्रबर्द्धन मार्फत बेरोजगारी न्यूनकीकरण गर्न तथा दिगो औद्योगिक विकासको माध्यमबाट उत्पादनशील, प्रतिस्पर्धी र दिगो अर्थतन्त्र निर्माण गर्न तथा प्रदेश भित्रका सबै उद्योगको संरक्षण, संबर्द्धन, नियमन तथा अनुगमन गर्ने उद्देश्यले यो विधयेक ल्याइएको उल्लेख छ ।


‘उद्योग स्थापनाको अनुमति, दर्त्ता, नवीकरण, विस्तार, खारेजी, प्रोत्साहन, छुट, सुबिधालगायतका सबै सेवा प्रदान गर्न प्रदेश सरकारले एकल बिन्दु सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन सक्नेछ,’ विधयेकमा उल्लेख छ, ‘एकल बिन्दु सेवा केन्द्रमा निकायगत प्रतिनिधित्वका लागि सम्बन्धित निकायले आवश्यक संख्यामा कर्मचारी खटाउनु पर्नेछ र त्यसरी खटिएका कर्मचारीलाई प्रचलित कानुनको अधिनमा रही आवश्यक कार्य गर्न अधिकारसमेत प्रत्यायोजन गर्नुपर्ने छ ।’


यस प्रदेशभित्र कसैले दर्त्ता नगराई उद्योग सञ्चालन गरेमा तत्काल बन्द गर्न लगाई जरिबाना गर्न सक्ने विधेयकमा व्यवस्था छ । ‘विधेयकमा उद्योगलाई ६ वर्गमा बर्गीकरण गरिएको छ,’ विधयेकमा भनिएको छ, ‘लघु, घरेलु, साना, मध्यम, ठूला र बृहत् उद्योगमा वर्गीकरण गरिएको हो ।’ अधिकृत पूँजी २० लाख भएको र उद्यमीसहित बढीमा ९ जना कामदारका साथै वार्षिक १ करोड कारोबार गर्नेलाई लघु उद्योग भनिएको छ ।


परम्परागत सीप र प्रविधिमा आधारित श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित घरेलु उद्योगको अधिकृत पूँजी तोकिए बमोजिक हुने विधयेकमा उल्लेख छ । यस्तै, १५ करोड स्थिर पुँजीलाई साना उद्योग, ५० करोड पूँजी भएकालाई मध्यम, ५ अर्ब रुपैयाँसम्म पुँजी भएकोलाई ठूला र ५ अर्बभन्दा बढी स्थिर पुँजी भएकालाई बृहत उद्योग भनिएको छ । ‘वातावरणीय अध्ययन गर्नुपर्ने खालका तोकिए बमोजिमका उद्योगको हकमा वातावरणीय अध्ययन प्रतिवेदन तोकिएको निकायबाट स्विकृत नगराई उद्योग दर्त्ताको प्रमाण पत्र दिइने छैन,’ विधयेकमा भनिएको छ, ‘उद्योग दर्त्ता प्रमाण पत्रमा उल्लेख भएको अवधिभित्र उद्योग सञ्चालन वा आफनो व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नुपर्नेछ र त्यसको जानकारी दुई महिनाभित्र उद्योग दर्त्ता गरेको निकायमा दिनुपर्नेछ ।’ उद्योग दर्ता गर्ने निकायले समय समयमा उद्योगको अनुगमन निरीक्षण गर्ने विधयेकमा व्यवस्था छ ।


प्रत्येक उद्योगले व्यावसायिक उत्पादन र कारोबारको बिबरण प्रत्येक आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र उद्योग दर्त्ता गर्ने निकाय समक्ष बुझाउनु पर्ने विधयेकमा व्यवस्था छ । ‘प्रदेशमा उद्योग विकास र औद्योगिकीकरणका लागि आवश्यक सहजीकरण, सुपरीवेक्षण, समीक्षा तथा नीतिगत पृष्ठपोषण, औद्योगिक सुशासनका लागि प्रदेशको उद्योग हेर्ने मन्त्री वा राज्यमन्त्रीको नेतृत्वमा औद्योगिक विकास तथा प्रबर्द्धन बोर्ड गठन हुनेछ,’ विधयेकमा भनिएको छ, ‘जिल्लास्तरमा लगानी प्रवर्द्धन तथा उद्योग स्थापनालाई प्रश्रय दिन जिल्ला समन्वय समिति प्रमुखको नेतृत्वमा जिल्ला उद्योग प्रबर्द्धन समन्वय समिति रहनेछ ।’


