छिन्ताङ काण्डका सहिद परिवारको गुनासो- ‘राहत घोषणा गरियो, दिइएन’

केन्द्र सरकारले १० लाख र प्रदेश सरकारले ५ लाख रपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पीडितका हातमा परेको छैन
रमेशचन्द्र अधिकारी

(धनकुटा) — छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई सरकारले २६ महिनाअघि राष्ट्रिय सहिद घोषणा गरे पनि प्रभावित परिवारलाई राज्यले उपलब्ध कुनै सुविधा उपलब्ध गराएको छैन ।

ZenTravel

केन्द्रले १० र प्रदेश सरकारले ५ लाख उपलब्ध गराउने यसअघिको घोषणा हालसम्म कार्यान्वयन नहुँदा सहिद परिवारले आफूहरूलाई राज्यले उपेक्षा गरेको गुनासो पोखेका छन् ।

Meroghar

२०३६ सालमा भएको छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सरकारले २०७५ पुषमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । त्यसवापत प्रति परिवारलाई तत्काल दिइने भनिएको १० लाख रकम हालसम्म उपलब्ध गराइएको छैन ।
यस्तै, गत कात्तिकमा पुनः प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने घोषणा समेत घोषणामा मात्र सिमित बनेको छिन्ताङ सहिद सरोकार समाजका अध्यक्ष बलराम राईले बताए ।

‘घोषणा गर्नकै लागि मात्र घोषणा नगरि राहतका सवालमा चासो दिइनु पर्यो’ उनले भने, ‘राहत दिने भन्दै छिन्ताङमा आएरै नेता तथा मन्त्रीले कयौं पटक भाषण समेत गरे पनि हालसम्म राहत दिइएन ।’ राज्यका लागि योगदान नगरेकालाई समेत सरकारी ढुकुटीबाट राहतका नाममा रकम खर्चिएपनि वास्तविक सहिदलाई यो हदको उपेक्षा गरिएको भन्दै प्रभावित परिवारले आक्रोस पोखका छन् ।

पञ्चायती शासनको विरोध गर्दै वामपन्थी गतिविधिमा लागेको भन्दै तत्कालीन सरकारले छिन्ताङ, आँखिसल्ला तथा खोकुका १६ जनाको हत्या गरेको थियो । एक साताको अवधिमा उक्त स्थानका १६ जनालाई छिन्ताङमा गोली तथा चरम सारीरिक यातनाबाट हत्या गरिएको इतिहासविद् प्राडा गोपालबहादुर भट्टराईले बताए ।

उक्त घटना छिन्ताङ हत्या काण्डको रूपमा इतिहासमा चर्चित छ । घटना भएको करिब चार दशकपछि राष्ट्रिय सहिद घोषणा गरिएको थियो । राज्यले दिइने भन्दै बारंबार घोषणा गरिएको राहत दिन अझै ढिलाइ हुनु दुखद पक्ष रहेको अर्का सहिदपुत्र योगेन्द्र राईले बताए ।

‘घोषणा गर्न कै लागि मात्र गरिने होइन होला’ उनले भने, ‘सहिद घोषणा हुन चार दशक अवधि कुर्नु पर्‍यो, राहत पाउन कति कुर्नु पर्ने हो बुझ्न सकिएन ।’ वर्षौंदेखि आफूहरूले राष्ट्रिय सहिदको माग राख्दै आएको स्मरण गर्दै ढिलै भए पनि सुनुवाइ भएको हो कि भन्ने लागे पनि राहतको पर्खाइमा किन ढिलाइ गरिएको अन्योल भएको उनको भनाइ छ।

छिन्ताङ हत्याकाण्डको घटनाप्रति वर्षौंसम्म राज्यले उपेक्षा गरेपनि पछिल्लो समय अझ हल्लामा मात्र सीमित पारेर आफूहरूलाई भ्रममा पारेको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रूपलाल राईले बताए । छिन्ताङमा हत्या गरिनेमध्ये अधिकांशले तत्कालीन शासकको विरुद्धमा भूमिगत शैलीमा संगठन विस्तार गर्दै रहेको अवस्थामा घटना भएको थियो ।

