कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

चुहिन थाले धर्मशाला

कतिपय भत्किसकेका छन् । भएका पनि बस्न मिल्ने खालका छैनन् ।

(धरान) — सुनसरीको बराहक्षेत्र मन्दिर परिसरमा रहेका ऐतिहासिक धर्मशाला स्याहारसम्भार अभावमा जीर्ण बनेका छन् । अधिकांश धर्मशाला बस्न मिल्ने खालका छैनन् । कतिपय भत्केका छन् । 

चुहिन थाले धर्मशाला

पहिले यातायातको सुविधा नहुँदा बराहक्षेत्रदेखि उदयपुर हुँदै पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ, धनकुटा र संखुवासभा पुग्ने भरपर्दो पैदल बाटो थियो । चतरा र धरानमा नुनभुटुन, कपडा र अरू आवश्यक वस्तु किनेर लैजानेहरू ती धर्मशालामा बस्थे । तीर्थयात्रीलाई समेत बासका लागि सहिजो थियो । यातायातको सेवा पुगेपछि भने मानिसको आवतजावत यस बाटोमा विस्तारै कम हुँदै गयो । ऐतिहासिक धर्मशाला भए पनि सरोकारवालाले चासो नदिँदा बेस्याहार बनेका हुन् । बराहक्षेत्र मन्दिर परिसरमा तीनवटा पुराना धर्मशाला छन् । जुद्ध धर्मशाला सबैभन्दा पुरानो हो ।


जुद्धशमशेर राणाले १९९१ सालमा बनाएका धर्मशालाका भित्ता भत्किएका छन् । टिन प्वाल परेका छन् । धर्मशाला प्रयोगमा नआएपछि अगाडिपट्टि तारजाली र पाइप राखिएका छन् । स्थानीयले दाउरा राख्ने ठाउँ बनाएका छन् । दशकअघिसम्म धर्मशालामा फाटफुट रूपमा मानिसहरू बस्ने गर्थे । अचेल कोही बस्दैन । ८ वर्षदेखि बराहलक्ष्मी मन्दिरका पुजारी बस्दै आएका छन् । ‘पानी पर्दा छानो पूरै चुहिन्छ’ पुजारी उद्धव पौडेलले भने, ‘बस्ने अवस्था छैन ।’ १९९० सालमा आएको भूकम्पले बराहक्षेत्र मन्दिर भत्काएको थियो ।


मन्दिरको मर्मतसम्भार गर्ने क्रममा जुद्ध शमशेरले धर्मशालासमेत बनाएको स्थानीय बुढापाकाहरू बताउँछन् । जुद्ध धर्मशालासँग जोडिएको गायत्री धर्मशाला २०२० सालमा बनेको हो । यसको अवस्था समेत उस्तै छ । धर्मशालामा १६ वर्षदेखि गायत्री मन्दिरका पुजारी रघुनाथ सापकोटा बस्दै आएका छन् । धर्मशालाको मन्दिर र हवन स्थानको पनि बिजोग अवस्था छ । २०२५ सालमा बनेको उप्रेती धर्मशालाको अवस्थासमेत जीर्ण छ । २१ वर्षदेखि धर्मशालामा एक दम्पती बस्दै आएको छ । पूर्वपुजारीसमेत रहेका भोलाराम आचार्यले दुई दशकदेखि धर्मशालाको मर्मत हुन नसकेको बताए ।

बराहक्षेत्र नगरपालिका प्रमुख नीलम खनालले पुराना धर्मशाला संघीय सरकारमार्फत हुने भएकाले मर्मत गर्न नमिल्ने बताए । जोखिमपूर्ण धर्मशालाको मर्मत सम्भारमा सरकारले चासो नदिएको उनको भनाइ छ ।

प्रकाशित : माघ १५, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?