प्रदेशसभाको २ वर्ष : राजधानी टुंगो, नाममा सकस  - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभाको २ वर्ष : राजधानी टुंगो, नाममा सकस  

आज पाँचौं अधिवेशन सुरु हुँदै गर्दा साँघुरो कक्षमा कोचिएर बैठक बस्नुपर्ने बाध्यता टरेको छैन । अहिलेसम्म बनेका ३९ कानुनलाई नै मुख्य उपलब्धि मान्नुपरेको छ । थप चार विधेयक दर्ता गरिएका छन् ।
देवनाराण साह

विराटनगर — प्रदेश १ सभा गठन भएको दुई वर्ष पूरा भई बुधबार तेस्रो वर्षमा प्रवेश गरेको छ । ०७४ माघ २२ गतेबाट सुरु भएको प्रदेशसभाको ४ वटा अधिवेशन सकिएर बिहीबार पाँचौं हिउँदे अधिवेशन सुरु हुँदैछ ।दुई वर्षमा १ सय ८० वटा बैठक बसेको प्रदेशसभा १ सय ८२ घण्टा ८ मिनेट चल्दा ३९ वटा विधेयक पारित भएको छ । ४ वटा विधेयक संशोधन भएका छन् । प्रदेशसभाले एउटा नियमावली पारित गरेर त्यसलाई संशोधनसमेत गरेको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशनले प्रदेशको राजधानी विराटनगर तोकिसकेको छ । नामकरण भने अझैसम्म हुन सकेको छैन । प्रदेशसभामा विभिन्न सात वटा समिति गठन भई सरकारको निगरानी गरी सुझाव र निर्देशन दिन थालेका छन् । प्रदेशसभामा टेबल भएका विधेयकहरूलाई दफाबार छलफलका लागि समितिहरूमा लग्न थालिएको छ ।


कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच हुँदै आएको सहमति र सहकार्य प्रदेशसभाको चौथो अधिवेशनको अन्त्यतिरबाट भंग भएको छ । लोकसेवा आयोग विधेयक र सामाजिक विकास मन्त्रालयले ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सतापक्षले बहुमतले पारित गरेका थिए । त्यसअघिसम्म विधेयकहरू सर्वसम्मत पारित हुँदै आएको थियो ।


लोकसेवा आयोग विधेयकमा संघीय समाजवादीले आयोगको सदस्य संख्या थप गर्ने अडान लिँदा विधेयक बहुमतले पारित गरेको थियो । यस्तै, प्राविधिक विश्वविद्यालयसम्म्बन्धी विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले विधेयकलाई अझै परिपक्व बनाएर पारित गर्नुपर्ने अडान लिएपछि बहुमतले पारित गरिएको थियो । प्राविधिक विश्वविद्यालय विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्मा अवरोध, बेल घेराउका साथै संसद्मा नाराबाजीसम्मको अवस्था सिर्जना भयो ।


प्रमुख प्रतिपक्षी दल कांग्रेसले चौथो अधिवेशनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसमेत प्रदेशसभामा दर्ता गराएर छलफल गराएको थियो । बाढी पहिरोबाट भएको क्षति र त्यसबाट प्रभावितलाई राहतलगायतको सहयोग गर्नुपर्ने प्रस्ताव दर्ता गराएको थियो । सत्तारूढ दलका प्रदेशसभा सदस्य एवं प्राकृतिक स्रोत तथा भौतिक पूर्वाधार समितिका सभापति सर्वध्वज साँवाले छिटोछिटो विधेयक सदनबाट पारित गराउने काम हुँदै आएको भन्दै पारित भएकामध्ये ४ वटा विधेयक संशोधन गर्नुपरेको बताए । ‘आवश्यकताअनुसार छलफल तथा तर्क वितर्क गर्न सकेमात्रै राम्रा विधेयकहरू बन्न सक्छ,’ उनले भने, ‘हतारोमा विधेयकहरू पारित गराएकै कारण कतिपय विधेयकहरू हालसम्म कार्यान्वयनमै आउन सकेको छैन ।’


यो अवधिमा प्रदेशसभा भवन निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । प्रदेशसभा भवन निर्माण नहुँदा दुई वर्षदेखि वर्षायाममा प्रदेशसभा अवरुद्ध हुँदै आएको छ । प्रदेशसभामा हालसम्म पुस्तकालय, संसद्हरू भेला हुने र छलफल गर्ने ठाउँसमेत अभाव छ । तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा स्थापना भएको प्रदेशसभा सचिवालय साँघुरो छ । प्रदेशसभा बैठक कक्षमा सांसदहरू अटेसमटेस गरेर बस्नुपर्ने अवस्था छ । ‘विधेयक, ऐन, नियम बनाउनमा प्रदेशसभा अगाडि भए पनि भौतिक संरचनामा कमजोर छ,’ साँवाले भने, ‘व्यवस्थित प्रदेशसभा भवन नभएकाले सांसदहरूले एक ठाउँ भेला भएर छलफल गर्न सकिरहेका छैनौं ।’


