कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जीवनस्तर सुधार्न पालिकाको लगानी

डम्बरसिं राई

(खोटाङ) — गाउँमा कतै माछापालन गरिएको छ । कतै बंगुर र बाख्रा पालन भइरहेको छ । अनि कतिपय स्थानमा फलफूल खेती गर्न स्थानीय सक्रिय छन् । कृषि, पशु, स्वास्थ्य, शिक्षा, पर्यटनजस्ता क्षेत्रमा काम गरे गाउँवासीको जीवनस्तर उकासिने भन्दै साकेला गाउँपालिकाले ती क्षेत्रमा लगानी गरेको हो ।

कृषिको माध्यमबाट गाउँलेको उन्नति गर्ने लक्ष्यसाथ काम भइरहेको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । विभिन्न वडामा नमुना कृषि फर्महरू, बाख्रा पालन, बंगुर पालन, राँगा भैंसीपालन, कुखुरा पालन, रेन्बो ट्राउट, माछा पालन योजना सञ्चालन गरिएको उनले सुनाए । ‘कृषिको माध्यमबाटै समृद्धि सम्भव छ,’ खड्काले भने, ‘जनताले अनुभूति गर्ने विकासमा जोड दिइएको छ ।’ उनका अनुसार कागती, कफी, नास्पाती, चिया लगायतको नर्सरी बनाइएको छ । विभिन्न ‘पकेट क्षेत्र’ बनाएर फलफूल, माछा, किवी खेती सुरु गरिएको कृषि विकास शाखाका संयोजक गणेश राईले बताए ।


वडा २ रतन्छाका बासिन्दाले माछा उत्पादन सुरु नै गरेका छन् । यहाँका करिब १५ सय घरले व्यावसायिक माछा पालन गरिरहेको वडाध्यक्ष उन्नत राईले बताए । पानीको स्रोत प्रशस्त भएकाले माछा पालन गर्न सहज हुने देखेर युवा समूह बनाएर यसमा लागेको उनले सुनाए । उनी आफैं पनि माछापालन गरिरहेका छन् । एउटै पोखरीबाट एकपटकमा ९० किलो माछा बेचेको राईले बताए ।


माछा पालनबाट राम्रौ आम्दानी हुने भएपछि यहाँका १३ जना युवाले एलेलेमा पौरखी माछा पालन कृषक समूह स्थापना गरी एक वर्षदेखि व्यावसायिक माछापालन सुरु गरेका छन् । उनीहरूले पालेको माछा बेच्ने बेला भएको छ । एउटै माछा करिब एक केजी हाराहारीको भएको माछा पालन समूहका सचिव सन्तराज राईले बताए ।


सप्तरीको फत्तेपुर मत्स्य विकास केन्द्रबाट माछाका भुरा ल्याएर पाल्न सुरु गरेका हुन् । उक्त ठाउँबाट ७० हजार भूरा ल्याएर व्यवसायिक माछा पालन सुरु गरेको राईले सुनाए । रतन्छाबासीको माछा पालनप्रति जाँगर देखिएपछि गत वर्ष गाउँपालिकाले दुई लाख ५० हजार माछाका भूरा ल्याएर वितरण गरेको थियो ।


वडा १ बाँझेच्यानडाडाँमा कागती, वडा २ रतन्छामा नास्पाती, ३ मा चिया र किवी, वडा ५ मात्तिममा कफी पकेट क्षेत्र विकास गर्ने योजना बनाइएको अध्यक्ष खड्काको भनाई छ । यसका लागि किसानलाई विशेष अनुदान र प्राविधिक ज्ञान उपलब्ध गराएको उनले सुनाए ।


स्थानीयको आर्थिक स्तर उकास्न उद्योग विस्तार सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए । उनका अनुसार अल्लो प्रशोधन उद्योग, ढाका कपडा उद्योग, राडीपाखी उद्योगलाई प्राथमिकतामा राखिएको छ । अल्लो प्रशोधनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको मगरले बताए ।


गाउँपालिकाले पर्यटन प्रबर्द्धनमा पनि जोड दिएको छ । तावाताल, मपारुङ भीर, टेम्केलगायत क्षेत्रको पर्यटन प्रबर्द्धनमा जोड दिएको अध्यक्ष खड्काले सुनाए । यसअन्तरगत तावा तालको डिपिआर सकेर त्यसको वातावरणीय प्रभाव मुल्याङ्कनको चरणमा पुगेको छ । त्यसपछि तावाताल निर्माणको चरणमा प्रवेश गर्ने जनाइएको छ । उक्त ताल ५६ करोड ५७ लाखको बजेटमा निर्माण हुने उल्लेख गर्दै खड्काले बजेट जोहो गर्ने पहल भइरहेको बताए ।


मपारुङ भीरको डिपिआर निर्माण भइरहेको छ भने मानेभन्ज्याङ–टेम्के पदमार्ग पनि निर्माणाधीन चरणमा छ । उक्त पदमार्गका लागि प्रदेश सरकारको गत वर्ष बीस लाख र यो वर्ष ४० लाख बजेटले काम भइरहेको हो । पदमार्ग यसै आर्थिक वर्षमा सकिने गाउँपालिकाले जनाएको छ ।


शिक्षा र स्वास्थ्यलाई विशेष प्रामथमिकतामा राखेर काम भइरहेको खड्काको भनाइ छ । ‘गाउँपालिकाभरका २८ वटा विद्यालयमा गुणस्तरीय पठन–पाठनका लागि विशेष योजनाका साथ अघि बढिएको छ’ उनले भने ‘बालकालिका भोलिको जनशक्ति भएकाले त्यसै अनुसार उनीहरूको क्षमता विकासमा ध्यान दिइएको छ ।’


स्वास्थ्यमा पनि विशेष योजनाका साथ काम भइरहेको अध्यक्ष खड्काको दाबी छ । रोग लाग्नु भन्दा पहिले अपनाउनुपर्ने कुरा र रोग लागिसकेपछि हुने उपचारबारे जनचेतनाका कार्यक्रम भइरहेको खडकाले सुनाए । गाउँपालिकाको पाँचवटा वडामध्ये २ रतन्छा, ३ खिदीमा र वडा ५ मात्तिममा वर्थिङ सेन्टर सञ्चालन भइसकेको छ । वडा १ बाँझेच्यानडाँडा र वडा ४ माथिल्लो मात्तिममा यो वर्षबाट सुरु हुने छ । उक्त पालिकाको सबै वडामा सडक विस्तार भइसकेको छ । यो वर्षबाट कालोपत्रेको चरणमा प्रवेश गरेको खड्काको भनाई छ । उनका अनुसार यो वर्ष साप्सुबाट गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ हुदै भोजपुर जोड्ने सडक कालोपत्रेको काम सुरु हुने छ ।

प्रकाशित : माघ ९, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?