सहिद परिवारले २०४६ र २०६२/०६३ का राजनैतिक परिवर्तनपछिका सबैजसो प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेस गरेर राष्ट्रिय सहिदको घोषणा, राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्रलगायत माग अघि सार्दै आएको उनले बताए ।

सहिद परिवारलाई उपलब्ध गराउने सुविधा दिन ढिलाइ भएको प्रतिनिधिसभा सदस्य राजेन्द्र राई बताउँछन् । घोषणा गरेको लामो समय बितिसक्दा पनि सुविधा नदिनु लापरबाहीपन भएको उनको भनाइ छ । सरकारलाई यसबारे आफूले घचघच्याउने उनले दाबी गरे ।

यसैबीच गत कात्तिकमा छिन्ताङ काण्डका सहिदको स्मृति दिवसमा समेत एक नम्बर प्रदेशले प्रति परिवारलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो । मुख्यमन्त्री शेरधन राईले छिन्ताङ हत्या काण्डमा ज्यान गुमाएकाका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका हुन् ।

४१ औं स्मृति दिवस अवसरमा छिन्ताङमा आयोजित कार्यक्रममा उनले उक्त घोषणा गरेका थिए । उक्त समयमा मुख्यमन्त्री राईले केही दिनभित्रै प्रत्येक परिवारलाई ५ लाखका दरले प्रदान गरिने उल्लेख गरेका थिए । उनले घोषणा गरेको समयमा उपस्थित सहिद परिवारका सदस्यले खुसीले लामो समय ताली बजाएर समर्थन जनाएका थिए ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत उक्त समयमा राहतको रकम तत्काल दिने बताएका थिए । जिल्लाबाट प्रतिनिधित्व गर्ने सबैजसो प्रदेश सांसदले प्रदेश सरकारले घोषणा गरेको पाँच लाख राहत यथाशक्य चाँडो उपलब्ध गराउने दाबी गरेका छन् ।

प्रकाशित : माघ १०, २०७६ ०९:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तरकारी फलाएरै घरघडेरी 

जितेन्द्र साह

(जहदा, मोरङ) — भर्खरकी युवती बिहीबार बिहान गोलभेंडा खेत वरिपरि गाडेको बाँसमा डोरी बाँध्दै थिइन् । उमेरमा उनीभन्दा कम देखिने अर्की चेलीले सघाउँदै थिइन् । त्यसपछि ती युवती खेतभित्र पसेर यताउति ढल्किरहेका गोलभेंडाको सानोसानो बोटलाई सोझ्याउन मसिनो डोरीले मास्तिरको बलियो डोरीमा बाँध्दै गइन् ।

‘एक महिना अगाडि बोट रोपेकी हुँ, वैशाखसम्म फल्न सुरु हुन्छ,’ उनले भनिन्, ‘एउटा बोटबाट १५/२० किलो गोलभेंडा उत्पादन हुन्छ ।’ एक कट्ठामा ४ सय बोट रोप्न सकिने उनले बताइन् । लड्न नदिनलाई डोरीले बाँधिरहेको उनले थप जानकारी दिइन् ।

उमेरको तुलनामा धेरै पाका कुरा गर्ने यिनी हुन्, मोरङको सीमावर्ती जहदा गाउँपालिका–४, रामचोककी कान्छी किसान २० वर्षीया रुपाकुमारी सिंह । परिवारको आर्थिक अवस्था खराब भएपछि उनले कक्षा–८ पछि पढ्न सकिनन् । सिंह परिवारसँग घरघडेरी थिएन । मातापितासहित पाँच सदस्यीय परिवारकी माहिली सन्तान उनले परिवारको नेतृत्व लिंदै ऋण काढेर जग्गा भाडामा लिएर तरकारी खेती थालिन् ।

पुरुषको वर्चस्व भएको यो पेसामा प्रवेश गरेको पाँच वर्षमै सफल किसान बनिन् । ‘काठमाडौं र विराटनगरका व्यापारीले घरखेतबाटै तरकारी किनेर लान्छन्,’ सिंहले भनिन्, ‘गाउँभरिमै एक्लो महिला किसान हुँ, उमेरमा पनि सबैभन्दा कान्छी ।’