प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेशसभा गठन भएको दुई वर्षमा निर्माण गरेका कानुनहरू कार्यान्वयन नगरी सरकारले कार्यविधि, निर्देशिका, मार्गदर्शन बनाएर मनोमानी रूपमा काम गर्दै आएको आरोप लगाए । ‘प्रदेशसभाले कानुन बनाउने तर सरकारले त्यसको कार्यान्वयन नगर्ने परिपाटी बस्दै छ, यो राम्रो होइन,’ उनले भने, ‘सभामुख प्रदीपकुमार भण्डारी निष्पक्ष, तटस्थ भए पनि प्रदेशसभामा सरकारको दबाब र नियन्त्रण देखिएको छ ।’ विधेयकहरू संसद्‍मा टेबल भएदेखि सरकारले दुई तिहाइको दम्भमा ह्वीप लगाएर विधेयक पारित गराउने काम भइरहेकाले अपरिपक्व विधेयक बन्ने गरेको कार्कीको भनाइ छ ।


प्रदेशसभा बैठक कक्षमा सांसदहरूलाई बस्ने राम्रो कुर्सी र झोला, विधेयक, डायरी राख्ने टेबलसमेत नभएको अवस्थामा संसद् चलिरहेको कार्कीको भनाइ थियो । प्रदेशसभाको सानो बैठक कक्षमा ९३ जना सांसद खाँदिएर बस्ने बाध्यात्मक अवस्था रहेको उनले सुनाए ।प्रदेशसभाको मुख्य समस्या बैठक कक्ष भए पनि आर्थिक वर्ष २०७५/७६ मा भवन निर्माणका लागि छुट्याएको दुई करोड रुपैयाँ रकमान्तर गरेर सवारी साधन खरिद गरिएको थियो ।


सभामुख भण्डारीले प्रदेशसभा गठन भएको दुई वर्षमा संसदीय प्रक्रियाबारे अनुभव हासिल भएको बताए । ‘संसद् ऐन, नियम, संविधानले मात्रै नभई अभ्यास र परम्पराका आधारमा समेत चल्लने गरेको अनुभव प्राप्त गर्‍यौं,’ उनले भने, ‘प्रदेशसभा कानुन बनाउन, सरकारको निगरानी गरी सुझाव र निर्देशन दिन सक्षम भएको छ ।’ उनले दुई वर्ष पूरा भएको अवसरमा प्रदेशसभा सचिवलायको वेबसाइट, मोबाइल एप, स्मारिका सार्वजनिक गरे । उनले बिहीबारबाट सुरु हुने हिउँदे अधिवेशनका लागि ४ वटा विधेयक दर्ता भएको बताए । हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण टुंग्याउने भावनाका साथ काम अघि बढाउने भण्डारीले प्रतिबद्धता जनाए । प्रदेश फर्म दर्तासम्बन्धी विधेयक, प्रदेश वन विधेयक, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक औद्योगिक व्यवसायसम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार दर्ता गराएको छ ।


भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गर्न तयार पारेको छ । यस्तै, सामाजिक विकास मन्त्रालयले जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने तयारी गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई वर्षमा सहकारी ऐन २०७६ मात्रै पारित भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि हालसम्ममा पर्यटन विकास ऐन २०७६ पारित भएको हो ।


भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्ममा प्रदेश सिँचाइ ऐन २०७५, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६ र प्रदेश विद्युत् ऐन २०७६ पारित भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हालसम्ममा प्रदेश रेडियो, एफएम सञ्चालन ऐन २०७५ र विपद् व्यवस्थापन ऐन २०७५ पारित भएको छ ।

प्रकाशित : माघ २३, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

माइनस १० डिग्रीमा आइस क्लाइम्बिङ

आश गुरुङ

लमजुङ — मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेका कर्मा वाङदी गुरुङले आँखै अगाडि झरनामा हिउँ जमेको देखेको धेरै वर्ष भयो । वर्षायाममा उनी झरनामा पुगे पनि हिउँदमा भने कहिल्यै गएका थिएनन् । आफ्नै ठाउँमा ‘आइस क्लाइम्बिङ’ फेस्टिबल भएपछि उनी हेर्न गए । देशी विदेशीले हिउँको पहाड चढेको मात्रै हेरेनन् उनले । आफैं पनि चढे । ‘पहिले अलि डर लाग्यो । पछि एकदमै रमाइलो भयो,’ उनले भने, ‘यस्तो महोत्सव हाम्रै ठाउँमा भएको छ । हामी मनाङी पनि अघि सर्नुपर्छ ।’

