१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पूर्वाधार विकासले चम्कँदै इनरुवा

जितेन्द्र साह

इनरुवा, सुनसरी — चिटिक्क परेको फराकिलो सडकको दुबै छेउमा फूलैफूलका गमला । सुनसरीको इनरुवा नगरपालिका–३, अदालत रोडको दृश्य हो यो । ‘सडक र नाला नहुँदा दुई वर्ष अघिसम्म वर्षायाममा यो ठाउँ डुब्थ्यो, घुँडासम्म पानी हुन्थ्यो,’ स्थानीय २४ वर्षीय राजन भुजेलले भने । 

पूर्वाधार विकासले चम्कँदै इनरुवा

सहरी विकास आयोजना र नगरपालिकाले बाटो बनाइदिएपछि टोल विकास समितिले झन्डै ५० हजार रुपैयाँ जुटाएर फूलका गमला राखेको उनले बताए । स्थानीय युवाको क्लब शान्तिदीप नेपालका सचिव रहेका भुजेलले भने, ‘व्यवस्थित सडक र बिजुलीले बस्तीको मुहार फेरिएकोमा स्थानीयमा उमंग छ ।’


नगरपालिका कार्यालयले स्थानीयलाई सहभागी गराउन थालेपछि यो दुई वर्षमा इनरुवामा पूर्वाधार विकासका धेरै काम सम्पन्न भएको र धेरै जारी रहेको स्थानीय ४३ वर्षीय तीर्थ दाहालले बताए । तर पछि पारिएको यो ठाउँलाई विराटनगर, धरान र इटहरी बजारसँग तुलना गर्नु बेइमानी हुने उनले बताए ।


‘विकासको मामिलामा शून्यको गतिमा रहेको यो थलोमा दमदार सुरुवात भएकोमा स्थानीय बासिन्दा खुसी हुनुपर्छ,’ दाहालले भने, ‘तर यहाँका एक समूहले राजनीतिक पूर्वाग्रहका कारण सकारात्मकभन्दा नकारात्मक कुराको प्रचार गरी नगरको बदनाम गरिरहेका हुन्छन् ।’ ६३ हजार ५ सय ९१ भन्दा बढीको बसोबास भएको यो नगरको विकासका लागि सकारात्मक सोच जरुरी रहेको उनले बताए ।


अहिले नगरमा निकै कम कच्ची मार्ग रहेको इनरुवा–४, इनरुवा बस्तीकी गृहिणी ३९ वर्षीया मञ्जुदेवी मेहताले बताइन् । उनले खुशी हुँदै कच्चीबाट ग्राभेल र ग्राभेलबाट कालोपत्रे भइरहेको सुनाइन् । ‘निर्माण कार्यले गति लिएको छ, धेरै काम भएको छ र धेरै बाँकी पनि छ,’ उनले भनिन्, ‘नेता र जनप्रतिनिधिलाई मात्र गाली गरेर हुँदैन, जनता स्वयं पनि सचेत हुनुपर्छ ।’


नगरपालिका एवं स्थानीयको श्रमदानबाट इनरुवा–६, मधेसाको दलित बस्तीमा नौ पक्की घर निर्माण भएका छन् । सात पुस्तादेखि फुसको घरमा बस्दै आएका ५५ वर्षीय गणेश मोचीसँग अहिले तीन कोठे पक्की घर छ जहाँ ८ सदस्यीय परिवारसहित उनी बस्छन् ।


‘हाम्रा लागि इनरुवामा सबथोक छ, पहिले परालको छाना भएको घरमा बस्थें, एक वर्षदेखि पक्कीमा बस्न पाएको छु,’ मोचीले भने । अँधिया वा जग्गा भाडामा लिएर खेती गर्ने मोची परिवारको पनि यो घरमा ५५ हजार रुपैयाँ लगानी छ । ‘यति रकमले घर नबन्ने हुनाले नगरपालिकाले सहयोग गर्‍यो,’ उनले भने ।


वर्षामा हिलामय र घाम लागेपछि धुलाम्य हुने इनरुवा–२ स्थित बिहीबारे हाटको पनि स्वरूप फेरिएको छ । यहाँ नालासहितको सडकसँगै १७ वटा टहरा निर्माण भएका छन् । ‘पानी पर्दा पहिले जस्तो यो हाटमा दौडादौड हुन्न, ओत लाग्ने प्रशस्तै ठाउँ छ, सुविधा भए पछि व्यापार पनि बढेको छ,’ स्थानीय ५४ वर्षीय देवनारायण पण्डितले भने ।


गाईबस्तुबाहेक सबथोक भेटिने यो हाटमा किनबेचका लागि सुनसरीको देवानगन्ज, कप्तानगन्ज, इटहरी, दुहबी र धरानसम्मका नागरिक आउने गरेकाले पूरा भरिभराउ हुने गरेको पण्डितले बताए । तीन वर्षको अवधिमा इनरुवामा यति धेरै पूर्वाधार विकास भएको सुनसरीको धरान–१४, विजयपुरका ४९ वर्षीय राजेश खड्काले बताए । ३० किमि पूर्वको धरानबाट आइजाई गर्ने उनी इनरुवाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा लेखापाल हुन् । विराटनगरको वरगाछीबाट २८ किमि पश्चिमोत्तरमा इनरुवा छ ।


अहिले इनरुवा–४ मा आधुनिक बसपार्क, रेडक्रस भवन र छाडा एवं दानमा दिएको गाईबस्तु राख्ने गौशाला निर्माण भएको छ । सहरी विकास आयोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा निर्मित बसपार्कका लागि स्थानीयले एक बिघा जग्गा दान दिएका थिए । नगरपालिकाको अगुवाइमा इनरुवा–२ मा यूएन पार्क र इनरुवा–६ मा कभर्ड हल निर्माण भइरहेको छ । ठाउँठाउँमा सडकनाला बनिरहेको छ ।

प्रकाशित : माघ २४, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?