२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

आमा र शिशुको मृत्युपछि तनावग्रस्त बनेको रंगेली अस्पताल सहमतिपछि सामान्य 

विनोद भण्डारी

विराटनगर — प्रसुति गराउन सोमबार जिल्ला अस्पताल रंगेली पुगेकी गर्भवति महिला र बच्चाको उपचारका क्रममा मृत्युभएपछि मंगलबार पनि दिनभरी तनावग्रस्त बनेको अस्पताल साँझ सहमतिपछि सामान्य बनेको छ । 

मोरङ प्रशासन, अस्पताल व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि र मृतकका परिवारबीच मंगलबार दिनभरी भएको वार्ताले कोसी अञ्चल अस्पतालका चिकित्सक अन्जुदेवको अध्यक्षतामा सात सदस्यीय छानबिन समिति गठन गरी समितिको प्रतिवदेनका आधारमा कारवाही र क्षतिपूर्तिको व्यवस्थागर्ने सहमति भएपछि अवस्था सामान्य भएको हो । समितिमा मृतकका तर्फवाट तिन सदस्य छन् ।

रंगेली नगरपालिका-९ दोभनाकी २५ वर्षीया रविना सरदार र उनको बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले दुवैको मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि अस्पताल तनाव ग्रस्त हुँदा परिसरमा सोमवार र मंगलबार सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ ।


मृतकका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सोमबार र मंगलबार लगातार प्रदर्शन गरेपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । मृतकका आफन्तले अवेरसम्म लास बुझेका छैनन् । सहमतिपछि लासको कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्ने र त्यसछि आफन्तले बुझ्ने सहमति भएको छ ।


सोमबार बिहान व्यथा लागेपछि प्रसुति गराउनका लागि सरदार रंगेली अस्पताल भर्ना भएकी थिइन् । अस्पतालले मध्यान्ह उनलाई सुत्केरी गराउने क्रममा मृत बच्चा जन्मिएपछि आमाको स्वास्थ्य अवस्था थप गम्भीर हुँदासमेत डाक्टरले लापरबाही गरी उपचार गर्दा आमासमेत मृत्युभएको आफन्तले बताएका छन् ।


मृतक सरदारकी ठूलोबुबा रामनारायण सरदारले अस्पतालले समयमै रिफर नगरेको र पछि ढिलो गरी रिफर गर्दा एम्बुलेन्स लिएर बिरामीलाई विराटनगर लैजान खोज्दा पुनः बिरामीलाई नदिई प्रसुति गराउँदा बच्चा र आमा दुवैको मृत्यु भएको बताए ।


यता अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. अशोक ठाकुरले सरदार प्रसुति गराउन आउँदा सुरुमा ठिकै रहेको र करिब १० बजेको समय ब्लड प्रेसर एक्कासी कमी भई आमा अचेत हुन पुगेपछि प्रेसर ठिक गरेर रिफर गर्ने क्रममा आमाको पाठेघरको मुख खुलेर बच्चा हुने अवस्था भएपछि पुन: प्रसुती गराउँदा आमा र बच्चाको साल छुट्टिने बेलामा एम्योलिक फुयुड इन्बोलिजमका कारण आमालाईसमेत असर भएको हुनसक्ने बताए ।


बच्चा जन्मदा घड्कन नभएपछि करिब ४५ मिनेट सि.पि.आर मा राखेर उपचार गराउँदासमेत बच्चा नफर्किएको उनको दाबी थियो । यो अस्पतालले अवरुद्ध रहेको प्रसुती सेवा तीन महिनायता सुचारु गरेको थियो । रंगेली अस्पतालले मोरङको झण्डै आधा भागसहित सीमावर्ती क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउदै आएको छ । अस्पताल पछिल्लो समय प्रदेश अर्न्तगत सञ्चालित छ । यो अस्पतालले कहिले जनशक्ति र कहिले आर्थिक अभावको समस्या भोग्दै आउँदा पटकपटक सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?