२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गहनामा बुट्टा भर्दै महिला

सुम्निमा चाम्लिङ

(इटहरी) — सुनचाँदीका सामान बनाउने कालीगढ भन्नासाथ सामान्यतया पुरुष भन्ने भान पर्छ । यस्तो किनभने, यस्ता काममा पुरुषकै मात्र सहभागिता हुन्थ्यो । यो धेरै अघिको कुरा भइसक्यो । अब महिला पनि गहनामा बुट्टा भरेर आकर्षक बनाउन पोख्त बनेका छन् ।

गहनामा बुट्टा भर्दै महिला

धरानकी ३७ वर्षीया विष्णु गहतराजले यस्तो काम गरेको डेढ दशक भयो । बराह ज्वलेरी प्रालिले महिलालाई आत्मनिर्भर बनाउने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुनचाँदीका गहना बनाउने तालिम दिएको थियो ।

त्यसै बेला सात महिनाको काखेनानी हुँदा पनि विष्णुले ‘कालीगढ’ को तालिम लिएकी थिइन् । तीनमहिने तालिमले उनलाई यो पेसामा लाग्न सहयोग पुगेको हो । ‘तालिमबाट धेरै कुरा सिकें,’ उनले भनिन्, ‘अर्डरअनुसारका गहना बनाउन सक्ने भएँ ।’ दैनिक आठ घण्टा काम गर्ने उनले मासिक १७ हजार रुपैयाँ पारिश्रमिक पाउँछिन् । उनको दक्षता खासगरी सुनचाँदीका सिक्री बनाउनेमा रहेछ ।


‘अझै आधुनिक फेसनअनुसारको गहना बनाउने इच्छा छ,’ विष्णुले भनिन्, ‘घर परिवार पनि हेर्नुपर्ने भएकाले भ्याइरहेकी छैन ।’ सामान्यतया सिक्री बनाउन चार घण्टा र पोते उन्न दुई घण्टा लाग्ने उनले बताइन् । श्रीमान् पनि यही पेसामा भएकाले उनलाई सजिलो भएको छ ।


‘मेरो पेसामा गर्व लाग्छ,’ उनले भनिन्, ‘परिवारको खर्च जुटाउन सक्ने भएकी छु । घरमा मात्र सीमित हुन परेको छैन ।’ धरानकै महिला कालीगढको नाम लिनुपर्दा नछुट्ने नाम हुन् ३१ वर्षीया कविता बराइली । उनी पनि बराह ज्वलेरीले तालिम दिएपछि यसतर्फ लागेकी हुन् ।


‘१० महिनाको नानी छाडेर कालीगढको काम सिक्नु सजिलो थिएन,’ उनले भनिन्, ‘तर पनि आँट गरेर सिके, गहनाहरू बनाउन सक्ने भएँ ।’ सुरुमा काम सिक्दा हात सुन्निएर हैरान भएको सम्झँदै उनले अब भने काममै रमाइलो लाग्न थालेकाले निरन्तरता दिने सुनाइन् । उनी मासिक १६ हजार रुपैयाँ कमाउँछिन् ।


महिला र पुरुष कालीगढले उतिकै श्रम गरे तापनि पारिश्रमिकमा भने विभेद गरेको उनले बताइन् । उनी भन्छिन्, ‘काम गर्ने समय र मिहिनेत समान हो । तर तलब थाप्ने बेलामा पुरुषले बढी पाउँछन्, यसमा चित्त बुझ्दैन ।’


सात वर्षदेखि श्रीमान् र उनी बराह ज्वेलरी प्रालिमा कार्यरत छन् । कम समय र थोरै परिश्रममा राम्रो आम्दानी गर्न सकिने भएकाले महिलाका लागि यस पेसा उपयुक्त हुने महिला कालीगढहरूको भनाइ छ ।


बराह ज्वेलरीको धरान शाखामा सुनचाँदीका गहना बनाउने काममा ३७ जना कालीगढा छन् । १० जना विदेशी, २४ स्वदेशी छन् । तीन जना महिला कालीगढ रहेको शाखाका प्रमुख दीपेन्द्र गहतराजले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?