कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाबुको निधनपछि काजकिरियामा किशोरी

धनकुटा — सेतो पहिरनमा तीन पुस्ते परिवारका सदस्य बसेका छन् । जसमा १६ वर्षीया नातिनीदेखि ६८ वर्षीय हजुरबुवासमेत छन् । 

बाबुको निधनपछि काजकिरियामा किशोरी

धनकुटाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी विद्यता काजकिरियामा रहेकी छिन् । आमा गंगा र हजुरबुबा शान्तबहादुरको साथ कोरामा उनी बसेकी छिन् । वार्षिकीको लागि पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा शनिबार सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर कुँवरको निधन भएको थियो ।


आइतबार आमाको वार्षिकीको लागि तयारीमा रहेका परिवारजनले छोराकोसमेत ज्यान गएको खबर सुनेर विछिप्त बने । उनी पोखराबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा टिपरको ठक्करबाट घटनास्थलमा नै निधन भएको पारिवारिक स्रोतले जनायो । अकल्पनिय खबरले मर्माहत बनेको मृतकका बाबु(विद्यताका हजुरबुबा) शान्तबहादुरले आँसु झार्दै बताए ।


सुरुमा अशुभ खबर सुनेका उनले घरपरिवारका सदस्यलाई त्यस्तो खबर कसरी सुनाउने भन्ने सकस भएको सुनाए । ‘जे आइहाल्छ त्यो भोग्नैपर्ने,’ उनले भने, ‘आखिर नातिनीले आफै काजकिरियामा बस्छु भनेपछि सबैले स्वीकार गर्यौं । उनी पत्नीको निधन भएको वर्ष दिन नपुग्दै छोरालाई गुमाउनु पर्दा शोकमा डुबेका छन् ।


बुबाको निधनको खबरपछि खप्न गाह्रो भएपनि सम्हालिएको विद्यता बताउँछिन् । पोखरामा बुबा आमाका साथका रहेकी उनी हजुरआमाको वार्षिकीको लागि आमासँग गाडीमा घर फर्कंदै थिइन् । बाबु र भान्जा दाजु मोटरसाइकलमा र आमा छोरी गाडीमा आउँदै गर्दा घटना भएको उनले बताइन् । पढेर जागिर खाएर बुवाको सपना साकार पार्ने उनले सुनाइन् ।


बाबुको निधन भएपछि शोकमा डुबेको परिवारलाई सान्त्वना दिँदै छोरी विद्यताले आफैं बाबुको काजकिरीया गर्न जिद्दि गरेको छिमेकी शान्तिराम गौतमले बताए । ‘उनको अठोट र समझदारीलाई देख्दा हामी अचम्मित भयौं,’ उनले भने, ‘सबैलाई मनाएर उनी काजकिरियामा बसेकी छिन् । बबाको निधनले सुरुमा निकै विछिप्त बनेकी उनी आफै सम्हालिँदै सबैलाई सम्झाइबुझाइ गरिन् । उनलाई साथ दिन हजुरबुबा शान्तबहादुरसमेत छन् । पोखरामा व्यापार व्यवसाय गर्दै आएका कुँवर नेकपाका नेतासमेत थिए । उनी पोखरामा वाणिज्य संघको सदस्यसमेत रहेको परिवारले बतायो ।

प्रकाशित : माघ १३, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?