३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

निवृत्त जीवन झनै सक्रिय

(धनकुटा) — लामो समय सरकारी जागिरमा रहेर निवृत्त भएपछि कतिपयको समय घरैमा आराम गरेर बित्छ । कतिपय घुमफिरमा रमाउँछन् । केही व्यक्ति भने सक्रिय भएर सिर्जनात्मक काममा लाग्ने गरेका छन् । यस्तै केही उदाहरणीय व्यक्ति धनकुटामा सक्रिय छन् ।

निवृत्त जीवन झनै सक्रिय

चित्रकलामा मग्न

६३ वर्षीय डिल्लीकृष्ण आलेलाई अचेल फुर्सद मिलाउनै हम्मे छ । ३५ वर्ष सरकारी जागिरपछि २०७२ सालमा सेवानिवृत्त भएका उनी चित्रकारितामा रमाइरहेका छन् । उनले दर्जनौं स्थानमा चित्रकला प्रदर्शनी गरिसकेका छन् । भारतमा समेत नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका छन् । बाल्यकालदेखि नै चित्रकलामा चासो राख्दै आएका उनी जागिरे जीवनपछि यो क्षेत्रमा लाग्न पाएका थिएनन् । प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय प्रदर्शनीमा उनको चित्र छानिएिपछि भने क्रियाशील हुन उत्साह थपिएको उनको भनाइ छ ।


इन्टरनेशनल वाटर कलर सोसाइटीमा २०७४ सालमा छानिएको उनको चित्र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो । यही संस्थामार्फत भारतका प्रसिद्ध कलाकार अमित कपुर अध्यक्ष रहेको ओलम्पियामा समेत उनको चित्रले स्थान पाइसकेको छ । ८० मुलुकका सहभागी कार्यक्रमा नेपालको प्रतिनिधित्व गरेका थिए । ‘जागिरे जीवनमा घर र कार्यालय आतेजातेमा समय बित्थ्यो’ उनले भने, ‘पेन्सन भएपछिको समय मेरो लागि जीवनकै सबैभन्दा क्रियाशील बनेको छ ।’ वाटर, एक्रेलिक, तेल र पेन्सिल चित्र बनाउन खप्पिस छन् । उनी पानी रंग बढी रुचिकर बनेको बताउँछन् ।


बालबालिकालाई चित्रकला तालिमदेखि आफ्ना सिर्जना प्रदर्शन पनि गर्दै आएका छन् । ‘सक्रिय भएपछि आफू जवान भएजस्तै लाग्दो रहेछ’ उनले भने, ‘अवकासपछि निस्क्रिय बस्नु भन्दा जति सक्छु यसैमा रमाउँछु ।


वकालतमा व्यस्त

उपसचिव पदबाट सेवानिवृत्त ६० वर्षिय खुलानाथ रेग्मीको दैनिकी जागिरे जीवन भन्दा सक्रिय छ । दुई वर्षअघि निवृत्त उनको अहिलेको पेशागत परिचय बदलिएको छ । सुरुवाती एक दशक शिक्षण र पछिल्लो अढाई दशक शाखा अधिकृतदेखि उपसचिव पदमा उनले बिताए । उतिबेलाको दैनिकी कार्यालयको काममा सीमित थियो । अचेल कानुन व्यावसायीका रुपमा सक्रिय छन् । तीन दशकअघि कानुनमा गरेका उनी अब कानुनी अभ्यासमै लाग्ने बताउँछन् । ‘पढेको विषय व्यावहारिक रुपमा सदुपयोग गरेको थिइन’, उनले भने, ‘वकालत गर्न रुचि लागेकोले यो उमेरमा भए पनि जुटेको छु ।’


विराटनगर महानगर १२ स्थायी घर भएका उनले पछिल्लो कर्मथलो धनकुटालाई बनाएका छन् । निवृत्त भएर केही समय घरमा बस्नु पट्यारलाग्दो हुने भएकाले सक्रिय हुन चाहेको उनको भनाइ छ । २०४८ सालमा अधिवक्ताको लाइसेन्स लिए पनि सरकारी जागिरका कारण त्यसको सदुपयोग गर्न सकेनन् । अचेल दैनिक आठ घण्टा लेखापढीको काममा बिताउँदै आएका छन् ।


कृषिकर्ममा रमाउँदै

राजेन्द्र पौडेल पहिले बैंकका जागिरे थिए । राष्ट्रिय बाणिज्य बैंकमा प्रबन्धक पदबाट सेवा निवृत्त भए । ३० वर्ष बैंकिङ् सेवाको अनुभव संगालेका कतिपय वित्तिय संस्थाले कामका लागि बोलाए । गएनन् । अचेल उनको समय कृषि कर्ममा बित्छ । महालक्ष्मी नगरपालिका ७ स्थायी घर भएका उनी हाल धनकुटा ३ वारिपात्लेमा फलफूल खेती र पशुपालन गर्छन् । पेन्सनबाट प्राप्त रकम र थप ऋण काढेर उनले १६ रोपनीमा जग्गा किनेको उनले बताए । उक्त जग्गामा ४५ लाख लगानी गरेर उनले सुन्तला, कागती, एभोकाडो, किवीजस्ता फलफुलका विरुवा लगाएका छन् । साढे ३ रोपनीमा कागती, ६० बोट सुन्तला, १ सय ३० बोट एभोकाडो र २५ बोट किवी फल रोपेका छन् ।


धअकबरे खुर्सानी उत्पादन गरेर मनग्य आम्दानी समेत हात पारेको बताए । विरुवा र मल आफै उत्पादन गर्छन् । नीम र अन्य जडीबुटीबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्छन् । ३ जनालाई रोजगारी समेत दिएका छन् । पुर्ख्यौली थलो जीतपुरमा समेत उनले ७० रोपनी जग्गामा साढे ६ सय एभोकाडो र कागती खेती गरेका छन् । जागिरपछि निवृत्त भएका सक्रियमध्ये धनकुटा ६ का दामोदर दाहाल र धनकेशर खड्का पनि उदाहरणीय व्यक्तित्व हुन् । दाहाल धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा अनुसन्धान र खोजमा समय बिताउँदै आएका छन् । खड्का समाज सेवामा सक्रिय छन् ।

प्रकाशित : माघ ९, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?