कर्मचारी सरुवाले पालिकाहरू समस्यामा

विनोद भण्डारीे

(विराटनगर) — फागुन १० मा गाउँसभा गर्ने तयारी गरेको मोरङ  मिक्लाजुङ गाउँपालिकाले एकाएक सभा सार्ने निर्णय गर्‍यो । कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकासँग समन्वय नै नगरी प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नु ।

कर्मचारी सरुवाले पालिकाहरू समस्यामा

‘तत्कालीन अधिकृत प्रमोदकुमार सिंहले सभाको तयारी गरिरहेका थिए’ गाउँपालिका प्रमुख देवी आचार्यले भने ‘अचानक उनको सरुवा पत्र आएपछि तयारी नपुग्दा सभा नै रोकियो ।’ नयाँ अधिकृतमा लोचन दाहाल बुधवार आइपुगेका छन । आचार्यका अनुसार दाहालले यहाँको अवस्था बुझेर तयारी थालेपछि फेरी सभाको मिती तोक्ने तयारी छ ।


प्रमुख प्रशासकीय अधिकृतको सरुवाका कारण यो गाउँपालिकाको काम कारवाही प्रभावित भएको जनप्रतिनिधिले सम्हालेको अढाई वर्षको अवधीमा यो पहिलो पटक होइन । यो अवधिमा ६ जना अधिकृत फेरिएका छन् । यसले गर्दा गाउँपालिकाको काम प्रभावित हुदै आएको छ । उनीहरू छोटो समयमा सरुवा हुँदा गाउँपालिकाका योजना सञ्चालन, बजेट परिचालन, प्रशासनिकलगायत सबै गतिविधि ठप्प हुने गरेको आचार्यको भनाई छ ।


प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरमा पनि अढाई वर्षको अवधिमा पाँच पटक प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन । १० महिनाअघि आएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको साताअघि सरुवा भएको सूचना सार्वजनिक भएलगत्तै मन्त्रालयले सरुवा पुनः रोक्यो ।


महानगरले माघ अन्तिम साता नगर सभागर्ने तयारी गरेको थियो । ‘प्रमुख प्रशासकीय अधिकृतको सरुवाको सूचनाले सभा रोकियो’ महानगर प्रमुख भीम पराजुलीले भने ‘महानगर सम्हालेको अढाई वर्षमा मन्त्रालयले समन्वय नै नगरी पाँच पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा पटक पटक महानगरका गतिविधि ठप्प भएका छन् ।’


सरुवा भएर आएका अधिकृतलाई महानगरको वस्तुस्थिति बुझनै एक महिना लाग्ने गरेको उनले सुनाए । ‘एक महिनापछि बल्ल काम गर्न सुरु हुन्छ, तर ६ महिना नबित्दै सरुवा पत्र आउँछ’ पराजुलीले भने ‘त्यसपछि आउने अधिकृतलाई पनि वस्तु स्थिति र अधिल्लाले गरेका कामको अवस्था बुझन एक महिना लाग्छ ।’ छिटो छिटो सरुवाले महानगरका सबै गतिविधि प्रभावित हुँदै आएको उनले बताए ।


मोरङकै लेटाङ नगरपालिकामा पनि जनप्रतिनिधि आएयता ६ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन । त्यस अवधिमा एक प्रशासकीय अधिकृतको त हाजिर भएको १५ दिन नबित्दै सरुवा पत्र आएको नगरप्रमुख शंकर राईको भनाइ छ । आफूले नगरपालिका सम्हाल्दा नारायण न्यौपाने प्रमुख प्रशासकीय अधिकृत थिए । उनी चार महिनामा सरुवा भए । त्यसपछि पुण्य पौडेल आए ।


उनको पनि ६ महिनामा सरुवा भयो । राईले भने पौडेलपछि हरी चापागाईं आए । उनको पछि आधा वर्षमै सरुवा भयो । चापागाईंपछि प्रदीप सिंह आए । उनी हाजिर भएको १५ दिनमै सरुवा पत्र आयो । त्यसपछि ध्यानबहादुर थापा आए । उनको पनि चाँडै सरुवा भयो । महिनाअघि अच्युत दाहाल आएका छन् ।


सुन्दर हरैचा नगरपालिकामा अढाई वर्षमा ६ पटक प्रशासकीय अधिकृतको सरुवा भएको छ । चाँडो सरुवा भएर आएका अधिकृत सरकारका केही व्यक्तिको इसारामा चल्दा काम प्रभावित भएको प्रमुख शिवप्रसाद ढकालले बताए । कटहरी गाउँपालिकामा पाँच पटक प्रशासकीय अधिकृत फेरिएको प्रमुख रामकुमार कामतको गुनासो छ ।


मोरङमा एक महानगर, आठ नगरपार आठ गाउँपालिका छन । प्रमुख प्रशासकीय अधिकृतको सरुवा आतंकले विकास निर्माण गतिविधि प्रभावित हुदै आएको जिल्ला समन्वय समिति सभापति नरेश पोखरेलको बुझाई छ । अधिकृतहरूको छिटोछिटो सरुवा हुँदा र जनप्रतिनिधिहरूले आफूलाई शासक ठान्दा जिल्लाका स्थानीय तहमा विकासले गति लिन नसकेको पोखरेलको दाबी छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?