फर्किएर आएनन् बाबुआमा 

सुनसरी — कसैले आफ्‍ना छोराछोरीलाई हात समाएर डोर्‍याउँदै गरेको देख्दा आयुषलाई कसो कसो लाग्छ ? नीलो स्वीटर, बुट्टादार लुङ्गी लगाएकी कुनै महिला देखे आफ्नै आमा हुन् कि लागेर नजिकै हेर्न पुग्छन् । फ्याङ्ले पाइन्ट लगाएको, कपाल जिङ्रिङ्ग भएको घुर्मैलो सर्ट लगाएको पुरुष देख्दा बाबु हुन् कि लाग्छ । जब नजिकै गएर हेर्छन्, उनी निराश हुन्छन् ।

फर्किएर आएनन् बाबुआमा 

कुरा गर्दा परिपक्व र अभ्यस्तजस्तै लाग्ने १३ वर्षीय आयुष भुजेललाई जस्तै उनका भाइहरू १० वर्षीय असिम, ७ वर्षीय पावललाई पनि आमाबाबुको धेरै सम्झना आउने रहेछ । २ वर्षीया आशिका (रेजिना) भने धरान ५ माथिल्लो देउरालीस्थित कलुङचोककी गंगा विकले धर्मपुत्री बनाएर राखेकी छन् । धरान–१७ रेल्वे सखुवागाछीस्थित एक आफन्तको घरमा २८ वर्षीया आमा रविना भुजेल र ३१ वर्षीय बाबु राजु भुजेल आफ्ना लालाबाला पालनपोषण गर्दै आएका थिए । कामको खोजी गर्दै उनीहरू भोजपुरको ओख्रेबाट चार वर्षअघि धरान झरेका थिए । ज्याला मजदुरी गर्दै ६ जना परिवारको जीविका चलिरहेका बेला एक वर्षअघि अचानक रविनाले घर छाडिन् । स्थानीय दीपेन्द्र स्कुलमा कक्षा चारमा अध्ययरत जेठो छोरा आयुषले थाहा पाए, आमाले अर्कै मान्छेसँग दोस्रो विवाह गर्न घरबाट भागेकी रहिछन् । दुई वर्षकी बहिनी, सात र १० वर्षका भाइहरूलाई हेरेर आयुष त्यस दिन खुब रोएछन् ।


उनका भाइबहिनीहरू पनि सँगै रोएको उनले सुनाए । स्थानीय श्याम राईको ट्याक्टरमा मजदुरी गर्ने बाबुलाई आमा अर्को केटासँग भागेको कुरा सुनाए । आमाले छाडेर गएको दुई महिना पनि बितेको थिएन, तिनका बाबु राजु पनि एकाएक बेपत्ता भए । ‘सर्दुखोला चारघरेको श्याम राईको ट्याक्टरमा ढुङ्गागिटी, बालुवा लोड गर्ने काम गर्नुहुन्थ्यो, एक दिन श्यामको भाइ टंक आएर मोटर चोरेको भन्दै बाबुलाई पिट्दै लगे,’ आयुषले भने, ‘बेलुकासम्म घरमा पर्ख्यौं तर आउनुभएन, अझै आउनुभएको छैन ।’


उनका अनुसार भोलिपल्ट बिहान तिनै श्याम र टंकले एक बोरा चामल ल्याएर दिँदै ‘खोइ तिमीहरूको बाबु कता गए, काममा किन नआएको’ भनेर सोधीखोजी गरेका थिए । आयुष र उनका भाइहरूले ‘बाबुलाई तपाई‌ंहरुले पिट्दै लगेपछि आउनुभएन’ भन्दा ‘खोइ कता भाग्यो’ भनेर जवाफ दिइएको थियो ।


आमाबाबु बेपत्ता भएपछि विभिन्न घरमा शरण लिएर बसेका चारैजना अहिले धरानस्थित सरस्वती बाल आश्रममा छन् । स्थानीयले धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले धरान उपमहानगरमार्फत बाल आश्रममा राखिदिएका हुन् ।


आयुष, असिम र पावल पढिरहेको दीपेन्द्र स्कुल भने आश्रमबाट करिब ६ किलोमिटर टाढा पर्ने भएकाले वडाध्यक्ष भट्टराईले दैनिक ल्याउने र लैजाने गरी एउटा टेम्पोको व्यवस्था गरिदिएका छन् । उनले भने, ‘यी अभिभावकविहीन बालबालिकाहरू यो शैक्षिक वर्षसम्म पहिले पढेकै स्कुलमा पढुन् । अर्को शैक्षिक सत्रदेखि आश्रम नजिकैको स्कुलमा भर्ना गर्ने योजना छ ।’


आश्रममा अन्य बालबालिकासँग घुलमिल हुन थालेका आयुषले पढेर जागिर खाने र चित्रकार बन्ने बताए । उनले भने, ‘बाबुआमा कता छन्, के गर्दै छन्, अत्तोपत्तो छैन । कहिलेकाहीँ देख्न मन लाग्छ नि तर छाडेर गएकामा रिस पनि उठ्छ ।’

प्रकाशित : माघ २१, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?