२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

छात्रा बेहोस हुन थालेपछि विद्यालयमै झाँक्री

बाहुनडाँगी — मेचीनगर ४ आमडाँगीको पशुपति मावि, कक्षा ९ की छात्रा युनिशा ढकाल आइतबार दिउँसो विद्यालय मैदानमा मूर्छा परिन् । सहपाठी उनलाई सम्हालेर बसेका थिए । शिक्षक केशव पोख्रेल उनको स्वास्थ्यबारे सोधखोज गरिरहेका थिए ।

माघ १० गतेबाट कक्षा ८ की कृतिका काफ्लेलाई पनि उस्तै समस्या देखियो । ‘बसिरहेका बेला एक्कासि बेहोस भएँ, केही थाहा भएन,’ उनले भनिन् । सुरुमा शरीर दुख्ने, बाउँडिने अनि बेहोस हुने लक्षण उनीहरूमा देखिएको थियो ।


कक्षा ९ की निष्मा काफ्लेकी आमा सीमाका अनुसार घरमा भने उनलाई यस्तो समस्या देखिएको थिएन । निष्माले महिनायता यो समस्या भोग्दै आएकी छन् । ‘स्कुलमा समस्या देखिन्छ घर पुर्‍याएपछि चट्टै हुन्छ,’ उनले भनिन् ।


विद्यालयका अनुसार कक्षा ८, ९ र १० का छात्राहरूमा यो समस्या बढी छ । विद्यार्थीमा देखिएको अज्ञात समस्याले पठनपाठन बिथोलिएको शिक्षक गोकुल सुवेदीले बताए ।


डेढ महिनायता २४ जना विद्यार्थीलाई यस्तो समस्या देखिएको छ । कक्षामा पढाइ भइरहेका बेला छात्राहरू एक्कासि काम्ने, कपाल समात्ने, दौडिने, चिच्याउने र बेहोस हुने गरेका छन् । दुई–चार जना छात्रामा देखिएको यो समस्या अहिले सिंगो स्कुलमा फैलिसकेको छ । विद्यालयले छात्राहरूको उपचार गरेको छैन । दुईपटकसम्म झाँक्री बोलाएर स्कुलमै ‘चिन्ता’ राखेको छ ।


समस्या बढ्दै गएपछि विद्यालय प्रशासनले स्कुलमै पुराण आयोजना गर्ने भएको छ । माघ २३ गते २९ सम्म सप्ताह पुराण आयोजना गर्न मेचीनगर ४ का वडाध्यक्ष नवीन बराल, अन्य जनप्रतिनिधि, स्थानीय, अभिभावक शिक्षक सहमत भएका छन् । पुराण लगाएपछि छात्राहरूको रोग निको हुने उनीहरूको दाबी छ । प्रधानाध्यापक लक्ष्मण प्रधान भन्छन्, ‘हामीलाई भूतप्रेतप्रति विश्वास छैन, तर अभिभावकको अनुरोधमा दुईपटक झाँक्री लगायौं, पुराण पनि अभिभावककै करकापमा लगाउन लागेका हौं ।’


प्रधानाध्यापक प्रधानका अनुसार बिरामी छात्राहरूले बेहोसीमा मेचीनगर–६ की ‘राइनीमाता’ भनिने एक धामीको नाम लिए । तिनकोमा उपचार गराउन भनेर लगेपछि उनले स्कुलमा भूतप्रेतको बास रहेको, पूर्व हेडमास्टर टेकबहादुर बरालको आत्मा स्कुलमै घुमिरहेको उनले बताएकी थिइन् । पुराण लगाएमात्रै समस्या समाधान हुने दाबी पनि उनले गरिन् ।


‘जनप्रतिनिधि, अभिभावक र शिक्षकबीचको छलफलपछि पुराण लगाउने टुंगो लगाएका हौं,’ प्रधानले भने, ‘पुराणबाट ३० लाख संकलन गर्ने र स्कुल बससमेत खरिद गर्ने लक्ष्य छ ।’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग

विशेषज्ञ डा. निदेश सापकोटाले छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको बताए । उनका अनुसार यो सामान्य समस्या भएकाले मनोपरामर्शपछि निको हुन्छ ।


प्रकाशित : माघ १३, २०७६ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?