१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्व जोड्दै पाथीभरा महोत्सव

आनन्द गौतम

ताप्लेजुङ — मेची राजमार्गलाई एउटै करिडोरमा जोड्ने उद्देश्यले पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ शुक्रबार सुरु भएको छ । सदरमुकाम फुङलिङमा पाँच दिनसम्म चल्ने महोत्सवको प्रदेश १ का सभामुख प्रदीप भण्डारीले उद्‌घाटन गरे ।

पूर्व जोड्दै पाथीभरा महोत्सव

महोत्सवको शुभारम्भ बिहान कलशयात्राबाट भएको थियो । सदरमुकामको तोक्मेडाँडाबाट सुरु भएको कलशयात्रा नगर परिक्रमापछि सिद्धिडाँडा पुगेर फर्किएको थियो ।


महोत्सव अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन् । महोत्सवको मुख्य आकर्षण सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिरसम्मको खुला तथा काफ्लेपार्टीसम्मको महिला म्याराथन प्रतियोगिता रहेको छ । यसका अलावा जंगलमा चराइने भेडाको बथान सहर ल्याउने कार्यक्रम छ । पाँच सयभन्दा बढीको बथान दुई दिनसम्म सदरमुकामको तोक्मेमा राखिनेछ । भेडाको गोठ फावाखोलाका कमल विष्टले ल्याउने बताएका छन् ।


महोत्सव अवधिमा सदरमुकामको मेवा खोला हिल रिसोर्टबाट हेलिकप्टरमा चढेर सदरमुकाम फुङलिङ परिक्रमा गर्न पाइनेछ । यसका लागि ४ हजार रुपैयाँ मात्रै शुल्क राखिएको व्यवस्थापन समितिका संयोजक सुरेश लिम्बू बताउँछन् । पाथीभरा जानेले जनही १० हजार, तिम्बुङपोखरी जानेले २३ हजार र फुङफुङे झरना जानेले १२ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । यस वर्षको महोत्सवमा जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयले संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्ने सांस्कृतिक उपसमितिका संयोजक युवराज गिरी बताउँछन् । प्रचार संयोजक खगेन्द्र अधिकारीका अनुसार महोत्सवको प्रचार भारत र चीनमा समेत गरिएको छ । भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी र चीनको घुम्तीमा पुगेर पत्रकार सम्मेलन गरिएको अधिकारीले बताए ।


महोत्सवमा खेलकुदतर्फ पालिकास्तरीय मेयर कप भलिबल प्रतियोगिता र महिला फुटबल प्रतियोगिता आयोजना गरिँदै छ । महिला फुटबलको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ भने पुरुष भलिबल १० देखि १२ गतेसम्म हुनेछ । प्याराग्लाइडिङ उडानका लागि पोखराको टोली आएको छ । महोत्सवकै अवसरमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पनि हुँदै छ । पुराना तथा लोपोन्मुख ‘पिलो फाइट’ जस्ता प्रतियोगिता रहेको सहसंयोजक मनमणि काफ्ले बताउँछन् । पर्यटनमन्त्रीको गृह जिल्ला पनि भएकाले विदेशी पर्यटक भित्र्याउन थप प्रयास गर्ने आयोजकको दाबी छ । महोत्सवमा छिमेकी चीनका प्रशासन प्रमुखसमेतलाई बोलाइएको थियो तर उनले कोरोना भाइरसका कारण यात्रा रद्द गरेका छन् । सिक्किमका मुख्यमन्त्री पीएस गोलले समेत आउने इच्छा देखाएका थिए । उनी पनि स्वास्थ्यका कारण आउन नसकेको आयोजक समितिले जनाएको छ ।


शिवरात्रि तथा सेना दिवसको अवसरमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले महोत्सव आयोजना गरेका हुन् । महोत्सवमा १३ जातजातिको खाद्य परिकार, औद्योगिक प्रदर्शनी, कृषि मेला प्रदर्शनी, फोटो तथा वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रम छन् । महोत्सवमा साहित्य सम्मेलन पनि गरिँदै छ । मेची अञ्चलका पाँचथर, इलाम र झापासम्मकाम उद्योगीले स्टल राखेका छन् । पूर्वको अन्तिम तथा हिमाली जिल्ला गत वर्षदेखि कोशी राजमार्गले पनि जोडिएको छ । यसअघि मेची राजमार्गले मात्रै जोडिएको थियो । झापाको बिर्तामोड–चारआली–इलाम–पाँचथर फिदिम हुँदै ताप्लेजुङ सदरमुकाम फुङलिङ जोड्ने राजमार्ग कोसीमा जोडिएपछि मेचीको पुरानो साख जोगाउन गत वर्षदेखि महोत्सव सुरु भएको हो । अघिल्लो वर्षको महोत्सव इलामले आयोजना गरेको थियो । ताप्लेजुङपछि पाँचथर वा झापालाई लोगो हस्तान्तरण गरिने महोत्सव समितिका संयोजक तथा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले बताए ।


गृहजिल्ला भएकाले पर्यटनमन्त्री योगेश भट्टराई फागुन १० देखि १३ सम्म जिल्लामै बस्ने कार्यक्रम छ । उनी काठमाडौंमा शिवरात्रि मनाएपछि गृहगाउँ मैवाखोला–३, साँघु हुँदै सदरमुकाम आउने मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंले बताए ।


नगरपालिकामा तीन दिन बिदा

महोत्सव अवधिभर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलका अनुसार मेची पर्यटन महोत्सव नगरपालिकाको पर्वजस्तै भएकाले बिदा दिइएको हो । ‘पाँचदिने महोत्सवको पहिलो दिन शिवरात्रि, दोस्रो दिन शनिबार भएकाले बाँकी ३ दिन पनि बिदा दिइएको हो,’ उनले भने ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?