खरको छानामुक्त गाउँ अभियान

चन्द्र कार्की

(तेह्रथुम) — छथर गाउँपालिकाले गाउँलाई खरको छाना मुक्त बनाउने अभियान शुरु गरेको छ । रकम अभावमा जस्तापाता खरीद गर्न नसकेर खर तथा परालले छाना छाउँदै आएका नागरिकको घर गाउँपालिकाले जस्ता पाताले छाइदिन थालेको छ । 

खरको छानामुक्त गाउँ अभियान

गाउँपालिकालाई पहिलो खरको छानामुक्त गाउँपालिका बनाउने अभियान स्वरुप बजेट छ्ट्युाएर अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताए । गाउँपालिकाभित्र निम्न आय भएकाहरूको घरको छानो खर र परालका छन् । सबै घरका छानो हटाउन गाउँपालिकाले गत आर्थिक बर्षमा २० लाख रुपैंयाँ बजेट छुट्याएको थियो । गत आवमा गाउँपालिकाले छुट्याएको बजेटले नपुगेपछि चालु आवमा पनि सोही परिमाणमा बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ ।


जस्ता पाताको छानो छाउने कार्यक्रमका लागि केन्द्र सरकार, प्रदेश सरकार र अन्य संघ संस्था समेतको सहयोग लिइने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । खरको छाना मुक्त अभियान पहिलो चरणमा सुख्खा क्षेत्रका बस्ती बाट शुरु गरीएको गाउँपालिकाले जनाएको छ ।


सुक्खा क्षेत्रका ग्रामीण बस्तीका सबैजसो घरका छाना खरले छाइएका छन् । यस्ता बस्ती आगलागीको उच्च जोखिममा रहेकाले खर हटाएर जस्ता पाता लगाउन थालीएको अध्यक्ष लिम्बुले बताए ।


पहिलो चरणमा ७० घर परिवारलाई जस्ता पाता वितरण गरीएको गाउँपालिकाले जनाएको छ । जस्ता पाता वितरणको शुरुवात स्थानीय बासिन्दा समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका थिए । विपन्न परिवारलाई वितरण गरीएका जस्ता पाताको रङ्ग निलो छ । यसअघि गाउँपालिकाले सबै घर एकै रङगका बनाउने अभियान शुरु गरेको थियो । भियानअन्तर्गत गाउँपालिकाले स्थानीयवासीलाई जस्ता पाता वितरण गर्न सबै वडाका विपन्न परिवारको लगत लिने काम गरीरहेको छ । गाउँपालिकाले गरिब, दलित, अपाङ्ग, पिछडिएका समुदायका घरको छाना पहिलो चरणमा जस्ता पाताले छाउने तयारी गरेको छ । घरका छानामा एकै रंगका जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्य समेत बढ्ने र परबाट हेर्दा धनी र गरीबको अवस्था समेत नछुट्टिने अध्यक्ष लिम्बुले बताए ।


कुनै कारणबस खरको छानो भएको एउटा घरमा आगलागी भए गाउँनै जलेर खरानी हुने त्रास रहेको गाउँपालिकाले जनाएको छ । पैसा अभावमा खरको छानो चुहिएर बर्खा कष्टका साथ बिताउँदै आएका गरिबलाई भने ठूलो राहत हुने भएको छ । जस्ता पाता खरिदका लागि सम्बन्धित व्यक्तिले एक रुपैयाँ खर्च पनि व्यहोर्नु पर्दैन ।


मिस्त्री र काठ भने सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने गाउँपालिकाले जनाएको छ । मिस्त्री खर्च र काठपात पनि खरिद गर्न नसक्ने अवस्थाका गरिबलाई भने गाउँपालिका आफैले उक्त वस्तुसमेत खरिद गरिदिने जनाएको छ । गाउँपालिका आफैले बस्तीका घरमा लगाउने जस्ताको रंग पनि छनौट गरिदिएको हो । खरको छानो भएका कसैका घरको छानो ठूलो र कसैका सानो भएका कारण समान रूपमा जस्ता पाता वितरण गर्न भने केही समस्या भएको गाउँपालिकाले जनाएको छ ।


‘सबैलाई समान ढंगबाट जस्तापाता वितरण गर्छौं’, गाउँपालिका अध्यक्ष लिम्बुले भने, ‘सडक र पुल निर्माण मात्रै विकास होईन, नागरिकलाई सुरक्षित रूपमा बसाउन पाउनु पनि स्थानीय सरकारको दायित्व हो ।’ विपन्न समुदायको आवासलाई सुरक्षित बनाएर गाउँको मुहार फेर्ने अभियानमा गाउँपालिका लागेको प्रवक्ता नेपालीले बताए ।

प्रकाशित : माघ ११, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?