१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

हाटबजारका जग्गा अतिक्रमण

डिल्लीराम खतिवडा

उदयपुर — बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा सार्वजनिक स्थान अभावमा साप्ताहिक हाटबजार मासिंदै गएका छन् । साप्ताहिक हाट बजारका लागि छुट्याइएका सार्वजनिक जग्गा अतिक्रमणले खुम्चिएपछि सातामा लाग्ने बजार मासिएको हो ।

हाटबजारका जग्गा अतिक्रमण

सडक ग्रामीण क्षेत्रमा बजार विस्तार हुँदै गएपछि सप्ताहिक हाट भर्न ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउन छाडेका छन् । हाट लाग्ने चलन घट्दै गएकाले हाटका लागि छोडिएका जग्गा पनि अतिक्रमण हुँदै गएको हो ।


गाउँघर विशेष गरेर दुर्गममा दैनिक उपभोग्य वस्तु लगायतको सेवा प्रभावकारी नहुँदा साप्ताहिक हाट लाग्ने गर्छन् । पहिले–पहिले सर्वसाधारणसँग रकम अभाव हुने र बजारसम्म पुग्न स्रोत साधन नहुने भएकाले साप्ताहिक हाटमै अत्यावश्यक सामग्री किन्ने गरिन्थ्यो । निजी तथा सरकारी स्तरबाटै साप्ताहिक हाटका लागि छुट्याइएका जग्गा अतिक्रमण भएका छन । स्थानीय तहले हाट लाग्ने स्थान मासेर पार्क, स्तम्भ र अरू काममा प्रयोग गरिएको छ ।


‘केही वर्षअघिसम्म दैनिक उपभोग्य वस्तु भनेको समय सजिलै उपलव्ध हुँदैन थियो’ बेल्टारकी निरु दमाईले भनिन, ‘त्यसैले साता दिनसम्म पुग्ने जोहो गर्नुपर्थ्यो ।’ त्यसका लागि बिहीबार बेल्टारमा लाग्ने सप्ताहिक हाट नै पर्खनु पर्थ्यो । बिहीबारको हाट छुट्यो भने भोलिपल्ट सप्तरीको फत्तेपुरमा लाग्ने शुक्रबारे हाट, त्यो पनि छुटे फत्तेपुरमै लाग्ने सोमबारे हाट जानुको विकल्प नभएको उनले बताइन् । बेल्टारमा बिहीबार, फत्तेपुरमा शुक्रबार र सोमबार, रामपुरठोक्सिलामा शनिबार, गाईघाटमा बुधबार र कटारीमा शुक्रबार हाट लाग्ने गरेका छन् । तर अचेल लाग्ने सप्ताहिक हाट परम्परा धान्नेमात्रै भएको स्थानीयले बताए ।


‘व्यापारी पनि घरघरै पुगेर सेवा दिन थालेका छन्’ त्रियुगा नगरपालिका १३ असारीका प्रमोज दाहालले भने ‘व्यापारी दैनिक के के चाहियो भन्दै घरमै आउँछन् ।’ पहाडी क्षेत्रमा दुई दिन लगाएर साप्ताहिक हाट भर्न आउने चलन थियो । ‘१० वर्ष पहिलेसम्म खोटाङका सर्वसाधरण दुई दिन हिंडेर उदयपुरको बेल्टार बजारमा बिहीबार लाग्ने हाट भर्न आउँथे’ स्थानीय ८३ वर्षीय मानबहादुर राउतले भने, ‘दुई/चार पाथी नून, मरमसला र मट्टीतेल लिन बेल्टारको सप्ताहिक हाट आउनुपर्थ्यो ।’


गाउँ गाउँमा पनि बजार विस्तार हुदै गएका छन् । त्यसैले साप्ताहिक हाटको चलन घटेको चौदण्डीगढी ५ का वडाध्यक्ष देवनारायण चौधरीले बताए । ‘पहिले/पहिलेका साप्ताहिक हाटको धेरै महत्व हुन्थ्यो’ त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगतले भने, ‘अचेल हाटहरू तरकारी किन्ने र न्यून आय भएका सर्वसारधाणको गुजारा गर्ने माध्यममात्रै भएका छन् ।’

प्रकाशित : फाल्गुन १, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?