उनले तरकारी खेतीकै लागि प्रति कट्ठा ३ हजार रुपैयाँको दरले ३६ कट्ठा जग्गा भाडामा लिएकी छन् । जग्गामा वर्षभरि आलैपालो भिन्डी, गोलभेंडा, घिरौंला, बोडी, खुर्सानी, भान्टा, सिमी, लौका, काउली, बन्दा र सागपात लगाउँछिन् ।

‘खर्च र आम्दानीको हिसाबकिताब राखेको छुइनँ तर सहज ढंगले परिवार चलिरहेको छ,’ सिंहले भनिन् । उनको अनुसार मोटामोटी वार्षिक ४ लाख रुपैयाँ लगानी गर्दा तरकारी बेचेर करिब ९ लाख रुपैयाँ उठ्छ । ‘गाउँपालिका, प्रदेश वा संघीय सरकारमध्ये कसैले पनि कुनै खाले सहयोग गरेको छैन, आफैंले जोडेको पुँजीले खेती गरिरहेकी छु,’ उनले भनिन् ।

तरकारी खेतीकै आम्दानीले एक कट्ठा घडेरी किनेर बरन्डासहितको टिनको छाना भएको दुईकोठे घर बनाएकी छन् । उनको उपलब्धि देखेर परिवारजन पनि मख्ख छन् । ‘हाम्रो परिवारको मुखिया (मूली) रूपा हुन्,’ दाइ २३ वर्षीय विशाल सिंहले भने, ‘परिवारको सम्पूर्ण आर्थिक व्यवस्थापन बहिनीले नै गर्छिन्, बुबा र म पनि कमाएर बहिनीलाई नै दिन्छौं ।’ रुपाको दाइ विशाल र बुबा ४६ वर्षीय अजय सिंह प्लम्बरको काम गर्छन् ।

उनी तरकारी खेतीमै किन लागिन् त ? ‘पहिले बुबा पनि खेती गर्नुहुन्थ्यो, आमाले सघाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँहरूकै देखादेख सिकेकी हुँ ।’ २०६६ मा २७ वर्षको उमेरमा आमा शिलादेवीको मृत्युपछि परिवार ओरालोतर्फ लाग्न थालेको सिंहले बताइन् ।

‘घर, खेत र बजारसम्मका काम आमाले हेर्नुहुन्थ्यो, आमाको निधनपछि बुबाको सहारा गुम्यो, परिवारको ढाड नै भाँचियो,’ उनले भनिन्,‘ त्यो कमी पूरा गर्ने कोसिसमा अघि बढेँ ।’ कक्षा–८ सम्म पढेर छाडेकी कान्छी बहिनी १६ वर्षीया सीमाले रूपालाई बरोबर सघाइरहेकी छन् । एक्लोपन महसुस हुन नदिन उनीहरूले बुबालाई अर्को बिहे पनि गराइदिएका छन् जसबाट ७ वर्षीया छोरी प्रीति र ५ वर्षीय छोरा विकास छन् । विराटनगरदेखि करिब १० किमि दूरीमा लोहन्द्रा खोलाछेउको जहदा गाउँपालिकामा ५ हजार ६ सय १५ हेक्टर कृषियोग्य जग्गा छ । ४१ हजार ८ सय १५ जनसंख्या रहेको यहाँका ४ हजार ८ सय ५१ परिवार कृषिमा आश्रित छन् ।

गाउँपालिकाको कृषि शाखाका प्राविधिक सौरभ सिंहले अझ तरकारी खेतीमा पुरुषकै दबदबा रहेको बताए । ‘तरकारीलाई नजिकको सहरबजारमा लगेर बेच्ने र कृषि, आवास एवं सडक निर्माण मजदुरीमा यहाँका महिला लागेका छन् तर पूरा परिवारकै नेतृत्व गर्दै तरकारी खेतीमा लाग्नेमा अहिलेसम्म महिला थिएन,’ उनले भने ।

प्रकाशित : माघ १०, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×