बोर्ड र समितिका पदाधिकारीले बैठक भत्ता पाउने विधेयकमा व्यवस्था छ ।प्रदेशमा स्थापना भई सञ्चालनमा रहेका उद्योगहरूलाई छुट, सुविधा, सहुलियत प्रदेश सरकारले बार्षिक बजेट, नीति कार्यक्रममा उल्लेख भए बमोजिम हुने विधयेकमा व्यवस्था छ । ‘लघु उद्यम दर्त्ता गर्दा प्रमाण पत्र प्राप्त गरे वापत लाग्ने १ हजारबाहेक कुनै शुल्क वा दस्तुर लाग्नेछैन,’ विधयेकमा उल्लेख छ, ‘महिलाको स्वामित्वमा रहने कुनै पनि उद्योग वा फर्म दर्त्ता गराउँदा लाग्ने शुल्क वा दस्तुरमा ३५ प्रतिशत छुट दिइनेछ ।’ प्रदेश सरकारले महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि महिला उद्यमी कोष स्थापना गरी आवश्यक कार्यविधि स्वीकृत गरी सञ्चालनमा ल्याउने विधयेकमा व्यवस्था छ ।


प्रदेश सरकारले तोके बमोजिमको उद्योग स्थापनाका लागि लगानीकर्त्तालाई जग्गा खरिद गरी उपलब्ध गराउने विधयेकमा व्यवस्था छ । ‘प्रदेश सरकारको प्राथमिकता प्राप्त उद्योग सञ्चालन गर्न प्रदेश सरकारको स्वामित्वमा रहेको जग्गा लगानीकर्त्तालाई लिजमा दिन सक्नेछ,’ विधयेकमा भनिएको छ, ‘उद्योगलाई आवश्यक पर्ने जग्गा हदबन्दीमा तोकिएभन्दा बढी राख्न छुट पाउनेछ ।’ प्रदेशमा स्थापना भएका उद्योगलाई प्रदेश सरकारले औद्योगिक सुरक्षा उपलब्ध गराउने विधेयकमा व्यवस्था छ ।


प्रदेश सरकारले रुग्न उद्योगको पहिचान गरी पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापन गर्न निश्चित अबधिका लागि तोकिए बमोजिमको छुट, सुबिधा वा सहुलियत प्रदान गर्न सक्ने विधयेकमा व्यवस्था छ । ‘रुग्न उद्योगको मापदण्ड बनाई पूर्ण रुग्न, रुग्न र रुग्न उन्मुख उद्योगमा बर्गीकरण गरिनेछ,’ विधेयकमा उल्लेख छ, ‘रुग्न उद्योगका लागि प्रदेश सरकारले विशेषज्ञसहितको समिति गठन गर्न सक्नेछ ।’


विधेयकमा विशेष आर्थिक क्षेत्र, प्रदेश औद्योगिक व्यवसाय मञ्चको व्यवस्था छ । प्रदेशमा औद्योगिक जनशक्तिमा विदेशी नागरिक ल्याउन अधिकतम ५ बर्षका लागि निर्देशनालयको सिफारिसमा मात्रै ल्याउन पाउने विधेयकमा व्यवस्था छ । ‘प्रदेशको लगानी प्रबर्द्धन तथा संरक्षणका लागि प्रदेश सरकारले औद्योगिक लगानी प्रबर्द्धन कोष स्थापना गर्नेछ,’ विधेयकमा भनिएको छ, ‘१५ करोड बढी वार्षिक कारोबार गर्नेउद्यमीले व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्नुपर्नेछ ।’ प्रकाशित : फाल्गुन ११, २०७६ ०८:४७

