व्यावहारिक शिक्षा लिँदै विद्यार्थी
(मोरङ) — एक प्राविधिक शिक्षालयको परिसरमा विद्यार्थीको समूह पर्खाल बनाउन व्यस्त छ । ‘जागिरका लागि पटकपटक लिखित एवं मौखिक परीक्षा दिंदा समेत सफल नभएपछि १८ महिने सर्भे इन्जिनियरिङ पढिरहेको छु,’ २९ वर्षीय सुबोध सरदारले भने, ‘यही विषयको प्रायोगिक कक्षा अर्न्तगत सही नाप लिन, घरपर्खालको डिजाइन गर्न र त्यसअनुरुप गिटी, बालुवा, इँटा तथा सिमेन्टको सही मात्रामा प्रयोग गर्न सिकिरहेका छौं ।’
यसको पाठ्यक्रममा कित्ता नापी, कम्प्युटरमा कित्ता काट, निर्माणको डिजाइनिङ र त्यसलाई चाहिने सामग्रीको परिमाणबारे ज्ञान दिइन्छ । यो विषयको दक्ष जनशक्तिको बजारमा निकै माग रहेको मोरङको जहदा गाउँपालिका–६, पोखरिया बस्तीका उनले बताए ।
‘प्राविधिक एसएलसी स्तरको यो प्रमाण–पत्र पाए पछि सरकारी जागिर खोज्दै हिंडनु पर्दैन,’उनी भन्छन्,‘गाउँघरमै प्रशस्तै काम पाइन्छ ।’ स्वतन्त्र रुपले पनि यो काम गर्दा मासिक औषत १ लाख रुपैयाँ कमाउन सकिने उनी अनुभव सुनाउँछन् । सरदारले एसएलसीपछि व्यवस्थापनमा दश जोड दुई उत्तीर्ण गरे । बीबीएस पढे ।
निजी इन्ष्टिच्यूट खोलेर एघारबारह कक्षाकालाई पढाए । एक गैर सरकारी संस्थाको तर्फबाट नेपाल टेलिकममा डाटा इन्ट्रिको काम गरे । २०७१ मा गाउँमा जनहित विकास समाज नामक संस्था खोले । यि सबै सँघर्षबीच शैक्षिक योग्यता अनुरुप सरकारी सेवामा प्रवेशकालागि तीन विभिन्न पदमा आवेदन गरे, जाँच दिए तर जागिर पाएनन् । अनि अनुभवी साथीहरूसँग मिलेर २०७३ मा विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा लेखापढी व्यवसाय गरे । ‘काम त सिकेँ तर प्रमाणपत्र नहुँदा नापीको कागतमा हस्ताक्षर गर्ने अधिकार थिएन, त्यहि भएर पढ्ने ठाउँ खोज्न थाले, मोरंगमा यो विषयको पढाइ हुँदैन्थ्यो ।’
घर नजिकैको जहदा गाउँपालिका–४ स्थित प्राविधिक शिक्षालय शैलजा आचार्य स्मृति पोलिटेक्निकमा यो वर्ष यो विषयको अध्यापन सुरु भएपछि उनी भर्ना भए । ग्रामीण भेकका विद्यार्थीलाई लक्षित गरी स्थापना भएको उक्त कलेजमा यसै पटक सुरु भएको सर्भे इन्जिनियरिंग विषयमा उनी जस्तै विभिन्न संकायबाट दश जोड दुई र स्नात्तक उत्तीर्ण ३७ जना अध्ययनरत छन् ।
‘मोरङमा हाम्रो प्राविधिक शिक्षालयमा मात्र यो विषयको पठ्नपाठन भइरहेको छ,’उक्त पोलिटेक्निकका प्राचार्य सन्तबहादुर अधिकारी भन्छन् । सबै उमेर, लिंग, वर्ग, क्षेत्र र जातिका बेरोजगार युवायुवतीले पढिरहेको उनी बताउँछन् । ‘पढेर नापी सम्बन्धि काम गर्ने दक्ष जनशक्ति अभाव छ,’ उनी भन्छन्, ‘सहजै यस्ता प्राविधिक नपाउँदा जग्गाको नापी गराउनलाई सर्वत्र अहिले पालो कुर्नुपर्ने अवस्था छ ।’
सर्भे इन्जिनियरिंगमा मात्र नभएर अन्य प्राविधिक विषयमा समेत विज्ञान, व्यवस्थापन र कला संकाय एवं अन्य पेसाबाट आएका विद्यार्थीको सूची यहाँ लामै छ । सुनसरीको गढी गाउँपालिका–२, भमरी बस्तीका २१ वर्षीय निरज साहले २०७१ मा एलएलसी पछि कम्प्युटर विज्ञानबाट दश जोड दुई उत्तीर्ण गरे । उनको इन्जिनियर बन्ने चाहना थियो । छात्रवृतिमा नाम निकाल्नलाई छ महिना काठमाडौं बसेर पढे । थप तीन महिना घरमै तयारी गरीे पुल्चोक इन्जिनियरिंगमा जाँच दिए तर शुल्क तिरेर पढ्न पाउने सूचीमा नाम निस्कियो ।
काठमाडौं बसेर पढ्न चाहिने १५ लाख रुपैयाँ खर्च गर्न सक्ने क्षमता परिवारको थिएन । यसपछि विदेश जाने मनसायले जापानी सिके । २०७५ मा जापानी भाषाको लिखितमौखिक परीक्षामा उत्कृष्ट भए तर जापान सरकारले सहमती पत्र पठाएन ।
सबै प्रक्रियापछि पनि जापान जान नपाएपछि साहले अहिले यो प्राविधिक शिक्षालयमा कृषि विषयमा १८ महिने जेटिए पढ्दैछन् । ‘खाली समय थियो, छोटो पाठ्यक्रम भएकोले पढ्दैछु तर जापान जानकालागि पुनः कोसिस गर्छु,’साह भन्छन्,‘फेरि पनि भएन भने गाउँमै जेटिएको अभ्यास गर्छु ।’ उनको आँट र सकारात्मक सोचबाट सबै जना प्रभावित भएको शिक्षक गोविन्द गुरुङ बताउँछन् ।
प्रकाशित : माघ २६, २०७६ ०९:४२