१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बिरुवा बेचेर लाखौं कमाइ

(उदयपुर) — उद्यमी बन्न एकैपटक धेरै लगानी गर्नुपछै भन्ने छैन । सीप र ज्ञान भए थोरै लगानीमा पनि प्रगति गर्न सकिन्छ । यसको उदाहरण हुन् रौतमाई गाउँपालिका–६ सल्लेका ४७ वर्षीय टेकबहादुर पाठक ।

बिरुवा बेचेर लाखौं कमाइ

औपचारिक शिक्षा लिएका छैनन् । तर कृषि कर्मबारे उनीसँग भएको ज्ञान लोभलाग्दो छ । लगातार मिहिनेतले उनी कृषि उद्यमी बन्न सफल बनेका छन् । ‘बाबु बाजेले पढेका थिएनन्, सयौं रोपनी खेती गर्थे’, पाठकले भने, ‘मलाई पनि नपढ्दैमा केही गर्न सकिँदैन भनेर बस्न मन लागेन ।’ मजदुरी गरेर कमाएको ६० रुपैयाँबाट कृषि कर्म थालेका उनी लाखौं आम्दानी गर्ने भइसकेका छन् । ‘थोरै लगानी गरेर फलफूल नर्सरीबाट खेती सुरु गरें’ पाठकले भने, ‘राम्रो हुँदै गयो, अचेल त्यसैबाट राम्रो कमाइ भइरहेको छ ।’ नपढेको मान्छे पनि उदाहरण बन्न सकिन्छ भन्ने पाठकलाई लाग्थ्यो । सामान्य लेखपढ गर्न समेत नसक्ने पाठकले झन्डै २० रोपनी जग्गामा फलफूलको नर्सरी सुरु गरे । खासगरी सुन्तला खेतीका लागि नर्सरी सुरु गरेका उनले नमुनाका लागि किवी, स्याउ, नास्पाती, कागती, करेला, बरेला, टमाटर र धनियाँ खेती पनि सँगै लगाए ।


सुन्तलाले आम्दानी ढिलो दिने भएकोले खर्च धान्न अरु उपज पनि लगाएको उनको भनाइ छ । बाह्रैमास उत्पादन हुने हरियो धनियाँ र टमाटर बेचेर उनी फलफुल खेती विस्तार गरिरहेका छन् । १२ वर्षअघि ८ रोपनीबाट खेती सुरु गरेका पाठकको अहिले २० रोपनी क्षेत्रफलमा विभिन्न जातका फलफूल खेतीसँगै नर्सरी छ । ‘सुरु गरेको ४/५ वर्षसम्म आम्दानी हुँदैन थियो’ पाठकले भने ‘अचेल भने वर्षमा कम्तीमा एक लाख रुपैयाँ कमाइ हुन्छ ।’ खेती विस्तार गरेकाले आउँदा वर्ष कमाइ झन् बढ्ने उनको भनाइ छ ।


रौतामाइ गाउँपालिकाको आँपटार र पोखरी क्षेत्र सुन्तला उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । त्यसैले पनि अहिले पाठकले सुन्तलाको नर्सरीलाई प्राथमिकतामा राखेका छन् । फलफूलभन्दा नर्सरीबाट आम्दानी बढी हुने उनी बताउँछन् ।


नर्सरीमा अहिले २० हजारभन्दा बढी सुन्तला बिरुवा तयार छन् । प्रतिगोटा १५ रुपैयाका दरले बेच्छन् । कागती र अन्य फलफुलका बिरुवासमेत छन् ।


नर्सरी व्यवस्थापनको तासलम लिएपछि ज्ञान बढनुका साथै फलफुल खेती गर्ने सिपको समेत विकास भएको उनले बताए । ‘नर्सरी भएको क्षेत्रमै ग्रीन हाउस बनाउने सोच छ’ पाठकले भने, ‘तर त्यसका लागि कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्छ ।’


पाठकले नर्सरी र फलफुल खेती गर्न देखाएको जाँगर लोभलाग्दो भएको रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खडकाले बताए । ‘पाठक किसानका लागि पढ्नु पर्ने किताब हुन्’ खोटाङको जन्तेढुगा गाउँपालिकाका किसान कृष्णध्वोज राइले भने, ‘उनको ज्ञान र क्षमता हेर्दा गरे के हुदैन भन्ने सोचको विकास गरेको छ ।’

प्रकाशित : माघ ८, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?