कोशीमा सञ्चालित ७ जेटबोट अनिश्चितकालका लागि बन्द

प्रदीप मेन्याङ्बो

सुनसरी — कोशी नदीमा तीन वर्षदेखि सञ्चालन हुँदै आएका जेटबोट बिहीबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन् । बराहक्षेत्रका केही उछृंखल स्थानीय युवाहरुले कमिसन माग्ने, नदिए बीचैमा जेटबोट बाँधेर रोकिदिने, डर त्रास धाक धम्की दिनेक्रम बढेपछि असुरक्षा बढेको भन्दै जेटबोट सञ्चालन बन्द गरेको हो ।

कोशीमा सञ्चालित ७ जेटबोट अनिश्चितकालका लागि बन्द

कोशीमा जेटबोट चल्न बन्द भएपछि आन्तरिक र वाहृय पर्यटकहरुले जलयात्र नगरी फर्कन थालेका छन् । भोजपुर र धनकुटाबाट सुनसरी उदयपुर आउने जाने स्थानीय यात्रुहरु पनि अक्करे भिरको बाटो घन्टौं लगाएर पैदल यात्रा गर्न बाध्य भएका छन् । कोशीमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार जल यातायात कम्पनीले तीनवटा लामो दुरीका र चारवटा छोटो दूरीका जेटबोट सञ्चालन गर्दै आएका छन् ।


कोशीमा १५ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट सञ्चालनमा आएपछि तराई र पहाडको दूरीलाई जलमार्गले घटाएर स्थानीय यात्रुलाई सुविधा दिएको थियो भने जल यात्रा गर्न मनपराउने पर्यटकलाई मनोरन्जन दिएको थियो । नेपाल जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले भने, ‘देश भित्रका ठूला नदीमा सरकारलेसमेत पानी जहाज सञ्चालन गर्ने योजना बनाएपछि हामी युवाहरु पनि हौसिएका थियौं । तर आवश्यक कानुन, निति र सञ्चालन विधि नै अहिलेसम्म नबनेपछि स्थानीयबाटै असुरक्षित महसुस भएर बन्द गर्नुपर्‍यो ।’


नेपाल जल यातायात व्यावसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका श्रेष्ठले करोडौं रुपैयाँ लगानी गरेर कोशीमा विभिन्न कम्पनीले जेटबोट सञ्चालन गर्दै आएका छन् । तर जल यातायातका लागि सरकारले यात्रु र सञ्चालक कम्पनीको सुरक्षा निति नबनाउँदा स्थानीयबाटै पिडित हुन परेकाले जेटबोट, यात्रु र आफुहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म बन्द गर्ने बताए ।


नेपाल रिभर ट्रान्सपोर्ट प्रालिका अध्यक्ष अनिष थापाले भने, ‘जल यातायात सम्बन्धी सरकारले बोलेजस्तै स्पस्ट नीति ऐन वा निर्देशिका बनाएर लागु गरेको भए जेटबोट सञ्चालक कुनै पनि कम्पनी सोही नीति अनुसार चल्ने र स्थानीय केही उछृंखल युवाहरुले अवरोध गर्न नसक्ने अवस्था हुन्थ्यो ।’ उनले गतसाता बंगलादेशबाट आएका १४ जना पर्यटक बोकेको जेटबोटलाई उछृङ्खल युवाहरुले त्रिवेणीमा ६ घन्टा रोकेर अनावश्यक तनाव दिएको बताए । ती उछङ्खल युवाहरुले दादागिरी देखाउँदै जेटबोट सञ्चालक कम्पनीबाट कमिसन पाउनुपर्ने, बुकिङ काउन्टर खोल्न दिनुपर्ने, रोजगारी पाउनुपर्ने र स्थानीय बासिन्दाले नियमित रुपमा निशुल्क जलयात्र गर्न पाउनुपर्ने जस्ता माग राखेर विदेशी पर्यटक बोकेको जेटबोट बीचैमा रोकेको थापाले बताए ।


उनले भने, ‘कोशीमा जेटबोट सञ्चालनमा आएपछि बराहक्षेत्र र आसपासमा आन्तरिक र वाह्य पर्यटक बढेका छन् । स्थानीय बासिन्दाले सुविधा पाएका छन् । दैनिक ३ सय बढीले जलयात्रा गर्ने अवसर पाएका छन् । तर जेटबोट सञ्चालक कम्पनीलाई कमाइ खाएको मात्र देख्नेहरुले सहज रुपमा चलाउनै नदिएपछि आजित भएर बन्द गर्नु परेको छ ।’


कोशीमा ३० सिटको एउटा जेटबोट सञ्चालन गर्दै आएको सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका अध्यक्ष राजेन्द्र कार्कीले जेटबोट सञ्चालनमा स्थानीय अराजक युवाहरुको अवरोध नहटेसम्म कोशीमा जलयात्रा असुरक्षित देखिएकाले बन्द गर्न बाध्य भएको बताए । उनले राज्यले जेटबोट सम्बन्धी आवश्यक कानुन बनाएर सुरक्षा उपलब्ध नगराएसम्म अनिश्चितकालको लागि बन्द गरिएको बताए ।

प्रकाशित : फाल्गुन १, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?