अवधि सकियो, काम अधुरै

आगामी चैत ७ भित्र सम्पन्न गर्नुपर्ने दिक्तेल–रेग्मीटार सडक आधा पनि बनेन । भएको काम पनि कमसल रहेको अनुगमन टोलीको निष्कर्ष 
डम्बरसिं राई

खोटाङ — दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक तोकिएको अवधिमा निर्माण नहुने पक्का भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० करोड ८८ लाख ३२ हजार ९७ रुपैयाँ लागतको सडक अबको एक महिनाभित्र कालोपत्र भइसक्नुपर्नेमा ४० प्रतिशत हाराहारी मात्र काम भएको छ । 

अवधि सकियो, काम अधुरै

दिक्तेलको हस्पिटल चोकदेखि खानीडाँडा, आहालेसम्म दश दशमलव ९७४ किलोमिटर सडक निर्माण गरिँदै छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालका अनुसार चैत ७ भित्र सक्ने गरी याक्तुहाङ–साप–सिरुवा जेभी र इकाइबीच २०७५ असोज १ गते संझौता भएको थियो ।


सडकको अहिलेसम्मको काम पनि गुणस्तरहीन रहेको चौतर्फी गुनासो छ । गुनासोपछि प्रदेशसभा सदस्यहरू रामकुमार राई, उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङलगायतको टोलीले अनुगमन गरेको थियो । नाली, टेवा पर्खाल, कल्भर्टलगायतको काम गुणस्तरहीन देखिएको रामकुमार राईले सुनाए । ‘काम पूरै गुणस्तरहीन छ,’ उनले भने, ‘यो सच्चिनु पर्छ । नत्र ठेकेदार र पुनर्निर्माण प्राधिकरण दुवैले जिम्मेवारी लिनुपर्छ ।’


यसबाहेक सडकको लेभल नमिलाई नाली बनाउन सुरु गरिएकाले सडकभन्दा माथि वा तल हुन सक्ने देखिएको ढकालले बताए । चौतर्फी गुनासो आएकाले गुणस्तरीय कामको मूल्यांकनको आधारमा मात्र भुक्तानी दिइएको उनको दाबी छ । ढकालका अनुसार ५ करोड ४४ लाख ७६ हजार १ सय ३४ रुपैयाँ भुक्तानी भएको छ । ‘हामीले गुणस्तर देखिएको कामको मात्र मूल्यांकन गरेर भुक्तानी गरेका छौं,’ ढकालले भने, ‘जहाँ–जहाँ गुणस्तरीय काम छैन, त्यसलाई गुणस्तरीय बनाउन सम्बन्धित निर्माण कम्पनीलाई भनिएको छ ।’


निर्माण कम्पनीसम्बद्ध शिवप्रसाद चौलागाईंले आगामी वैशाखभित्र काम सकेर जिम्मा दिने योजना बनाइएको बताए । रोलर, ग्रेडर, पानी ट्याङकरलगायत आइसकेकाले अब भने काम धमाधम हुने उनले सुनाए । ‘वैशाखसम्ममा काम सकेर जिम्मा दिने लक्ष्य बनाइएको छ,’ चौलागाईंले भने । उक्त सडक शिलान्यास गर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बेलामा काम नसके म्याद थप नहुने र हर्जना तिराइने बताए । सार्वजनिक खरिद ऐनको पछिल्लो व्यवस्थाअनुसार ठेकेदारका कारण ढिलाइ भए काम हुन बाँकी रकमसमेत सरकारी बक्यौतासरह असुल्नुपर्ने व्यवस्था छ ।


सगरमाथा लोकमार्गको काम बन्द

निर्माणाधीन सगरमाथा लोकमार्ग गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गौरवको आयोजनाअन्तर्गत पर्ने महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम गुणस्तरहीन भएकाले बिहीबारदेखि बन्द गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेश राईले बताए । ‘गरेका काम सबै गुणस्तरहीन भएकाले राम्रो बनाउन लगाउन बन्द गरिएको हो,’ उनले भने, ‘सम्बन्धित निर्माण कम्पनी, सडक विभाग र स्थानीयको संयुक्त भेलाबाटै बन्द गराइएको हो ।’


उक्त सडक निर्माणको ठेक्का सिद्धिसाई निर्माण कम्पनीले लिएको छ । करिब ४६ करोड रुपैयाँ (भ्याटबाहेक) लगानीमा २०७७ असार मसान्तसम्ममा सक्ने गरी २०७३ सालमा सम्झौता भएको थियो । गुणस्तरमा प्रश्न उठेपछि छलफलको माध्यमबाट समस्या समाधान गर्ने योजना बनाइएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए । उनका अनुसार स्थानीय व्यापारीदेखि कामदारसम्मको रकम नदिएको गुनासो आएकाले यसबारेसमेत छलफल गरिनेछ ।


यो सडककै अन्य खण्डको काम पनि गुणस्तरहीन बनेको स्थानीयको गुनासो छ । फोक्सिङटारदेखि सिमपानी भन्ज्याङसम्मको २७ किलोमिटर खण्डको जिम्मा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ । त्यहाँको काम पनि गुणस्तरहीन रहेको वडाध्यक्ष राईले सुनाए ।

प्रकाशित : फाल्गुन १०, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?