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालमा थर–गोत्रको राजनीति 

आहुति

नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्योल छ । यसो हुनुको पछाडि मूलतः दुइटा कारणले भूमिका खेलेको देखिन्छ । एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित मंगोल, मस्ट‍ोपूजक खस, वैदिक आर्य, द्रविड र इस्लाम गरी पाँच महासभ्यताको संगम भएको समाज हो ।

यी फरक फरक पाँच महासभ्यतासँग सम्बन्धित दर्जनौं जाति र समुदायका आआफ्नै वंश परम्परा, आआफ्नै पुर्खासम्बन्धी विश्वास र जीवन दृष्टिकोण छन् ।

एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खासम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायलाई ज्ञान हुँदैन वा अत्यन्तै कम हुन्छ । गोत्र, थर, वंश परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तरक्रिया नगरी नहुने स्थिति जनजीवनमा अत्यन्त कम अवस्थामा मात्र आउने भएकाले पनि त्यस्तो अर्को समुदायबारे अनभिज्ञता रहन मद्दत पुग्छ । दुई, लामो समयदेखि पहाडिया कथित हिन्दु उच्च जातीय दृष्टिकोण र मूल्यमान्यता लादिनाले यस्तो भ्रम जन्मिन पुग्यो कि, उनीहरूको मात्रै व्यवस्थित गोत्र, सम्मानित थर र वंश परम्परा हुन्छ ।

राज्यको यस्तो बलात् हस्तक्षेपकारी नीतिका कारण उत्पीडितहरूका त्यस्ता विषयमा भने जानकारी लिन अरूलाई वास्तै नहुने, उनीहरूका थर–गोत्र सुन्दा पनि असभ्य कमसल परिचय लाग्ने मनोविज्ञान बन्न पुग्यो । सँगसँगै उत्पीडितहरूलाई थर लेख्न नदिने, थर नै फेरेर लेख्न बाध्य पार्ने काम निरन्तर हुँदै आए । यस्तो दुश्चक्रबीच जनजाति, दलित, मुस्लिम समुदायकाले पनि आफ्नो गोत्र, थर, वंश परम्परालाई गर्वका साथ भन्न मन नलाग्ने, हीनताबोध हुने वा कम्तीमा आफैंभित्र मात्र चुपचाप अभ्यास गरिरहने दुर्भाग्यपूर्ण परिघटना घट्दै आयो ।

गोत्र के हो ?
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनका अनुसार आदिम समाजमा गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुन्ड हो । त्यसपछिको मानव समाज पितृसत्तात्मक भई सात हजार वर्षभन्दा बढी लामो यात्रा गर्ने क्रममा सयौं जाति र हजारौं उपजातिमा विभक्त भइसकेको छ । त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था आज जस्ताको तस्तै छैन । अर्को कुरा, मानवशास्त्रीहरूले भनेझैं अब कुनै पनि जातिमा रक्तशुद्धता भन्ने बाँकी छैन, छ्यासमिस भइसकेको छ । त्यसैले गोत्र वा थरहरूबारे छलफल अब रक्तशुद्धता वा वंशीय श्रेष्ठताका निम्ति गरिनु हास्यास्पद विषय हुन पुग्छ । गोत्र वा थर बढीमा विवाह गर्दा नजिकको वंशमा खप्टिन नपुगोस् भन्नका लागि मात्र उपयोग भइरहेको छ । भविष्यमा थरहरू केवल व्यक्तिको परिचयमा मात्र सीमित हुने स्थिति स्पष्ट देख्न सकिन्छ । यसर्थ, आज गोत्र र थरहरूको अध्ययन आफ्ना पुरुष पूर्वजको लहरो पहिल्याउनेसम्मको काम मात्र हो । नेपालमा गोत्र र थरजस्ता विषयलाई पनि उत्पीडन निर्माणका कलपुर्जा बनाइएकाले उत्पीडित समुदायहरूले यी विषयका यथार्थलाई पनि सतहमा ल्याएर समता र अधिकारको लडाइँको अंग बनाउनु भने अवश्य पर्छ । कुनै पनि मानव समुदाय अर्कोभन्दा कमसल होइन भनी पुष्टि गर्न यस्ता विषयले पनि गम्भीर महत्त्व राख्छन् ।

