विद्यार्थीका लागि ‘साहित्य उत्सव’- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थीका लागि ‘साहित्य उत्सव’

कान्तिपुर संवाददाता

(इटहरी) — विद्यार्थीलाई भाषा, कला र साहित्यको महत्वबारे जानकार बनाउने उद्देश्यले साहित्य उत्सव आयोजना गरिएको छ । समता स्कुल पूर्वी क्लस्टरको आयोजनामा भएको उत्सवमा विद्यार्थी, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता थियो ।

यस अवसरमा इटहरीस्थित समता स्कुलमा चर्चित साहित्यकार भेला भएका थिए । उत्सवमा विद्यालय शिक्षा र साहित्य, कविता वाचन, अन्तरसंवाद अनि कविता प्रतियोगिता पनि भएको थियो ।


साहित्यकार मिश्र बैजयन्तीले विद्यालय शिक्षा र साहित्यबारे चर्चा गरिन् । पुस्तकलाई मानिसको अभिन्न अंगको रुपमा लिनुपर्ने उनले बताइन् । ‘कक्षा कोठामा नपाइने ज्ञान किताबले दिन्छ’ उनले भनिन्, ‘त्यसैले ज्ञान बटुल्नका लागि अध्ययन जरुरी छ ।’ उनले विद्यार्थीलाई कम्तीमा महिनामा एउटा पुस्तक पढ्न सुझाव थिइन् ।


प्राडा. टंक न्यौपानेले विद्यार्थीलाई साहित्यमा उत्प्रेरणा गराउने कार्यक्रम गरेकामा खुसी व्यक्त गरे । विद्यार्थीको मनोभावना र लयबद्ध तरिकाले पढाउन सके मात्र विद्यार्थीले रुचिपूर्वक पढाइमा ध्यान दिने बताए । विद्यार्थीमा उत्सुकता किन र कसरी बढाउने भन्नेबारे मनु मन्जिल, सीमा आभास, सुदिप पाख्रिन र इरान राई सहभागी थिए ।


साहित्यमा विद्यार्थीको अभिरुचि जगाउने उद्देश्यले पहिलोपल्ट पूर्वमा समता उत्सव आयोजना गरेको समता पूर्वी क्लस्टरका साहित्य तथा सांस्कृतिक दूत बिमल वैद्यले बताए । पूर्वमा रहेका समता स्कुलका मावि तहका १० जना विद्यार्थीबीच कविता प्रतियोगिता भएको थियो ।


प्रतियोगितामा लहानकी कृतिका पल प्रथम, दमकका वसन्त चापागाई दोस्रो, इटहरीकी आशिका राई तेस्रो भइन् । यस्तै, विराटनगरकी दीक्षा आचार्य र इलामकी मुना आचार्यले सान्त्वना पुरस्कार प्राप्त गरे ।

प्रकाशित : माघ ८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

बैतडीको डिलाशैनी गाउँपालिकाको कार्यालयमा आगजनी

तृप्ति शाही

बैतडी — बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा आगजनी गरिएको छ । बुधबार बिहान ३ बजे तिर वडा नम्बर ३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएकाे हाेे ।

यस्तै गाउँपालिकाले भाडामा लिने गरेको म १ च ४८८ नम्बरको जिपमा पनि आजगनी गरिएको छ । नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको जिप गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से १ च ४५९ नम्बरको एक्स्काभेटरमा पनि आगजनी गरिएको छ । एक्स्काभेटरमा आगजनीबाट क्षति पुगे पनि जिपमा भने खासै क्षति नभएको जिल्ला प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले बताए ।

त्यस्तै वडा नम्बर ३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा शंकास्पद वस्तु पनि फेला परेको छ । शंकास्पद वस्तुबारे बुझ्न र निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न डीएसपी पाण्डेयको टोली पनि घटनास्थलर्फ गएको छ । आगजनी कसले गराएको भन्नेबारे केही जानकारी नखुलेको उनले बताए । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । यही विषयलाई लिएर घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

डिलाशैनी गाउँपालिकको केन्द्र वडा नम्बर ७ मा तोकिएको भए पनि सम्पूर्ण कामकाज वडा नम्बर ३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ । डिलाशैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ । पालले आफ्‍नो इच्छाअनुसार गाउँपालिका चलाएको आरोप पनि स्थानीयले लगाउँदै आएका छन् ।

प्रकाशित : माघ ८, २०७६ १०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×