कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

गुराँस वन जोगाउन पाँचवर्षे कार्ययोजना

कान्तिपुर संवाददाता

तेह्रथुम — गुराँसको राजधानी भनिने तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रका गुराँसका प्रजाति मासिँदै गएका छन् । स्थानीयले दाउरा, घर गोठ बनाउने किलाघोचा, अन्नबाली बनाउन फँडानी, सडक निर्माण, हाँगै भाँच्नेजस्ता कारणले क्षेत्रको गुराँस मासिंदै गएको हो ।

यस क्षेत्रमा ३१ प्रजातीका गुराँस पाइने मानिएको छ । पछिल्लो समय गुराँस वन पातलिँदै गएको संखुवासभाको मादी नगरपालिकाका प्रमुख विदुर लिङथेपले बताए । मादी नगरपालिका टीएमजे क्षेत्रमै पर्छ । वन क्षेत्रमा अतिक्रमणसमेत बढेकाले पूर्वको घना गुराँस वन प्रभावित भएको हो ।


फागुन पहिलो साताबाट फुल्ने गुराँसका प्रजाति अचेल कमै मात्र देखिन्छन् । तेह्रथुमसहित संखुवासभा र ताप्लेजुङको लेकाली क्षेत्रमा वनै रातै हुने गरी विभिन्न रङमा फुल्ने गुराँसका प्रजाति लोप हुँदै जान लागेको तेह्रथुमका डिभिजनल वन अधिकृत सुनीलकुमार सिंहले बताए ।


स्थानीयले इन्धनको रुपमा गुराँसलाई प्रयोग गर्दै आएका छन् । स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारसमेतले निर्माण गरिरहेका सडकका कारण पनि गुराँसको जंगल मासिँदै गएको छ । सडक खन्दा गुराँसको वन जोगाउन ध्यान नदिएको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ अध्यक्ष तुलसी संग्रौलाले बताए ।


‘टीएमजे क्षेत्रमा विभिन्न रंगमा फुल्ने गुराँस प्रशस्तै पाइन्छ,’ तेह्रथुमको मेन्छ्याम गाउँपालिकाका अध्यक्ष यादव खापुङले भने, ‘यिनको संरक्षणमा बेलैमा लागिएन भने मासिन सक्छ ।’


राष्ट्रिय फूल लालीगुराँससहितका प्रजाति मासिने क्रम बढेपछि सरकारले संरक्षण गर्न पाँचवर्षे कार्ययोजना बनाएको छ । देशका ४३ जिल्लाका हिमाली र पहाडी क्षेत्रमा पाइने गुराँसका प्रजाति उपभोक्ताले जथाभाबी उपभोग गर्दा मासिंदै जान थालेपछि सरकारले संरक्षण कार्ययोजना तयार पारेर कार्यान्वयनमा ल्याएको हो ।


हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँसबाहेकका रूखका प्रजाति थोरै भएकाले काठदाउराको अन्य विकल्प नहुँदा स्थानीयले गुराँस काटिरहेका छन् । गुराँसका दाउराको अत्यधिक प्रयोग, कोइला बनाएर बिक्री गर्ने, खुला चरीचरन, चोरी निकासी, जथाभाबी सडक निर्माण, विद्युत् लाइन विस्तार र डढेलोजस्ता कारणले गुराँस वन मासिँंदै गएको भन्दै वन तथा भूसंरक्षण विभागले ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’ तयार गरेको छ । कार्ययोजनाले १० रणनीति र ५२ कार्यनीति तय गरेको वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताए ।


विकासका भौतिक पूर्वाधार निर्माण, खेती तथा अन्य प्रयोजनका लागि वन अतिक्रमण बढ्दै गएको र पछिल्लो समय बढेको तापक्रम एवं सुक्खापनसमेतले गुराँस संरक्षणमा चुनौती थपिएको उनले बताए ।


मन्त्रालयले केही समयअघि गुराँस संरक्षणका उपाय खोज्न तेह्रथुमको वसन्तपुरमा एकदिने कार्यशालाको आयोजना नै गरेको थियो । कार्ययोजनामा गुराँसका प्रजातिको संरक्षण, दिगो व्यवस्थापन र गुराँसकेन्द्रित उद्यम तथा पर्या–पर्यटनमा सघाउने कार्यक्रम समेटिएको सहसचिव ढकालले बताए । वन विभागका अनुसार नेपालमा ३१ प्रजातिका गुराँस पाइन्छन् । यिनै गुराँसमध्ये लालीगुराँसलाई सरकारले राष्ट्रिय फूलको मान्यता दिएको छ ।


आगामी पाँच वर्षमा गुराँस वन क्षेत्रको पहिचान, चरन व्यवस्थापन र वृक्षारोपण गरिने कार्ययोजनामा उल्लेख छ । गुराँसका दाउरा धेरै प्रयोग हुने क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्ने, सुधारिएको चुल्हो वितरण गर्नेजस्ता काम पनि कार्ययोजनामा समेटिएको छ । वन अनुसन्धान विभागका अनुसार देशमा गुराँस मिश्रित वनक्षेत्र ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर छ ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?