कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेयरको मनोमानीमा सांसदको साथ

विनोद भण्डारी

(विराटनगर) — मोरङको सुनवर्षी नगरपालिकामा सरुवा भएर आएका कार्यकारी अधिकृतलाई हाजिर हुन नदिनमा त्यस क्षेत्रका सांसद तथा कांग्रेस केन्द्रीय नेता मीनेन्द्र रिजालको पनि भूमिका पाइएको छ । सुनवर्षी नगरपालिका मोरङको क्षेत्र २ मा पर्छ । यो क्षेत्रमा रतुवामाई नगरपालिका पनि पर्छ ।

नगरका तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएपछि रौतहटको चन्द्रपुर नगरबाट सुरुवा भएर पुस २८ मा सुनवर्षी आएका पुरुषोत्तम घिमिरेलाई मेयर कालीप्रसाद दासले हाजिरी गर्न दिएका छैनन् । हाजिरी गर्ने रजिस्टर दासले गायब गरेपछि नगरका कुनै कर्मचारीले एक महिनादेखि हाजिरी गर्न पाएका छैनन् । घिमिरेले नयाँ रजिस्टर किनेर त्यसैमा हाजिरी जनाउँदै आएका छन् । ‘मेयरले रजिस्टर गायब पारेपछि मैले सांसद मीनेन्द्र रिजाललाई फोन गरेर रौतहटबाट हजुरको क्षेत्रको सुनवर्षीमा काम गर्न आएको छु तर मेयरले हाजिर हुन दिएनन् भनेर जानकारी गराएँ,’ घिमिरेले भने, ‘रिजालले पनि सुनवर्षीमा लफडा छ, त्यहाँ धेरै पुराना काम फत्ते गर्न र भुक्तानी गर्न बाँकी छ, काम गर्न सजिलो छैन भन्दै रतुवामाई नगरपालिका जान भन्नुभयो ।’


रतुवामाई पनि आफ्नै क्षेत्रमा पर्ने भन्दै रिजालले त्यहाँ गएर काम गर्न र त्यसका लागि सामान्य प्रशासन मन्त्रालयमा कुरा बढाउन भनेको उनले बताए । काठमाडौंमा रहेका सांसद रिजालले भने यस विषयमा कार्यकारी अधिकृत घिमिरेसँग कुरै नगरेको दाबी गरे । ‘म घिमिरेलाई चिन्दै चिन्दिनँ,’ उनले आक्रोशित हुँदै भने, ‘निजामती कर्मचारीलाई कहाँ राख्ने, कहाँ नराख्ने सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी हो, मेरो काम होइन ।’


यसैबीच मेयर दासले नियमित सरुवा भएर आएका घिमिरेलाई बिहीबार पनि हाजिर हुन नदिई नगरको शिक्षा शाखा प्रमुख उपसचिव रुद्रप्रसाद दुलाललाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएका छन् । पत्र पठाएलगत्तै मेयर दासले सांसद रिजाललाई यसको जानकारी टेलिफोनमार्फत गराएको नगर स्रोतले बतायो । स्रोतका अनुसार फोनमा दासले ‘सबै प्रक्रिया मिलाएको छु, बाँकी तपाईंको काम’ भनेका थिए ।


दासले हस्ताक्षर गरेर मन्त्रालय पठाएको चलानी नम्बर ११२९ को पत्रमा भनिएको छ, ‘यस नगरपालिकामा विगतका वर्षदेखि छोटो समयमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भई आउने–जाने क्रमले नगरको काम कारबाही प्रभावित हुँदै गरेको र प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी नगराइन नगरपालिका धनुषा सरुवा भई गएका कारणले प्रमुख प्रशासकीय अधिकृतको स्थायी व्यवस्थापनका लागि यसै नगरपालिकामा समायोजन भई आउनुभएका उपसचिव रुद्रप्रसाद दुलाल संकेत नम्बर १६१७०६ लाई दैनिक प्रशासनिक कामकाज गर्न निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हुँदा निजलाई आर्थिक कामकाज गर्ने अख्तियारी प्रदान गरी नगरको नियमित कार्य सञ्चालनको व्यवस्था गरिदिन अनुरोध गरिएको छ ।’


बिहीबार पनि घिमिरे नयाँ रजिस्टरमा हाजिरी गरेर नगरपालिकामै बसेका थिए । कार्यकारीले हाजिरी गर्ने रजिस्टर मेयर दासकै इसारामा गायब पारिएको र कार्यपालिकाका सबै सदस्य घिमिरेलाई हाजिर गराउने पक्षमा भए पनि मेयर मात्र विपक्षमा रहनु रहस्यमय भएको उपमेयर मञ्जु राईले बताएकी छन् । उनका अनुसार मेयर र कार्यकारीको विवादले एक महिनादेखि नगरका सबै गतिविधि ठप्प छन् ।


गत वर्ष यो नगरको ४ करोड विकास बजेट फ्रिज हुनुका साथै १२ करोडभन्दा बढी बेरुजु रहेको नगर स्रोतको भनाइ छ । स्रोतका अनुसार गत वर्ष ससर्त अनुदानको दुई करोड, प्रदेश सरकारको अनुदान १३ लाख र सांसद विकास कोषको २८ लाख रुपैयाँ फिर्ता गएको थियो ।

प्रकाशित : माघ २४, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?