कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तमोरबाट गाउँमा उकालिँदै पानी

लिफ्ट प्रविधिबाट कुम्मायकका ३ हजार ४३ परिवारलाई पानी पुर्‍याइयो
आनन्द गौतम

कुम्मायक, पाँचथर — कुम्मायक गाउँपालिकाकी तिलमाया बुढाथोकीलाई दस वर्षअघिसम्म खासै असुविधा थिएन । घरकी जेठी बुहारी भएकाले पानी जोहो गर्नु उनको पहिलो जिम्मेवारी थियो । नजिकै धारा भएकाले बिहान ६ बजे नै परिवारलाई चिया पकाएर खुवाइसक्थिन् । 

पति गनबहादुर २०६० सालमा परिवारसँग छुट्टिएर गाउँमै जग्गा किने । नयाँ घरमा सर्दा आफ्नै जग्गामा उम्रिएको धाराले अझ सहज बनाइदियो । सिँचाइका लागि ठाडो खोलामा बग्ने पानी पर्याप्त थियो । तर, ०६७ सालमा पूरै पानी सुक्यो । त्यसपछि ४५ मिनेट परको धारा धाउनुपर्ने भयो । यही पीडा झेलेर गनबहादुर अहिलेसम्म गाउँमै छन् । अन्त जाने उपाय पनि छैन । १६ वर्षअघि ३ लाख खर्चेको जग्गा अहिले पानीको असुविधाकै कारण बिक्दैन । कान्छो भाइ गहसिंह जग्गा बाँझै छाडेर तीन वर्षअघि झापातिर सरिसके । ‘माइलो भाइ शिक्षक छ, साइलो बुबाआमा पालेर बसेको छ, कान्छोचाहिँ यहाँको एक फोक्टो जग्गा बिक्री नभई हिँड्यो,’ गनबहादुरले थपे, ‘तल पनि अर्काको जग्गामा कमाइ गरेर बसेको छ ।’


खानेपानी अभाव बुढाथोकीको मात्र होइन, सिंगो गाउँपालिकाकै समस्या हो । स्थानीयको असुविधा टार्न सरकारले यासोक सुक्खा क्षेत्र खानेपानी आयोजना अघि बढाएको छ । यसले स्थानीयमा आशा त पलाएको छ तर अझै ढुक्क हुन सकेका छैनन् । आयोजनाअन्तर्गत तमोर नदीको पानी ल्याएर ट्यांकीमा जम्मा गरी उपभोक्तालाई वितरण गरिँदैछ ।


आयोजनाको फागुन ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । गाउँपालिकाको केन्द्र यासोक बजारमा निर्माणाधीन धारा खोलेर आयोजना उद्घाटनको तयारी भइरहेको उपभोक्ता समिति अध्यक्ष तथा पूर्वराज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले बताए । आयोजनाका अनुसार पहिलो खण्ड निर्माणका लागि प्रेरा स्वामिनारायण जेभीलाई २०७२ पुस १६ गते ठेक्का दिइएको थियो । १९ करोड ५२ लाख ५० हजार लगानीको आयोजनाअन्तर्गत कुम्मायकका १, ३, ४ र ५ नम्बर वडाका ३ हजार ४३ परिवारले पानी पाउनेछन् । यसका लागि तमोर नदीमा एउटा मुहान, १० वटा पम्प स्टेसन, ११ वटा पानी टंकीसहित साढे १३ किलोमिटर पाइपलाइन बनाइएको छ । सम्झौता अनुसार ९८ प्रतिशत काम भइसकेको आयोजनाको दाबी छ ।


त्यस्तै दोस्रो खण्डअन्तर्गत १५ वटा अग्निनियन्त्रक, ३४ वटा खोल्सा क्रसिङ, सबै घरमा पानीको पाइप जडान, ६.५४ किलोमिटर पाइपलाइन जडान भएको छ । यसको ठेक्का २२ करोड १० लाख ९ हजार लागतमा कन्काई महादेव खिम्ती स्वामीनारायण जेभीले लिएको थियो । कम्पनीले माघ मसान्तसम्ममा २ सय ९१ घरमा धारा जोड्न बाँकी रहेको उल्लेख गरेको थियो । तमोरको पानी लिफ्ट प्रविधिबाट १७ सय ३८ मिटर उचाइसम्म ल्याइएको छ ।


