तरकारी फलाएरै घरघडेरी 

जितेन्द्र साह

(जहदा, मोरङ) — भर्खरकी युवती बिहीबार बिहान गोलभेंडा खेत वरिपरि गाडेको बाँसमा डोरी बाँध्दै थिइन् । उमेरमा उनीभन्दा कम देखिने अर्की चेलीले सघाउँदै थिइन् । त्यसपछि ती युवती खेतभित्र पसेर यताउति ढल्किरहेका गोलभेंडाको सानोसानो बोटलाई सोझ्याउन मसिनो डोरीले मास्तिरको बलियो डोरीमा बाँध्दै गइन् ।

तरकारी फलाएरै घरघडेरी 

‘एक महिना अगाडि बोट रोपेकी हुँ, वैशाखसम्म फल्न सुरु हुन्छ,’ उनले भनिन्, ‘एउटा बोटबाट १५/२० किलो गोलभेंडा उत्पादन हुन्छ ।’ एक कट्ठामा ४ सय बोट रोप्न सकिने उनले बताइन् । लड्न नदिनलाई डोरीले बाँधिरहेको उनले थप जानकारी दिइन् ।


उमेरको तुलनामा धेरै पाका कुरा गर्ने यिनी हुन्, मोरङको सीमावर्ती जहदा गाउँपालिका–४, रामचोककी कान्छी किसान २० वर्षीया रुपाकुमारी सिंह । परिवारको आर्थिक अवस्था खराब भएपछि उनले कक्षा–८ पछि पढ्न सकिनन् । सिंह परिवारसँग घरघडेरी थिएन । मातापितासहित पाँच सदस्यीय परिवारकी माहिली सन्तान उनले परिवारको नेतृत्व लिंदै ऋण काढेर जग्गा भाडामा लिएर तरकारी खेती थालिन् ।


पुरुषको वर्चस्व भएको यो पेसामा प्रवेश गरेको पाँच वर्षमै सफल किसान बनिन् । ‘काठमाडौं र विराटनगरका व्यापारीले घरखेतबाटै तरकारी किनेर लान्छन्,’ सिंहले भनिन्, ‘गाउँभरिमै एक्लो महिला किसान हुँ, उमेरमा पनि सबैभन्दा कान्छी ।’


उनले तरकारी खेतीकै लागि प्रति कट्ठा ३ हजार रुपैयाँको दरले ३६ कट्ठा जग्गा भाडामा लिएकी छन् । जग्गामा वर्षभरि आलैपालो भिन्डी, गोलभेंडा, घिरौंला, बोडी, खुर्सानी, भान्टा, सिमी, लौका, काउली, बन्दा र सागपात लगाउँछिन् ।


‘खर्च र आम्दानीको हिसाबकिताब राखेको छुइनँ तर सहज ढंगले परिवार चलिरहेको छ,’ सिंहले भनिन् । उनको अनुसार मोटामोटी वार्षिक ४ लाख रुपैयाँ लगानी गर्दा तरकारी बेचेर करिब ९ लाख रुपैयाँ उठ्छ । ‘गाउँपालिका, प्रदेश वा संघीय सरकारमध्ये कसैले पनि कुनै खाले सहयोग गरेको छैन, आफैंले जोडेको पुँजीले खेती गरिरहेकी छु,’ उनले भनिन् ।


तरकारी खेतीकै आम्दानीले एक कट्ठा घडेरी किनेर बरन्डासहितको टिनको छाना भएको दुईकोठे घर बनाएकी छन् । उनको उपलब्धि देखेर परिवारजन पनि मख्ख छन् । ‘हाम्रो परिवारको मुखिया (मूली) रूपा हुन्,’ दाइ २३ वर्षीय विशाल सिंहले भने, ‘परिवारको सम्पूर्ण आर्थिक व्यवस्थापन बहिनीले नै गर्छिन्, बुबा र म पनि कमाएर बहिनीलाई नै दिन्छौं ।’ रुपाको दाइ विशाल र बुबा ४६ वर्षीय अजय सिंह प्लम्बरको काम गर्छन् ।


उनी तरकारी खेतीमै किन लागिन् त ? ‘पहिले बुबा पनि खेती गर्नुहुन्थ्यो, आमाले सघाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँहरूकै देखादेख सिकेकी हुँ ।’ २०६६ मा २७ वर्षको उमेरमा आमा शिलादेवीको मृत्युपछि परिवार ओरालोतर्फ लाग्न थालेको सिंहले बताइन् ।


‘घर, खेत र बजारसम्मका काम आमाले हेर्नुहुन्थ्यो, आमाको निधनपछि बुबाको सहारा गुम्यो, परिवारको ढाड नै भाँचियो,’ उनले भनिन्,‘ त्यो कमी पूरा गर्ने कोसिसमा अघि बढेँ ।’ कक्षा–८ सम्म पढेर छाडेकी कान्छी बहिनी १६ वर्षीया सीमाले रूपालाई बरोबर सघाइरहेकी छन् । एक्लोपन महसुस हुन नदिन उनीहरूले बुबालाई अर्को बिहे पनि गराइदिएका छन् जसबाट ७ वर्षीया छोरी प्रीति र ५ वर्षीय छोरा विकास छन् । विराटनगरदेखि करिब १० किमि दूरीमा लोहन्द्रा खोलाछेउको जहदा गाउँपालिकामा ५ हजार ६ सय १५ हेक्टर कृषियोग्य जग्गा छ । ४१ हजार ८ सय १५ जनसंख्या रहेको यहाँका ४ हजार ८ सय ५१ परिवार कृषिमा आश्रित छन् ।


गाउँपालिकाको कृषि शाखाका प्राविधिक सौरभ सिंहले अझ तरकारी खेतीमा पुरुषकै दबदबा रहेको बताए । ‘तरकारीलाई नजिकको सहरबजारमा लगेर बेच्ने र कृषि, आवास एवं सडक निर्माण मजदुरीमा यहाँका महिला लागेका छन् तर पूरा परिवारकै नेतृत्व गर्दै तरकारी खेतीमा लाग्नेमा अहिलेसम्म महिला थिएन,’ उनले भने ।

प्रकाशित : माघ १०, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?