टिपर आतंक उस्तै

विनोद भण्डारी

(विराटनगर) — मोरङको सुन्दरहरैचा नगरपालिका ९ की ११ वर्षीया बालिका लक्ष्मी ढकाललाई केहीअघि विराटचोकमा टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो । आक्रोशित स्थानीयले ठक्कर दिनेसहित सातवटा टिपरमा आगो लगाए ।

टिपर आतंक उस्तै

घटनापछि विराटचोक दिनभर तनावग्रस्त बन्यो । स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र समाजका अगुवाको पहलमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने र राष्ट्रिय राजमार्ग र सहायक मार्गमा दिउँसो टिपर चल्न नदिने सहमतिपछि स्थिति सामान्य भएको थियो ।


त्यही स्थानमा अमन चापागाईं १४ वर्षीय छोराको टिपरले किचेर मृत्यु भयो । त्यसै बेलादेखि त्यहाँका स्थानीयले विराटनगर–विराटचोक सडकमा टिपर सञ्चालनमा रोक लगाउन स्थानीय निकाय र प्रहरी प्रशासनसमक्ष माग गर्दै आएका थिए । तर त्यस क्षेत्रका अधिकांश जनप्रतिनिधि क्रसर उद्योग र टिपर व्यवसायी भएकाले माग सुनुवाइ हुन सकेको थिएन ।


स्थानीयले ठक्कर दिने ना३ख ३३५५ सहित को १ ख ५६६३, ५४०७, ५६८४, ५८३३ र ना ३ ख ४५८७ नम्बरको टिपरमा आगो लगाएका थिए । सहमति भएको साता नबित्दै टिपर सञ्चालकले उल्लंघन गर्दै जुनसुकै समयमा राष्ट्रिय राजमार्ग र सहायक मार्गमा टिपर निर्बाध चल्न थाले ।


प्रहरी प्रशासनले त्यसलाई रोक्ने पहल गरे पनि सफल भएको छैन । अहिले मोरङ, सुनसरी र झापामा पर्ने राष्ट्रिय राजमार्ग र जुनसुकै सहायक मार्गमा टिपरको आतंक छ । सिकिस्त बिरामी बोकेका एम्बुलेन्सलाई समेत टिपरले बाटो दिँदैनन् । टिपरको ठक्करले सर्वसाधारण मर्ने क्रम रोकिएको छैन । प्रदेश १ मा चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म टिपरका कारण १४ वटा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको र १५ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।


प्रदेश १ ट्राफिक प्रहरीले गत चैतदेखि मोरङ, सुनसरी, झापा र उदयपुरमा टिपरलाई टाइम कार्ड लगाउदै स्कुल र कार्यालय जाने तथा फर्कने समय भएकाले सडक व्यस्त रहने भन्दै बिहान साढे नौ देखि साँढे दस बजेसम्म र दिउँसो ४ देखि ५ बजेसम्म दिनको दुई घण्टा राजमार्गमा टिपर चलाउन प्रतिबन्ध लगाएको थियो तर त्यो टाइम कार्ड र प्रतिबन्ध पनि कार्यान्वयन हुन सकेको छैन ।


ढुंगा, गिट्टी, बालुवा, माटोलगायत निर्माण सामग्री ढुवानीमा प्रयोग गरिने टिपर लोड भएको अवस्थामा पनि सडकमा तीव्र गतिमा कुदाइने गरिएको छ ।


लोड भएको अवस्थामा प्रतिघण्टा बढीमा ३० किलोमिटर कुदाइनु पर्ने टिपर प्रतिघण्टा ८० किलोमिटर भन्दा बढीसम्म कुदाएको पाइएको एक ट्राफिक प्रहरीको भनाइ छ ।


एम्बुलेन्स चालक रामकुमार राई टिपरले एम्बुलेन्स र दमकलजस्ता अति आवश्यकीय साधनलाई पनि साइड नदिई कुदाउने गरेकाले सडक यात्रा असुरक्षित हुँदै गएको गुनासो गर्छन् ।


टिपर आतंक नियन्त्रण गर्न लागू गरिएको टाइमकार्ड कायमै रहेको र विहान, बेलुका प्रभावकारी भएको प्रदेश १ ट्राफिक प्रमुख एसपी भीमबहादुर दाहालको भनाइ छ ।


‘ट्राफिक भएको स्थानमा बिहान साढे ९ देखि साढे १० बजेसम्म र साँझ ४ देखि ५ बजे सडकमा टिपर हुँदैन,’ दाहालले भने ‘ट्राफिक नभएको स्थानमा टिपरको आतंक कायमै छ र यसलाई पनि नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।’

प्रकाशित : माघ १२, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?