२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

त्रियुगामा म्याद थपिएको थपियै

२०६७ सालमा निर्माण थालिएको पुल एक दशकमा पनि तयार नहुँदा आवागमन र सामग्री ढुवानीमा स्थानीयको सकस लम्बियो 

(सिवाई, उदयपुर) — विश्वासिलो निर्माण कम्पनी, गुणस्तरीय काम गर्दा एक/डेढ वर्षमा एउटा पक्की पुल सजिलै निर्माण हुन्छ । तर चौदण्डीगढी नगरपालिका–५ सिवाई स्थित त्रियुगा नदीमा निर्माण भइरहेको पक्की पुल एक दशकमा ८५ प्र्रतिशतमात्रै काम भएको छ ।

त्रियुगामा म्याद थपिएको थपियै

२०६७ सालदेखि पुल निर्माण भइरहेको छ । अन्तिम पटक थपिएको म्याद गत असारमा सकिएको थियो । त्यसपछि पुन: म्याद थप गरेर काम भइरहेको छ । पटक–पटक थप गरिएको म्याद सकिँदा समेत पुल भने बनिसकेको छैन । सरकारले वजेट विनियोजनमा ढिलाइ गरेको अनि ठेकेदारको लापरवाहीका कारण निर्माण सुस्त भएको हो ।


‘पुल चाँडै बनिसक्ला भन्ने आसा थियो’ स्थानीय राजेश राईले भने, ‘तर ढिलाइ भयो, दुई महिनायता भने निरन्तर काम भइरहेको देखिएको छ ।’ समयमै पुल निर्माण सम्पन्न नहुँदा सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारणले बर्षामा सास्ती भोग्नुपर्छ । हिउँदमा वर्षौंदेखि नदीमा अस्थायी बालुवा पुल बनाएर सञ्चालन गरिंदै आएको छ । त्रियुगा उदयपुरको सबैभन्दा ठूलो नदी हो ।


पुल बेलैमा नबन्दा मुख्य व्यापारी केन्द्रमध्ये पर्ने बेल्टार बजार ओझेलमा परेको छ । बेल्टार बजारसँग जोडिएको दक्षिण खोटाङका चिसापानी, सिमपानी र खोटाङ बजारलाई समेत असर परेको छ । सिवाई पुल निर्माणसँगै यी बजारहरू छोटो दूरीमा तराईसँग जोडिँदै पूर्वपश्चिम राजमार्ग भएर राष्ट्रिय सडक सञ्जालमा जोडिन्छन् ।


सप्तरीको कञ्चनपुर–फत्तेपुर, उदयपुरको सिवाई–बेल्टार हुँदै खोटाङको चिसापानी बजार जोड्ने गरी चौदण्डीगढी नगरपालिका–५ मा पुल बनिरहेको हो । सरकारी उदासीनता र ठेकेदारको लापरबाहीका पुल निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण रहेको स्थानीयले वताए । ‘ठेकेदारको काम गराई र आवश्यक बजेट नहुँदा ढिलाइ हुँदै आएको छ’ चौदण्डीगढी नगरपालिका ५ वडाध्यक्ष देवनारायण चौधरीले भने, ‘पुलको पिलर राख्नुपर्ने स्थानको खोलाको पानीमुनिको सतहमा ठूलो–ठ्लो रूख भेटिएकाले पनि काम ढिलाइ भएको हो ।’


तर अहिले रूख पनि हटाइएको र बजेटसमेत व्यवस्था भएकाले निर्माण अगाडि बढाउन समस्या नभएको उनले बताए । पुल निर्माणको ठेक्का महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले लिएको हो । तर सुरु सुरुमा ठेक्का लिएको महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकोले पनि ढिलाइ भएको स्थानीयले बताए ।


पुल निर्माण सुरु गर्दा महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनको मालिक आफैं भएको भन्दै रामेछापका कमलविक्रम कार्की काम गरेका थिए । तर उनले महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनसँग सव—कन्स्ट्र्याक्टर भएर काम गरेको र घाटा भएपछि काम अलपत्र पारेर भागेकाले पनि निर्माण कार्यमा ढिलाइ भएको वडाध्यक्ष चौधरीले बताउँदै आएका छन् । ‘चालु आर्थिक वर्षको अन्तिमसम्म पुल निर्माण सकिन्छ’ निर्माण कम्पनीका केदार तिमल्सिनाले भने, ‘पानीको सतहमुनि भएको ठूला ठूला रूखका कारण समस्या भएको थियो ।’ तर ती रूख झिक्ने काम सकिएसँगै बाँकी रहेका दुई स्पानको काम चैत मसान्तसम्म सक्ने उनले बताए ।


पुलको लागत करिब १३ करोड रुफैयाँ रहेको गाईघाट दित्तेल सडक आयोजनाका इन्जिनियर प्रवीण चौधरीले बताए । ११ स्पान २ सय ८० मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) हुने इन्जिनियर चौधरीले बताए ।


‘पुल गएको असार २० गते नै सम्पन हुनुपर्ने हो’ इन्जिनियर चौधरीले भने, ‘तर विभिन्न कारण देखाउँदै ठेकेदारले काम गर्न नसक्दा ढिलो भएको छ ।’ पुल निर्माणको ८५ प्रतिशत भौतिक काम सकिएको र बाँकी १५ प्रतिशत काम २/३ महिनामा सकिने उनले बताए ।


पुल निर्माणको सुपरिवेक्षण, नियन्त्रण र अनुगमन गाईघाट दिक्तेल सडक आयोजनाले गर्दै आएको छ । पुलको निर्माण आर्थिक वर्ष ०७०/७१ सम्पन्न गर्ने गरी काम सुरु ठेक्का बन्दोबस्ती गरिएको थियो । तर विभिन्न बहानामा निर्माणको समय सीमा लम्बिँदै गएको हो ।


९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत करिब १३ करोड पुगेको आयोजनाले जनाएको छ । पहिलेको डिजाइन परिवर्तन गरेर नयाँअनुसार गर्दा काम ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीले जनाएको छ । कन्स्ट्रक्सन कम्पनीका अनुसार पुल निर्माणका लागि तीनवटा पिल्लर बनाउने स्थानमा नदीभित्र रूखको ठूलो ठुटा भेटिएपछि निर्माण प्रभावित भएको हो ।


पुल निर्माणमा लापरबाही गरेका कारण निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड जरिवाना गरिएको आयोजनाले जनाएको छ । आयोजनका अनुसार ६९ लाख रुपैयाँ जरिवाना संकलन भएको छ । अरू रकम बाँकी रहेको जनाइएको छ । गत आर्थिक वर्षको १ करोड रुपैयाँ विनियोजन भएको र यो आर्थिक वर्षमा पनि रकम थपिएकाले काम सम्पन्न समस्या नरहेको आयोजनाले जनाएको छ ।


प्रकाशित : माघ १५, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?