२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘अचेल निर्धक्क काम गर्न पाइन्छ’

आनन्द गौतम

(तापेथोक, ताप्लेजुङ) — जेठ १६ मा कम्पनी प्रमुखले काठमाडौंबाट बिदाइ गरिरहँदा रोल्पाका खरिलाल पुनमगरको मन अमिलो भयो । काममा पठाउँदै गर्दा उनको टोलीलाई इमेश कम्पनीका मालिकहरूले ‘त्यो एकदम डेन्जर ठाउँ हो जोगिएर, सम्हालिएर काम गर्नु’ भनेका थिए ।

आफूलाई सघाउने सहयोगी, खाना पकाउने व्यक्तिसमेत गरी १२ जनाको टिम लिएर एक जना अप्रेटरसहित खरिलाल हिंडेका थिए । उनीहरूको मुख्य जिम्मेवारी अप्रेटरको हो । पाँच/छवटासम्म मेसिन हुँदा कम्पनीले उनीहरूभन्दा माथिल्लो तहमा रहने गरी टिम लिडर तोकेर पठाउँछ । तर, दुईवटा मात्रै मेसिन भएकाले कम्पनीले अप्रेटर खरिलाललाई नै टिम नेतृत्वको पनि जिम्मेवारी दिएको हो । उनको टोली यतिबेला फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरमा ड्रिलको काम गरिरहेको छ । उनीहरूले मेसिन जडान गरेर जमिनको कति भित्र चट्टान छ भनेर पत्ता लगाउनुपर्छ । यसलाई ड्रिल गर्ने भनिन्छ । पहिला १० मिटरको सानो फलामको डन्डी लगाएर सुरु गरिन्छ ।


त्यसपछि क्रमशः ठूलो साइजको फलामे पाइप त्यसमा जोड्दै लगिन्छ । २ सय ८३ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्षेत्रमा उनीहरूले ड्रिल गरेका हुन् । यो क्षेत्रमा १० वर्षदेखि नै अध्ययनको काम सुरु भएको हो । यो अन्तिम चरणको ड्रिल हो । यसपछि भने यसै वर्षबाट निर्माणको काम सुरु हुनेछ । यसका लागि सुरुङ खन्ने क्षेत्र तापेथोक बगरदेखि लिंखिमसम्म ड्रिल गर्नुपर्छ ।


कम्पनीले ताप्लेजुङलाई खतराको सूचीमा राख्नुको कारण रहेछ । २०७४ सालमा यही कम्पनीबाट मेयरमान थापा मगर र डम्बर श्रेष्ठ नेतृत्वको टोली यसरीनै ड्रिल गर्न आएका थिए । उनीहरूलाई स्थानियले सुन निकाल्न आएको भन्दै काममा अवरोध गरे । सिस्ने खोलाको पुलमा वारिपारि दुईतिर बसेर बन्दुक देखाएको उनले सुनेका थिए ।


आफ्नो अलैंची बाली मासिदिएको भनेर हजारौं रुपैयाँ जरिवाना पनि गराए । खरिलाल त त्यतिबेला हुम्लामा सहायक अप्रेटरको रूपमा काम गर्थे । डम्बरहरूले काठमाडौं फर्किएर गरेको कुरा सुन्दा उनको आङ सिरिंग भएको थियो । एक दशक नहुँदै उही ठाउँमा आफैंले जानुपर्दा नडराउने कुरै भएन । तर, खटाएको ठाउँमा जानै पर्ने नत्र जागिर छोड्नुपर्ने, उनीसँग दुईमध्ये एक मात्रै विकल्प थियो । मनमा भारी डर भएर पनि काममा आउने निर्णय खरिलालले गरे ।


तर, छ महिनादेखि यही क्षेत्रमा काम गरिरहेका उनको टोलीलाई कसैले ठुलो बोलीसम्म पनि गरेको छैन । ‘काम गरिरहेको ठाउँमा आएकाहरूले के गरेको भनेर सोध्छन् । आफूले गरेको काम र यस्को उपयोगिताबारे बताइदिन्छौं,’ खुसिलालले भने, ‘त्यसपछि त ‘राम्रो काम रहेछ,’ भन्दै खुसी भएर फर्कन्छन् ।’


क्याम्प सारेर नयाँ ठाउँमा पुग्दा कसैले रायोको साग, कसैले इस्कुसजस्ता तरकारी सित्तैमा दिएर पनि आत्मीयता देखाएको उनले सुनाए । अब त उनी आफैंले पनि धेरै साथीभाइ बनाइसकेका छन । त्यसले पनि उनलाई मनमा भएको डर हराइसकेको छ । ‘सुरक्षित भएछ वा ताप्लेजुङ,’ खरिलालको मुखबाट फुत्त फुत्कियो, बेलाबेला त दाइ, सरहरूले भनेको कुरो सत्य होइन कि जस्तो लाग्छ ।’ कम्पनीले तापेथोक बगरका सुशन लिम्बूलाई सम्पर्क व्यक्ति नियुक्त गरेको छ । काम गर्नेर् ठाउँमा कुनै समस्या भए सुशनलाई सुनाउने र उनैले कम्पनीका मालिकसँग सीधै सम्पर्क गरेर समाधान गर्ने समझदारी भएको छ ।


स्थानीयका अनुसार पाँच/सात वर्षअघिसम्म अत्यन्तै असुरक्षित थियो । कञ्चनजंघा हिमाल हिंडेका पर्यटकहरू ठगिन्थे त कोही लुटिन्थे । भरियाहरूले पनि उत्तिकै दुःख दिने गरेको गुनासो ट्रेकिङ व्यवसायी गर्थे ।


अरू भरिया नपाउने भएकाले ट्रेकिङ कम्पनीलाई बाटोमा समस्या हुन्थ्यो । काठमाडौंका ट्रेकिङ कम्पनीले रसुवा, धादिङ, नुवाकोटबाट मजदुर ल्याउनुपर्थ्यो । बाटोमा तामास देखाउनेलाई दुई/चार पैसा दिएर व्यवसायी हिंड्थे ।

दुई वर्षअघि मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा वन रक्षक ज्ञानेन्द्र शाहीको हत्या भयो ।


पानीको मूलको विषयमा भएको विवादले आकस्मिक घटना सिर्जना गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । प्रहरी कार्यालयको तथ्यांकअनुसार चोरी डकैतीजस्ता कारण आतंकित हुनुपर्ने अवस्था अहिले केही कम भएको छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?