पानी आयो, सिँचाइ छैन

खानेपानीको धारा घरमा झरेपछि स्थानीयमा केही आशा पलाएको छ । यसअघि यहाँ डिप बोरिङ, प्लास्टिक पोखरी निर्माणजस्ता प्रयास भएका थिए । बर्खाको पानी संकलन गरेर हिउँदमा खुवाउने रणनीति पनि अवलम्बन गरियो । डोकामा गाग्रो हालेर घण्टौं हिँड्नुपर्थ्यो । त्यसरी ल्याएको पानी स्थानीय बासिन्दा साह्रै घाँटी सुके मात्र पिउँथे ।


तमोर लिफ्टबाट स्थानीयले खानेपानी पाउने भए पनि सिँचाइको समस्या जटिल नै छ । ८० वर्षीय भुवनसिंह कार्की सिँचाइ सुविधा नभए गाउँमा कसरी टिक्ने भन्ने चुनौती रहेको बताउँछन् । उनी बिहानभरि घाँस काट्न खटिन्छन् । दिउँसो गाईगोरुलाई पानी खुवाउन एक घन्टा हिँडाएर तमोर पुर्‍याउँछन् । ‘सके दिनहुँ नसके पनि दुई दिनमा त खोलामा पुर्‍याउनै पर्‍यो नि,’ कार्कीले भने, ‘बोकेर खुवाउन म बूढोले सक्दिनँ, नत्र त वस्तु पानी खान नपाएरै मर्छन् ।’


खेतीपाती कम भएपछि उनीहरूले पशुपालनलाई प्राथमिकता दिएका छन् । ‘केही त गर्नुपर्‍यो नि हैन नानी,’ भुवन सिंहले भने, ‘यसो बजारतिर हिंडौं न भन्यो, खल्तीमा पैसा चाहिन्छ । अन्न फल्न छोड्यो, केही पेसा नगरे केले गरिखानु र ?’

कसरी हरायो पानी ?

भुवन सिंहका अनुसार २०४५ सालसम्म गाउँमा छेलोखेलो हुने गरी पानी थियो । माथिबाट झर्ने ठाडा खोला तमोर नदीमा मिसिन्थे । बर्खामा हिँडडुल गर्न चुनौती थियो । त्यही सालको भूकम्पले आधाजति मुहान सुकाइदियो । ‘यस्तो समस्या अहिले हाम्रोमा भयो,’ उनले भने, ‘तमोर नदीमा बर्सेनि पानी घटेको देख्छु । पछि त पानीको समस्या जहाँतहीँ होला जस्तो लाग्छ ।’ साह्रै उत्पादन हुने ठाउँ पनि अहिले यस्तो भएको देख्दा विरक्त लाग्ने उनले सुनाए । कुम्मायक गाउँपालिका कुनै बेला जिल्लाको उर्वर क्षेत्र रहेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । प्रकाशित : फाल्गुन ७, २०७६ ११:१८

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ड्राइभर हुँदाको रमाइलो

अमृता अनमोल

बुटवल — घरमा खानलाउनकै अभाव थियो । कापी, कलम र मसी किन्नै समस्या । यस्तोमा रमेश भुलले पढाइलाई निरन्तरता दिन सकेनन् । कक्षा ८ मा पढ्दापढ्दै छोडेर बसका सहयोगी बने । सुरुमा खानसहित मासिक ८ सय रुपैयाँमा काम थाले । 

झन्डै चार वर्ष सहचालक भएर काम गरे । मासिक २० देखि २२ हजार रुपैयाँसम्म कमाए । बस चलाउन थालेको चार वर्ष पुग्दैछ । २८ वर्षे आफ्नो पेसाबाट उनी सन्तुष्ट छन् । ‘अहिले मासिक ६० हजारसम्म कमाएको छु,’ उनले भने, ‘आफ्नो खर्च कटाएर ५० हजार त घरपरिवारलाई नै दिन्छु ।’

