१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश सरकारका दुई वर्ष : ‘संघीयता कार्यान्वयन मुख्य उपलब्धि’

कान्तिपुर संवाददाता

(मोरङ) — प्रदेश सरकार बनेको दुई वर्ष भएको छ । यो अवधिमा संघीयता कार्यान्वयनलाई सरकारले मुख्य उपलिब्ध मानेको छ । प्रदेश १ सरकारले शनिबार आयोजना गरेको दोस्रो वार्षिकोत्सवमा मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनका लागि तयार पारेका संरचनाले संघीयताको मूल मर्म र भावना अनुसार जनताको आकांक्षा पूरा हुने दरिलो विश्वास जगाएको दाबी गरे ।

प्रदेश सरकारका दुई वर्ष : ‘संघीयता कार्यान्वयन मुख्य उपलब्धि’

‘दुई वर्षअघि प्रदेश सरकारको जिम्मेवारी सम्हालिरहँदा जनताको असीमित चाहनाका बीच हामीसँग बस्ने ठाउँ, काम गर्ने संरचना र जनशक्ति थिएन,’ उनले भने, ‘कानून, नियमावली र कार्यविधि नहुनुका साथै चुनौती, अप्ठयारा र असहजताहरूका बीच स्वाभाविक गति र सिलसिलामा हिँडेर संबिधान र संघीयता कार्यान्वयन गर्नका लागि अत्यावश्यक आधारहरू तयार गरेका छौं ।’


प्रदेश संरचना बलियो बनाउँदा मात्र संघीयता प्रभावकारी हुन्छ भन्ने मर्म र बुझाइसहित प्रदेश सरकार प्रादेशिक संरचनाहरू बनाउन हालसम्म केन्द्रित रहेको राईको भनाई थियो । ‘दुई वर्षमा नयाँ थिति र प्रणाली बसाल्यौं,’ उनले भने, ‘भविष्यका लागि संघीय संरचनाको आधार तयार गर्दै जनताका सबै अपेक्षाहरू पूरा गर्ने यो दुई वर्षका ७ सय ३० दिनमा सम्भव थिएन ।’


तर संघीयता कार्यान्वयनमा ठोस उपलब्धीहरूका साथ प्राप्त सिमित साधन स्रोतहरूको प्रयोग गरी जनताका आकांक्षाहरूको सम्बोधन गर्दै अघि बढिरहेको उनले दाबी गरे । ‘हालसम्ममा ३९ वटा कानुन तर्जुमा गरी कानुन कार्यान्वयन गर्न विभिन्न नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड र गठन आदेशहरूको तर्जुमा गरेका छौं,’ राईले भने, ‘प्रदेशसभाबाट प्रदेश राजधानी सर्वसम्मतले तोक्न सफल भएको र प्रदेशको राजधानी तोक्न भएको सहमति र सहकार्य प्रदेशको नामकरण र प्रदेशको विकास निर्माणका लागि पनि अपेक्षित छ ।’ पूर्वाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १ सय २९ किलोमिटर सडक ग्रोभेल, १० वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको राईले बताए । ‘सिँचाइ सुविधाका लागि १ सय २९ वटा योजना सम्पन्न भएका छन् भने ६ सय ३१ वटा योजना निर्माणाधीन छन्,’ उनले भने, ‘प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा १/१ वटा गरी कुल ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामिण सडक, १ सय २६ वटा मोटरेबल पुल र १ सय ३४ वटा झोलुङ्गे पुल तीव्र रुपमा निर्माण भइरहेको छ ।’


खानेपानीका आयोजना १ सय १० वटा सम्पन्न भएको र ९ सय ४९ वटा आयोजना निर्माणको चरणमा रहेको राईले बताए । ‘प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि जनता आवास कार्यक्रम अन्तर्गत १ सय ७१ वटा घर निर्माणको काम सम्पन्न भएको छ,’ उनले भने, ‘मनमोहन विश्वविद्यालयको स्थापना, जनतासँग प्रहरी कार्यक्रमअन्तर्गत १० लाख घरमा स्टिकर टाँस, परियोजना बैंकको स्थापना, म अघि बढ्छु सगरमाथा टिन्स क्लब अभियानमा तीव्रता, डिजिटल साक्षरता अभियान र अनलाईन शिक्षा कार्यक्रमको सुरुवात, वैज्ञानिक सम्मेलन, स्विटजरल्यान्ड सरकारबाट १ अर्बको सहयोग प्राप्त गर्न सफल भएका छौं ।’


प्रदेश सरकारले संघ र स्थानीय तहमा आधारित सहसम्बन्ध कायम गर्न सफल भएको राईको भनाइ थियो । ‘अन्तर समन्वय परिषद्को बैठकले आपसी समन्वय र सहयोगको विषयमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको छ,’ उनले भने, ‘वित्त व्यवस्थापन तथा हस्तान्तरण, राजश्व संकलन तथा व्यवस्थापनको पक्षमा आपसी सम्बन्ध र सहकारिता कायम भएको छ ।’

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?