कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृतकलाई जीवित भनेपछि

कान्तिपुर संवाददाता

विराटनगर — सोमबार रंगेली अस्पतालमा शिशु जन्मेको ४५ मिनेटपछि चिकित्सकले मृत घोषणा गरे । त्यसपछि अस्पतालका सफाइ कामदारले शिशुको लासलाई प्लास्टिकमा पोको पारेर राखे । शिशु जन्मेको एक घण्टापछि आमा रविना सरदारको पनि मृत्यु भयो ।

दुवैको मृत्युपछि मृतकका आफन्तले चिकित्सकको लापर्वाहीले दुवैको ज्यान गएको भन्दै शव गेटमा राखेर प्रदर्शन गर्दा अस्पताल मंगलबार साँझसम्म तनावग्रस्त वन्यो ।


मंगलवार दिनभरी प्रहरी प्रशासन प्रतिनिधि, रंगेली नगरपालिकाका मेयर तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीप बगडिया र मृतकका आफन्तको वार्ताले साँझ अबेर कोसी अञ्चल अस्पतालका चिकित्सक अन्जु देवको संयोजकत्वमा छानबिन समिति गठन गरेर त्यो समितिको प्रतिवेदनका आधारमा उपचारमा संलग्न चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएपछि अस्पतालको तनाव साम्य वन्यो । सहमतिमा शवको कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्ने र आफन्तले बुझेर अन्त्येष्टि गर्ने सहमति पनि भएको थियो । सहमतिपछि लासलाई पोष्टमार्टमका लागि विराटनगरको कोसी अञ्चल अस्पताल लैजाने तयारी भयो । त्यो तयारीसँगै रंगेली अस्पतालदेखि विराटनगरसम्म अर्को कोलाहल मच्चियो । कोलाहलको कारण थियो, चौविस घण्टाअघि मृत घोषणा गरिएको शिशुको लासमा धड्कन रहेको भ्रम ।


‘प्रहरी प्रशासन, अस्पताल व्यवस्थापन समिति र मृतकका परिवारबीच सहमति भएपछि मृतकका आफन्तले मृत शिशुको मुख हेर्ने माग गरे,’ प्रत्यक्षदर्शी ईश्वर पोखरेलले भने, ‘अस्पतालका कामदारले प्लास्टिक खोलेर मृत शिशुको मुख खोले ।’ त्यसपछि त्यहाँ जम्मा भएका मृतकका आफन्तमध्ये एकले शिशु जिउँदै रहेको बताए । केही व्यक्तिले मृत शिशुलाई कुदाएर नजिकको टाइम्स अस्पतालमा पुर्‍याए । त्यहाँ चिकित्सकले चाँडै विराटनगर पुर्‍याउन सुझाव दिए ।


त्यसपछि शिशु जीवितै रहेको अफवाह फैलियो । उनीहरूले एम्बुलेन्समा हालेर शिशुको शव विराटनगरको सुरक्षा अस्पताल पुर्‍याए । त्यो अस्पतालले पनि नजिकको कोसी अञ्चल अस्पताल लैजान सुझाव दियो । कोसीमा पुर्‍याउदा स्वास्थ्यकर्मीले शिशुको चौविस घण्टा पहिला नै मृत्यु भइसकेको जनाएपछि मंगलबार राति कोलाहल मत्थर भयो । त्यस बेलासम्म मृतकका आफन्तहरू हस्याङफस्याङ गर्दै विराटनगर पुगिसकेका थिए ।


मृतकका पति एवं पिता मुन्नु सरदारले बुधबार भने, ‘अस्पतालमा जम्मा भएकामध्ये कसैको भ्रमले दुःख माथि दुःख पाइयो ।’


प्रसूति गराउन सोमबार जिल्ला अस्पताल रंगेली पुगेकी रंगेली नगरपालिका ९ दोभनाकी २५ वर्षीय रविना सरदार र उनको बच्चाको उपचारका क्रममा मृत्यु भएको थियो । उपचारमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अशोक ठाकुरको संलग्नता थियो । बुधबार पोष्टमार्टम गरी आफन्तले बुझेर अन्त्येष्टि गरेका छन् । प्रकाशित : फाल्गुन ८, २०७६ ०८:५९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कमसल निर्माणमा खबरदारी