हिन्दु समाजको गोत्र परम्परा वास्तवमा कथित हिन्दु उच्च जातीय गोत्र परम्परा हो किनकि त्यसभित्र अरूलाई समावेश गरिन्न । ती गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात् ऋषिहरूका सन्तानहरू नै हिन्दु उच्च जात हुन् भन्ने दाबी त्यसमा पाइन्छ । हिन्दु उच्च जातीय गोत्र वास्तवमा हिन्दु वर्ण व्यवस्थामा आधारित जातीय श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्, मानव समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित गोत्रको निरन्तरता होइन तर नेपालको हिन्दु समाजमा आर्य–खसभित्रका दलितको गोत्र चाहिँ कल्पित मिथकभन्दा बढी वंश परम्पराको ठोस त्यान्द्रोलाई संकेत गर्ने खालका छन् ।

आर्य–खसभित्रका दलितका मूलतः तीन गोत्र छन्– कासी, कोशल वा कौशल्य र कासीकोशल । कासी खस जातिको एउटा शाखाक‍ो प्राचीन नाम हो, जसलाई छागल पनि भनिन्थ्यो । त्यसैगरी कोशल पनि खसभित्रको अर्को जाति छागक‍‍ो नाम हो । गौतम बुद्धकालमा भारतवर्षमा भएका सोह्र महाजनपदमध्ये दुइटा कासी र कोशल थिए भन्ने तथ्यले पनि कासी र कोशल शब्दले प्राचीन पुर्खा नै जनाउँछन् भनी पुष्टि गर्छ । यसरी हेर्दा आर्य–खसभित्रको ‘अछूत’ वा पुहुनी गोत्रले बढी वंश परम्पराको त्यान्द्रो समातेको देखिन्छ । यी गोत्र ब्राह्मणमा नहुनु र खसबाट हिन्दु बनाइएका केही क्षत्रीमा चाहिँ पाइनुले पनि यी गोत्र खस वंश परम्परालाई संकेत गर्ने स्तरका हुन् । त्यसैगरी आर्य–खसभित्रका दलितको प्रवर हुँदैन जुन ऋषिकै नाम हो, बरु शाखा हुन्छ– ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि । गोत्रसँगै आर्य–खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूका विभिन्न यात्री झुन्डलाई संकेत गर्ने परिचय बुझिन्छ, जुन वैदिक गोत्र प्रणालीमा पाइन्न ।

थर के हो ?
थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहराका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्छन् । नेपालका हिन्दुहरूमा सामान्यतः कुलको अर्थ बोकेका एउटै थरका बीच विवाह हुँदैन । नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ । हिमाली जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर नामसँगै थर भन्ने अरूसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन् ।

जनजाति र मुस्लिम समुदायमा पनि थरले महत्त्वपूर्ण स्थान ओगटेकै छ । त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरकफरक हुन्छ भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ । थरहरू विभिन्न विषयसम्बद्ध हुन्छन् । उद्गमस्थानसँग सम्बन्धित, जस्तै– दुल्लुबाट हिँडेका दुलाल । पेसासँग सम्बन्धित, जस्तै— प्रशासनको काम गर्ने कार्की । पदसँग सम्बन्धित, जस्तै– अमात्य, राय, सुब्बा । पदवीसँग सम्बन्धित, जस्तै– आचार्य, लामा । सामाजिक हैसियतको संक्रमणकालसँग सम्बन्धित, जस्तै– बिटुला । राष्ट्रियतासँग सम्बन्धित, जस्तै– भारती, नेपाली । आस्था, मान्यतासँग सम्बन्धित, जस्तै– शिवभक्ति, खेवा । ऐतिहासिक घटना वा कुलसँग सम्बन्धित–जस्तै– वर्मशाखा ।

