२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘मेरा सन्तान यिनै पुस्तक’

सुम्निमा चाम्लिङ

(इटहरी) — धरानमा पुस्तकालय भन्नासाथ पूर्णबहादुर सम्झिइन्छ ।  

‘मेरा सन्तान यिनै पुस्तक’

आफ्ना दिवंगत छोरा कवि विमल गुरुङको स्मृतिमा २०४८ मा स्थापना गरिएको पुस्तकालय उनी निरन्तर रेखदेख गर्दै आएका छन् ।


खोटाङको रावा खोलामा जन्मेका गुरुङ आफैंले बुद्ध चोकमा छोराको स्मृतिमा पुस्तकालय स्थापना गरेका थिए । १६ वर्षसम्म बम र बारुदसँग आफ्नो ऊर्जाशील समय बिताएका उनी तीन दशकयता प्स्तुक स्याहारिरहेका छन् । बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म पुस्तकालयमा भेटिन्छन् । सरसफाइ गर्छन्, पुस्तक व्यवस्थित राख्छन् । ७६ वर्षीय उनी पुस्तकालयमा आउने पाठकलाई दैनिक आफैं चिया बनाएर खुवाउँछन् । उनको रेखदेखमा १२ हजारभन्दा बढी पुस्तक छन् ।


स्थानीयदेखि राष्ट्रियस्तरका पत्रपत्रिका पनि हुन्छन् । पछिल्लो समय पुस्तकालयमा आएर पढ्ने पाठकको संख्या घटिरहेकामा भने उनलाई दुःख लाग्दो रहेछ । ‘दिनहुँ पत्रपत्रिका राखिदिन्छु, सक्दो नयाँ पुस्तक किनेर राख्छु,’ उनले भने, ‘तर पढ्ने मान्छे उति आउँदैनन्, दुःख लाग्छ ।’


पल्टनमा रहँदा सामान्य अक्षर चिन्न र पढ्न सक्ने भएका उनले पुस्तकालय स्थापना गर्छु भन्ने सोचेका थिएनन् । अवकाशपछि उनी ब्रुनाईमा रोजगारीका लागि पुगेका थिए । त्यसको एक हप्तापछि, २०४८ वैशाख २४ गते १९ वर्षीय छोरा विमलको दुर्घटनामा मृत्यु भयो । विमल निकै अध्ययनशील थिए । उनको कोठाभरि राजनीतिदेखि साहित्य र अरू विषयका पुस्तक र पत्रपत्रिका थिए । यो देखेर छोराका पुस्तक संरक्षण गर्छु भन्ने लाग्यो । अनि विदेश नजाने अठोट गर्दै पुस्तकालय खोल्ने योजना बनाएका रहेछन् । सुरूमा विमलका करिब चार सय पुस्तक, कविता र आफैंले ५ हजार रुपैयाँ बराबरको पुस्तक थपेर घरैबाट पुस्तकालय सुरु गरे । केही वर्षपछि उनले जग्गा किनेर बेग्लै पुस्तकालय बनाए । विमलका सिर्जना र पुस्तकहरू उनैले प्रयोग गर्ने आलमारीमा संरक्षण गरेर राखेका छन् । ‘यहाँका पुस्तकलाई छोरो सम्झेर रुँगेर बसेको छु,’ उनले भने, ‘छोरो भने पनि सन्तान भने पनि यही पुस्तकालय त हो ।’


दीर्घकालीन रूपमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि उनले करिब एक करोड बराबरको अक्षय कोष खडा गरेका छन् । कोषबाट आएको ब्याजले पुस्तकालयको खर्च चलेको छ । २०५२ देखि विमलको जन्मयन्ती कात्तिक १९ गतेका दिन साहित्यिक कार्यक्रम गरी उत्कृष्ट स्रष्टालाई पुरस्कृतसमेत गरिँदै आएको छ । निकै माया गरेर पुस्तक स्याहार्ने उनी कसैले पुस्तक घर लगेर फिर्ता नल्याउने गरेको बताउँछन् । ‘कुनै पनि पुस्तक धेरैभन्दा धेरैले पढ्न पाउन् भन्ने लाग्छ,’ उनले भने, ‘तर घर लैजानेहरूले फिर्ता नल्याउँदा दुःख लाग्छ ।’


कतिपयले भने व्यक्तिगत र संस्थागत रूपमा पुस्तक उपहार पनि दिने गरेका छन् । अन्तर्राष्ट्रिय पुस्तकालयबाट समेत पुस्तक पठाइदिने गरेको उनले सुनाए । वार्षिक ५१ हजार बराबरको नयाँ पुस्तक खरिद गर्ने गरिएको छ । विमलले सिर्जना गरेका कविताका दुइटा संग्रह प्रकाशन पुस्तकालयमा राखिएको छ । छोराको सम्झनामा पुस्तकको यति लामो समयदेखि स्याहार गरिरहेकामा श्रद्धा जागृत हुने बेलबारी साहित्य विकास समाजकी अध्यक्ष रेखा सुवेदी बताउँछिन् । उनको योगदानको कदर गर्दै गत साता समाजले गुरुङको सम्मान गरेको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?