खप्तड यातायातको धनगढी–काठमाडौं रुटको ना५ख ९४०६ नम्बरका बस चालक रमेश कैलालीको अत्तरिया–२ का स्थायी बासिन्दा हुन् । बसकै कमाइबाट उनले भाइलाई ल्याब असिस्टेन्ट पढाए । घर बनाए, बाआमालाई मजदुरीको कामबाट छुटाए । छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएका छन् । ‘धेरै मान्छेले गाडी लाइन राम्रो छैन भन्छन्,’ उनले भने, ‘अनुशासित भएर काम गर्ने हो भने गाडीलाइनमा मालामाल आम्दानी छ ।’

धेरैलाई लाग्छ, स्वदेशमा कामअनुसार कमाइ छैन । सार्वजनिक यातायातको क्षेत्र कमाइ नहुने क्षेत्रको हो । त्यसैले धेरै युवा वैदेशिक रोजगारीमा जान हतारिन्छन् । पछिल्लो समय केही युवाले यातायात क्षेत्रमा लागेर गरेको प्रगति अनुकरणीय छ ।

कम पढेका मात्र होइन, उच्च शिक्षा पढ्दै गरेका युवा पनि पछिल्लो समय सहयोगी र चालक बनेर आफ्नो दैनिकीलाई सहज बनाइरहेका छन् । त्यसैमध्येका हुन्, २८ वर्षीय विनोद कार्की । नौ वर्षयता बसमा काम थालेका उनी अहिले काठमाडौं–धनगढी रुटको रात्रिकालीन बस चलाउँछन् । एकपटक धनगढीबाट काठमाडौं बस पुर्‍याउँदा १३ हजार कमाउँछन् । महिनामा १० पटकसम्म बस आउजाउ हुन्छ । ‘अहिले बस चालक मात्र होइन, हेल्परको कमाइ पनि राम्रै छ । खाडी मुलुकमा कमाउने रकम यतै कमाइन्छ,’ उनले भने, ‘अब ड्राइभरी छोडेर अन्त जाने मन छैन ।’

धनगढीको गौरीगंगा गाउँपालिकाका विनोदले विद्यालयस्तरको पढाइ निजी विद्यालयमा पढे । नौ वर्षअघि कैलाली बहुमुखी क्याम्पसमा बीबीएस पढ्दै थिए । चमेलिया जलविद्युत् आयोजनाका लागि घरधुरी र सामाजिक प्रभाव सर्वेक्षणको काम गर्दा परीक्षा नै छुट्यो । बिरक्तिएका उनी बसमा सहयोगी भए । ‘त्यसबेला गाडीलाइनमा हिँड्दा धेरैले गाली र खिसीट्युरी गरे,’ उनले भने, ‘अहिले प्रगति देखेर थक्थकी मान्छन् ।’ पछिल्लो समय सार्वजनिक बसमा युवा आकर्षण बढेको छ । व्यवसायीले कामदारलाई कामअनुसारको दाम दिन थालेपछि पनि युवाको आकर्षण बढ्न थालेको छ ।

‘ड्राइभरी पेसालाई असुरक्षित पेसा मानिन्छ । तैपनि, सधैं यात्रा गर्न र रमाइलो गरी काम गर्न सकिन्छ,’ काठमाडौं–बुटवल रुटका चालक वसन्त श्रेष्ठले भने, ‘त्यसैले साउदीको रोजगारी छोडेर अहिले सहचालक बनेको छु ।’ ३० वर्षीय श्रेष्ठले यसबाटै मासिक २५ हजार रुपैयाँसम्म कमाउने बताए । ड्राइभिङ पेसा अपजसी पेसा हो । सियोको टुप्पोमा हिंड्ने कामजस्तै कठिन हो । धेरै यात्रुले ड्राइभरलाई हेप्छन् । तुच्छ शब्द बोल्छन् । यसले भने उनीहरूको चित्त दुख्छ । त्यस्तालाई अंग्रेजी भाषामा नम्र बोलेर सम्झाउने गरेको
उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७६ ११:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×