थर–गोत्रबारे सबैभन्दा बढी भ्रम दलितका सम्बन्धमा रहिआएको देखिन्छ । नेपालका आर्य–खस, मधेसी र नेवारभित्रका दलितहरूको थर निर्माणको प्रक्रिया र विद्यमान थरहरू पनि अन्य सबै जाति समुदायका जस्तै नै हुन् । यी तिनै जाति/समुदायभित्रका दलितका थुप्रै थर र ती जाति समुदायभित्रका गैरदलितको थुप्रै थर मिल्छन् मात्रै होइन, बरु एउटै हुन् । त्यसै गरी प्रत्येक जाति/जात/समुदायमा मात्र पाइने थर भए जस्तै दलितभित्रका विभिन्न जातमा मात्र पाइने थर पनि छन् । दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन कारण छन् । एक, उद्गमस्थल एउटै भएकाले । जस्तै– पौडी क्षेत्रबाट हिँडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल । दुई, पदवीसँग मिल्न गएकाले । जस्तै– मण्डल, मिझारजस्ता पद दलित, जनजाति र मधेसका वैश्यअन्तर्गतका कतिपय जातको मुखियालाई दिइन्थ्यो । त्यही पदवी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थरचाहिँ कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो ।

नेपालमा दलितहरूमाथि कैयौं पटक लाग्ने गरेको आरोप हो– उनीहरूले जात ढाँटे । यो आरोप सही छ त ? एक, जात नचिनेका ठाउँमा केही समय लुकाउन सकिन्छ तर चिनेका ठाउँमा कसरी ढाँट्ने ? अस्थायी रूपमा जात ढाँट्नेहरू नभएका होइनन्, जात खुल्दा ठूलो अपमान र असजिलो भोग्नुपर्ने हुनाले त्यस्तो हुने गरेको छ तर अन्ततः जात त खुलैरै छाड्छ । त्यसैले जात ढाँट्ने भन्ने आरोपको मूल रूपमा खास अर्थ छैन । दुई, जात ढाँटे भनी लगाउने आरोपको अर्को सन्दर्भ चाहिँ दलितहरूले पहिले गैरदलितले मात्र लेख्ने गरेको थर लेख्न थाले भनेर हो । योचाहिँ अज्ञानताको समस्या हो ।

नेपालमा २०४६ सालभन्दा पहिले आम रूपमा दलितलाई थर लेख्नै दिइँदैनथ्यो, सोझै थरको स्थानमा जात लेख्न बाध्य पारिन्थ्यो । एक जना ब्राह्मण नागरिकता लिन गए थरका रूपमा उसले ब्राह्मण लेख्नुपर्दैनथ्यो, बरु आफ्नो थर सापकोटा बकाइदा लेख्न पाउँथ्यो तर गौतम थरवाला दमाईं नागरिकता लिन जाँदा थर दमार्इं वा दर्जी प्रस्ट जात चिनिने गरी लेख्नुपर्थ्यो, उसले आफ्नो गौतम थर लेखाउन पाउँदैनथ्यो । वास्तवमा गोतामकोटबाट हिँडेको दमाईं र ब्राह्मण दुवैको चिनारी थर गोतामे/गौतम हो तर लेख्ने अधिकार तागाधारीलाई मात्र थियो । त्यसैले गौतम थरको दमाईं वा शाही थरको बादी बिहेबारी गर्दा मात्र त्यो थर आफ्नै समुदायबीच प्रयोग गर्न बाध्य थियो ।

२०३६ को आन्दोलन र विशेषतः २०४६ को परिवर्तनसँगै आएको स्वतन्त्रता र पार्टी राजनीतिले दलितहरूमा ह्वात्तै चेतना र अधिकारका लागि लड्न सक्ने बनायो । त्यसपछि फटाफट दलितहरूले आफ्नो वास्तविक थर लेख्न थाले । आफूले मात्र लेखेको वा गैरदलितको मात्र भनी बुझेको थर दलितले लेखेको देखेपछि गैरदलित कतिपय विद्वान् पनि चिच्याए, ‘दलितले किन जात ढाँटेको ?’ यथार्थमा त्यो त उसले आफ्नो थर पो लेखेको थियो ।