हुम्डेको पहाडमा जमेको हिउँमाथि केही दिनयता दैनिक ‘आइस क्लाइम्बिङ’ फेस्टिबल भइरहेको छ । अन्नपूर्ण हिमशृंखला अन्तर्गत समुद्री सतहको ३ हजार २ सय मिटरको हिउँचट्टान क्षेत्रमा दैनिक ४० देशीविदेशीले हिउँको झरना चढ्ने र ओर्लिने गरेका छन् । नेपाल क्लाइम्बिङ टिमका अध्यक्ष विनायकजय मल्लका अनुसार आइस क्लाइम्बिङ एउटा सहासिक खेल हो । माइनस १० डिग्रीको वातावरणमा २ जना विदेशीसहितले बिहान १० बजेदेखि अपराह्न साढे ३ बजेसम्म आइस क्लाइम्बिङ गरिरहेका छन् । दुई विदेशीमध्ये क्यानडाका महिला र अस्ट्रियाका पुरुष छन् । नेपाली सहभागीमा ३ महिला छन् ।

काठमाडौंबाट फेब्रुअरी १ तारिखमा हिँडेको टोली हुम्डेमा ३ तारिखमा पुगेका थिए । उनीहरूले मंगलबारदेखि आइस क्लाइम्बिङ थालेका थिए । फेस्टिबल ९ तारिखमा सकिनेछ । ‘यहाँ आइसक्लाइम्बिङ मात्रै होइन, स्कीका लागि पनि निकै सम्भावना रहेछ । हामी स्की पनि खेलिरहेका छौं,’ मल्लले भने । उनका अनुसार स्की प्रशिक्षक समीर थापाले सिकाइरहेका छन् । आइस क्लाम्बिङ सकिएपछि स्की खेलको मज्जा लिइरहेको उनले सुनाए । ‘स्कीमा स्थानीयलाई पनि जोड्ने हो । यसले महोत्सवको अपनत्व स्थानीयमा जगाउँछ,’ उनले भने ।

अन्नपूर्ण हिमशृंखलाबाट झरेको हिउँको झरनामा गत वर्ष पनि फेस्टिबल भएको थियो । आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताले नेपाल भ्रमण वर्ष २०२० को यो पहिलो साहसिक खेलको फेस्टिबले भएको दाबी गरे । फेस्टिबललाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक, नेपाल पर्वतारोहण प्रशिक्षक संघ लगायतले प्राविधिक सहयोग गरेको छ । फेस्टिबलमा आइस क्लाइम्बिङ कोर्ष, फोटोग्राफी, एडभेन्चर फिल्म प्रदर्शनी, स्थानीयका संस्कृति प्रदर्शन गरिनेछ ।

मल्लका अनुसार अन्नपूर्ण हिमशृंखलाको अन्नपूर्ण दोस्रो र तेस्रोबाट बाग्ने १५ वटा बढी झरनामा आइस क्लाम्बिङ गर्न सकिन्छ । ५ सयदेखि १ हजार मिटर उचाइको ६० देखि १ सय डिग्री उचाइसम्मका झरनामा क्लाइम्बिङ गर्न सकिन्छ । ती झरना ३ देखि ५ स्तर (डब्लूआई ३ देखि डब्लूआई ५ सम्म) रहेको छ । प्रशिक्षकहरूका अनुसार डिसेम्बर तेस्रो सातादेखि मार्च दोस्रो सातासम्म यी झरनाहरू आइस बन्ने भएकाले क्लाइम्बिङ गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय पथप्रदर्शक पर्वतारोहण प्रशिक्षक प्रेम गुरुङका अनुसार हुम्डे क्षेत्रमा आइस क्लाम्बिङका तालिमहरूसमेत हुँदै आएको छ । ‘आइस क्लाम्बिङ गर्न, यसको आधारभूत तथा एडभान्स तालिमका लागि हुम्डे गन्तव्य हो,’ उनले भने । उनका अनुसार हिउँ बन्चरो, क्रम्पन, डोरी, जुत्ता, हेल्मेटको प्रयोग गरी आइस क्लाइम्बिङ गरिन्छ । यसमा लिड, मल्टिपिच, मिक्स गरी ३ प्रकारले चढ्न सकिने उनले बताए । काठमाडौंबाट गाडीमा एकैदिनमा पुगिने भएकाले पनि हुम्डे क्षेत्र आइस क्लाइम्बिङ गर्ने, हेर्ने र तालिम लिनेका लागि प्रभावकारी र उपयुक्त गन्तव्य मानिन्छ ।

प्रकाशित : माघ २३, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×