कान्तिपुर संवाददाता

मोरङ — कटहरी गाउँपालिका २ भइरहेको नाला निर्माणमा कमसल सामग्री प्रयोग भइरहेको पाइएको छ । कटहरी २ आदर्शनगरदेखि रंगेली रोडसम्म भइरहेको २ सय ७५ मिटर नाला निर्माणको काम गुणस्तरहीन भएको पाइएको हो ।

स्थानीय गजेन्द्रनारायण कर्णले प्रभावकारी अनुगमनको अभावमा आफ्नो घर अगाडि नै निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरी मापदण्ड विपरीत नाला निर्माण गरिरहेको गुनासो पोखे । ‘एक नम्बर इँटाको साटो निर्माण कम्पनीले ३ नम्बर र एक भाग सिमेन्टमा ६ भाग वालुवा मिसाएर जोड्नुपर्नेमा १२ भाग बालुवा मिसाएर निर्माण काम गरिरहेको छ ।’ टोलवासीले पटक पटक राम्रो काम गर्न आग्रह गर्दासमेत निर्माण कम्पनीले सुनुवाइ नगरेको कर्णले गुनासो पोखे ।

‘हामीले वडा अध्यक्ष किशोर पाण्डेलाई समेत गुणस्तरहीन काम भइरहेको बारे जानकारी गरायौं,’ उनले भने, ‘वडा अध्यक्ष पाण्डेले काम पनि रोकेका थिए तर प्राविधिकहरूले स्टिमेटअनुसार गुणस्तरयुक्त नै निर्माण सामग्री प्रयोग भएको भनेपछि पुनर्निर्माण काम सुरु गरेको छ ।’ स्थानीय सोनावत्तीदेवी यादवले आफ्नो घरै अगाडि ३ नम्बर इँटा प्रयोग गरेर मापदण्डविपरीत नाला निर्माण भइरहेको आवाज उठाउँदासमेत कारबाही नभएको गुनासो पोखिन् । गाउँपालिकाका सब इन्जिनियर शम्भु कर्णले करिब ३० लाखको लागतमा २ सय ७५ मिटर नाला निर्माणको ठेक्का यासुकी निर्माण सेवा बुढीगंगाले १६ लाखमा ठेक्का लिएर निर्माण गरिरहेको बताए । नवडा अध्यक्ष पाण्डेले आफूले कमसल इँटा प्रयोग भइरहेको भन्दै काम रोक्दा प्राविधिक र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले ल्याब टेस्ट गरिएको इँटा भएकोले गुणस्तरयुक्त भएकोले तत्काल पुनः काम सुरु गरिएको बताए । उनले यसमा आफ्नो कुनै संलग्नता र कमजोरी नभएको बताए ।

गाउँपालिका अध्यक्ष रामकुमार कामतलाई कमसल सामग्री प्रयोग गरेर नाला निर्माण भइरहेको बारेमा सोध्दा तत्काल निर्माण स्थल पुगेका थिए । अध्यक्ष कामत र उपाध्यक्ष मञ्जिताकुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत कार्कीलगायतका गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकले कमसल सामग्री प्रयोग गरेको निष्कर्ष निकालेका थिए । अध्यक्ष कामतले नाला निर्माणमा गुणस्तरहिन काम भइरहेको बारे प्रमुख प्रशासकीय अधिकृत कार्की, वडाध्यक्ष पाण्डे र सब इन्जिनियर कर्णलाई सोध्दा तीनैजना मौन देखिए । कामतले तत्काल कमसल इँटा प्रयोग गरेर निर्माण गरिएको नाला भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिए । ‘नाला निर्माणमा ठेकेदारसँग मिलेमतो गरेर गुणस्तरहीन काम गरेको देखियो,’ उनले भने, ‘छानबिन गरी अनियमिततामा संलग्न कर्मचारी र जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×