कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ दशकपछि बल्ल पुल

अर्जुन राजवंशी

(दमक) — झापा र मोरङको सिमाना भएर बग्ने मावा खोला नजिकै दुम्से बस्ती छ । दमक नगरपालिका ३ मा पर्ने उक्त बस्तीमा षडानन्द अधिकारीको परिवार ३८ वर्षदेखि बसोबास गर्दै आएको छ । 

७३ वर्षीय अधिकारीले मधेसको चार दशक जीवनभन्दा धेरै मावा खोलासँग ‘लडेर’ बिताए । सुनदेखि नुनसम्मको जोहो गर्न उनले सधैं मावा खोला तरेर पारि मोरङको मधुमल्ला बजार पुग्नुपर्थ्यो । दुम्सेदेखि मधुमल्ला टाढा त होइन तर, खोला तरेर जानुपर्दा नजिक पनि थिएन ।


मधुमल्ला विसं. १९९० तिरै बजार बनिसकेको थियो । मधुमल्ला–खजुरगाछी सडक हुँदै झापालीहरू बजार भर्न जान्थे । इलाम, पाँचथर, तेह्रथुम, धनकुटा र ताप्लेजुङसम्मका व्यापारी ढाकरमा घ्यू बोकेर नुन साट्न मधुमल्ला झर्थे ।

आइतबारदेखि सुरु भएको मधुमल्ला बजार लगातार तीन दिनसम्म लागेर मंगलबार मात्र सकिन्थ्यो । पूर्वोत्तर मोरङको एउटा पुरानो बजार मधुमल्लाको व्यापार पूर्वपश्चिम राजमार्ग र झापा हुँदै ताप्लेजुङ जाने मेची राजमार्गको निर्माणपछि बिस्तारै घट्न थाल्यो । मधुमल्लासम्म पुग्ने गोरेटोहरूको स्वरूप फेरिएन ।


पूर्वमा मावा र पश्चिममा नुनसरी खोलामा पुल बनेन । लगातार व्यापार घटेका कारण डेढ दशकयता मधुमल्ला एउटा ग्रामीण बजारको रूपमा सीमित बनेको छ । वर्षौंको पहल र प्रयासपछि मधुमल्ला र दमक जोड्ने गरी मावा खोलामा पुल बनेको छ । मधुमल्ला–खजुरगाछी सडकको नामले कहलिएको करिब नौ दशकपछि मावामा पक्की पुल निर्माण भएको हो । पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानले ३० करोड २२ लाख ९१ हजार ७५० रुपैयाँको लागतमा पुल निर्माण गरेको हो । दुवैपट्टि फुटपाथसहित १०.५ मिटर चौडाइ रहेको पुलको लम्बाइ २५० मिटर रहेको छ ।


०७२ असार २९ मा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य निर्धारित मितिभन्दा एक महिना अघि नै सम्पन्न भएको हो । पुल शर्मा–लामा–स्वच्छन्द जेभी काठमाडौंले निर्माण गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए ।


उक्त पुलको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पुल नहुँदा वर्षातको समयमा खोला नजिकका स्थानीयलाई वारिपारि गर्न १५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नुपर्थ्यो । ‘दमक जानुपर्दा उर्लाबारी हुँदै घुमेर जानुपर्थ्यो । अब, सीधै ५ किलोमिटर यात्रा गर्दा दमक पुग्न सकिने भइयो’ मधुमल्लाका ६५ वर्षीय यामनाथ निरौलाले बताए । पुल बनेपछि खोला वारिपारिका स्थानीय खुसी बनेका छन् । ‘यही जीवनकालमा मावामा पानी नटेकी वारिपारि गरिएला जस्तो लागेको थिएन’ निरौलाले भने, ‘खोलाको बाढीमा बग्दै डुबेका ती दिनका पीडाहरू बिर्साउने गरी पुल बन्यो । साह्रै खुसी लागेको छ ।’


ढिलै भए पनि मावामा पुल बनाएर सरकारले आफूहरूको दुःख घटाइदिएको मिक्लाजुङ गाउँपालिका ६ मधुमल्ला निवासी भूपेन्द्रराज कार्कीले बताए । ‘मावामा २० वर्ष अघि पुल बनेको भए हाम्रो मधुमल्ला बजार यतिबेला एउटा टाउन बनिसक्थ्यो’ उनले भने । पुल नहुँदा दशकौंदेखि दुःख झेल्दै आएका मधुमल्लावासीले हर्षित हुँदै आइतबार पुल उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीलाई ताम्रपत्रले सम्मान गरे । ‘हाम्रो एउटा सपना पूरा भएको छ । यो पुलका लागि जीवनकालमा धेरै प्रयासहरू गरियो’ मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले भने । पुलले पुरानो मधुमल्ला–दमक–खजुरगाछी सडकलाई जीवन प्रदान गरेको उनले बताए । प्रकाशित : फाल्गुन ६, २०७६ ०९:१४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