दलितले थर फेर्ने हो भने उसको समुदायमा कसरी वैवाहिक जीवन चलाउँछ ? समुदायमा बसेर थर फेर्नु त्यति सजिलो कुरै हैन । हो, अर्को एउटा सानो प्रवृत्ति भने समाजमा छ– यथार्थमै हाकाहाकी आफ्नो हैसियतमाथि देखाउन थर परिवर्तन गर्ने तर त्यो थ‍ोरैमा प्रकट प्रवृत्ति हो र त्यो प्रवृत्ति दलितमा भन्दा बढी गैरदलितमा पाइएको छ । जस्तो– पदवीवाला थर दलितले साह्रै कम प्रयोग गरेको पाइन्छ, गैरदलितले बढी गरेको पाइन्छ । माथि नै भनियो– चौधरी, सुब्बा, राई, दीक्षित वंशगत थर होइनन् । त्यसै गरी आजका गौतम थरका ब्राह्मणहरू गौतम ऋषिसँग जोडिएका नभई गोतामकोटबाट हिँडेको गोतामे परिचयका हुन्, जसले पछि गोतामे नलेखी गौतम लेख्न थालेका हुन् । एउटै परिवारका भाइ ध्रुवचन्द्र गौतम र दाजु धनुषचन्द्र गोतामे पाइनुले पनि त्यो कुरा सजिलै प्रस्ट गर्छ ।

अर्को प्रसंग हेरौं । सामान्यतया वाग्मती उपत्यकाबाट बाहिर गएर बसेका थुप्रै गैरश्रेष्ठ नेवारले आफ्नो थर श्रेष्ठ बनाएका छन् । ब्रिटिस फौजमा भर्तीका लागि तामाङहरू अधिकांशले गुरुङ थर लेखेकै हुन् । राजा–महाराजाले झन् काशी जाँदै गोत्र फेर्दै गरेकै हुन् ।

नेपाल यस्तो देश हो, जहाँ नाम र थरका आधारमा एउटा समुदायलाई मात्र मोटामोटी चिन्न सम्भव छ । त्यो हो– मुस्लिम । अरू कसैको पनि पहिचान थरका आधारमा मात्र सम्भव छैन । लामा थर लेख्ने नेपालमा दर्जनभन्दा बढी जाति छन् । लामा थरका आधारमा जाति कसरी चिन्ने ? मण्डल, चौधरीलगायतका थर लेख्ने थुप्रै जात/जाति छन् । थरका आधारमा कसरी जात चिन्ने ? शर्मा थर लेख्ने आर्य–खस, नेवार र मधेसी छन् । थरका आधारमा कसरी चिन्ने ? किरात राई या राय दुवै पदीय थर हुन्, जुन दनुवार, किरात, यादव र क्षत्रीमा हुन्छ । अब कसरी छुट्याउने ? बुढाथोकी मगर, कामी, क्षत्री हुन्छन् । अब थरका आधारमा कसरी किटान गर्ने ? पौडेल उपाध्याय ब्राह्मणदेखि बादीसम्म हुन्छन् । राउत थर पहाडिया क्षत्री, मधेसी वैश्य, मधेसी दलित र मुस्लिमसम्मको हुन्छ । कसरी जात छुट्याउने ?

तसर्थ, थरहरूका आधारमा मात्र नेपालमा जाति वा जात प्रस्ट हुन्छ भन्ने बुझाइ नै गलत छ, जसलाई फेर्नु अवश्यम्भावी छ । नेपालमा जाति वा जात जान्न वा खुलाउन खोज्दा थर मात्र भनेर पुग्दैन, बरु जाति वा जात वा समुदाय पनि अनिवार्य रूपमा खुलाउनुपर्ने हुन्छ । थरका आधारमा मात्र व्यक्तिको सम्पूर्ण परिचय खुल्ने अवस्था नेपालमा छैन ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×