च्याम्पिन्स लिग : सबैको चुनौती लिभरपुल

एएफपी

लन्डन — युरोपेली च्याम्पिन्स लिग मंगलबार फेरि फर्कंदै छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल प्रतियोगिताका कायम अरु सबै टिमका लागि सबैभन्दा ठूलो चुनौती रहनेछ । त्यसमाथि लिभरपुल गत वर्ष उपाधि जित्दाको सम्झना हुने गरी एट्लेटिको म्याड्रिडको सामना गर्न मंगलबार राति वान्डा मेट्रोपोलिटानामो फर्कने छ । लिभरपुल ३० वर्षयता पहिलोपल्ट प्रिमियर लिग उपाधि जितको संघारमा छ ।

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा एट्लेटिको म्याड्रिडविरुद्ध हुने पहिलो लेगको खेलअघि अभ्यासरत लिभरपुलका खेलाडी । तस्बिर : रोयटर्स

लिभरपुलले अहिलेसम्म यसपल्टको लिग यात्रामा २ अंकमात्र गुमाएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनल हुनुअगाडि नै अप्रिलको सुरुमा लिभरपुलले प्रिमियर लिग जित्ने औपचारिकता पूरा गरिसक्नेछ । यसपल्ट लिभरपुलसामु ५ उपाधि जित्ने अवसर छ । त्यसमध्ये टोलीले यूईएफए सुपर कप र क्लब वर्ल्ड कप जितिसकेको छ । व्यवस्थापकमा योर्गन क्लोप आएयता लिभरपुलले च्याम्पियन्स लिगमा पनि लगातार राम्रो गरिरहेको छ ।

जर्मन प्रशिक्षकले एनफिल्डमा बिताएका चार सिजनमध्ये सन् २०१६ मा युरोपा लिग फाइनल खेलेको थियो भने त्यसलगत्तै च्याम्पियन्स लिगमा रियल म्याड्रिडविरुद्ध उपाधि भिडन्तमा उत्रेको थियो । दुवैमा लिभरपुल पराजित रह्यो । तर गत सिजन भने लिभरपुलले टोटेनहमलाई हराएर स्पेनी राजधानीमा युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि चुमेको थियो । ‘हामीले यसपल्ट पनि उपाधि जित्ने छौं भनेर दाबी गर्न सक्दैनौं, तर हामी यसका लागि हामी तयार छौं,’ क्लोपले भनेका छन् ।

एट्लेटिको अहिले जुन लयबाट गुज्रिरहेको छ, त्यो आधारमा लिभरपुलका लागि यो बलियो चुनौती भने हुने छैन । प्रशिक्षक डिएगो सिमोनीको भविष्यलाई लिएर ८ वर्षयता पहिलोपल्ट प्रश्न उठेको छ । उपाधि होडमा नरहेको एटलेटिको शीर्ष चारमा स्थान बनाउन पनि संघर्षरत छ । यो सिजन क्लब गोलका लागि संघर्षरत छ । सन् २०१४ र २०१६ को फाइनल खेलेको एट्लेटिकोको डिफेन्स पनि यसपल्ट कमजोर साबित भएको छ ।

लिभरपुल भने पछिल्ला ११ खेलमा लगातार विजयी छ । यसक्रमा टोलीले २४ गोल गरेर एकै गोलमात्र खाएको छ । तर अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लागि भने स्थिति दयनीय छ । सिटीमाथि भर्खरै युरोपेली फुटबल महासंघले प्रतियोगिता दुई वर्ष खेल्न नपाउने गरेर प्रतिबन्ध लगाएको छ । यस्तोमा पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीसामु यसपल्ट उपाधि हात पार्ने एकमात्र अवसर हुनेछ र यसपल्ट पनि सफल नरहेर यसको भविष्यबारे कल्पना गर्न सकिन्न ।

तस्बिर : रोयटर्स

सिटीको प्रतिद्वन्द्वी रियल म्याड्रिड छ । जिनेदिन जिदानको टोली रियल पनि लयमा छ । ला लिगाका पछिल्ला १७ खेलमा रियल अपराजित छ । जिदानले यसपल्ट रियललाई फेरि बलियो र आत्मविश्वासी टिम बनाएको छ । पेरिस सेन्ट जर्मेनले पनि लगातार तीन वर्षको पीडादायी नतिजापछि यसपल्ट अन्तिम १६ मा आफ्नो चुनौती नवीकरण गर्न मंगलबार नै बरुसिया डर्टमन्डको भ्रमणमा जानेछ । डर्टमन्ड जर्मन बुन्डेसलिगामा अहिले उत्कृष्ट लयबाट गुज्रिरहेको छ ।

बार्सिलोनामा च्याम्पियन्स लिगको नकआउट चरण सामना गर्न प्रशिक्षक क्विक सेटिन आएका छन् । उनीसँग यसअघि च्याम्यिन्स लिग खेलाएको अनुभव नै छैन । बार्सिलोनाले नेपोलीको सामना गर्नेछ । घरेलु सफलतामै चित्त बुझाइरहेको युभेन्ट्सले भने लियोनको भ्रमण गर्नेछ भने बायर्नले चेल्सीको चुनौती आत्मसात् गर्नेछ । अन्य खेलमा एटलान्टा र भ्यालेन्सिया तथा टोटेनहम र लेप्जिगले एकआपसको चुनौती बेहोर्नेछन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×