कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नयाँ पुस्ता चलाउँदैन धनुष–काँड

अर्जुन राजवंशी

(बिर्तामोड) — बुबाले २० बर्षअघि बनाएको तीर–धनुष घरमा अझै छ । तर, २५ बर्षीय सुफल हास्दा धनुषकाँड चलाउन जान्दैनन् । निशाना लगाउन नसक्ने भएकै कारण कनकाई नगरपालिका १ जामुनबारीमा आयोजित सन्थाल जातिको ‘धनुषकाँड प्रतियोगिता’ मा उनले भाग लिएनन् । 

नयाँ पुस्ता चलाउँदैन धनुष–काँड

धनुषकाँड सीमान्तकृत सन्थाल जातिको परम्परागत कला हो । बर्षमा कम्तीमा एक पटक सन्थाल जातिले अनिवार्य तीर–धनुष चलाउनुपर्छ । जन्म र विवाहमा तीर–धनुष अनिवार्य हुन्छ । माघ १५ देखि मनाइने ‘सोराई पर्व’ मा धनुषकाँडको कला प्रदर्शन गरिन्छ ।


परम्परागत भएपनि सन्थाल जातिमा धनुषकाँडको ‘कला’ लोपन्मुख बनेको छ । तीर–धनुषलाई सन्थाल जातिले भरपर्दो हतियारको रुपमा समेत लिने गर्छन् । आत्मरक्षा तथा सिकार खेल्नका लागि पनि सन्थालको घरमा तीर–धनुष राखेको पाइन्छ ।


सन्थाल जातिको परिवारमा छोराछोरी जन्मिएपछि ‘तीर–धनुष’ आवश्यक हुन्छ । ‘नानी जन्मिएपछि नानीलाई सुताउनुपर्छ । नानीलाई सुताएको ठाउँदेखि ३ फिट टाढा तीर र धुनष राख्नुपर्ने संस्कार छ’ कनकाई ७ का शंकर मुर्मुले भने,‘यस्तो गर्दा नानी सुरक्षित रहने विश्वास छ ।’ उनले विवाहमा समेत तीर–धनुष आवश्यक हुने गरेको बताए । उनले भने,‘विवाहमा तयार गरिने चारकुने पोखरीमा जकमन्झी (पुजारी) ले तीन वटा तीर तीनतिर गाडेर पुजा गर्ने चलन छ ।’ सन्थाल जातिको ठूलो पर्व ‘सोराई पर्व’ हो । यो पर्व माघ १५ देखि पाँच दिनसम्म मनाइन्छ । पर्वको अन्तिम दिन तीर–धनुष मार्फत सिकार खेल्न जानुपर्ने चलन छ । सिकार खेलेर फर्किएपछि साँझतिर निशाना लगाउनुपर्ने परम्परा रहेको ६१ बर्षीय अगुवा भगन टुडुले बताए ।


‘पर्वका अवसरमा घरपरिवारका कसैलाई दानवी व्यवहारबाट नोक्सानी नहोस भनि तीर–धनुष चलाउने चलन छ । राक्षसको प्रतिकलाई तीर–धनुष मार्फत आक्रमण गर्नुपर्छ । जसले तीर मार्फत राक्षसको प्रतिकलाई ढाल्छ, उहीँ भाग्यमानी बन्ने धार्मिक विश्वास छ’ उनले भने ।


सन्थाल जातिमा सोराई जस्तै अन्य पर्वका बेला पनि जंगलमा तीर–धनुष मार्फत सिकार गर्ने चलन छ । तर, पछिल्लो समय सरकारले जंगलमा सिकार खेल्न प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धपछि सन्थाल जातिको तीर–धनुष घरमै थन्किएका छन् ।


‘पहिला सिकार खेल्ने चलन थियो । तीर–धनुष चलाउनुलाई एउटा बहादुरीकै रुपमा लिइन्थ्यो । तर, अहिले सरकारले सिकार खेल्न प्रतिबन्ध लगाएको छ । यसबाट हाम्रो संस्कारमा गम्भीर असर पुगेको छ’ बडाराम हेमरमले भने । वन्यजन्तुको सिकार गरेमा कानुनी सजायको व्यवस्था भएपछि सन्थाल जाति तीर–धनुष बोकेर सिकार गर्न जान छोडेको उनले बताए ।


यसको असर नयाँ पुस्तामा गम्भीर रुपमा परेको उनले बताए । ‘धनुषकाँड हाम्रो परम्परागत कला हो । तर, अहिलेको पुस्तालाई यसबारे केही जानकारी छैन । निशाना लगाउन त टाढाको कुरा धेरैलाई तीर–धनुष चलाउनसम्म आउदैन’ उनले भने । विगतमा जिल्लाका घना जंगल नजिक सन्थाल जातिको ठूला ठूला बस्ति हुन्थे ।


जंगली जनावरबाट हुन सक्ने आक्रमण रोक्न पनि उनीहरूले घरघरमा तीर–धनुष राख्ने गरेको हेमरमले बताए । सन्थाल जातिमा लोकप्रिय मानिने धनुषकाँड कला प्रदर्शनी अहिले एउटा प्रतियोगितामा सीमित बनेको छ ।


प्रजातान्त्रिक योद्धा तथा आदिवासी नेता तुर्षा हेमरमको स्मृति दिवसमा प्रत्येक बर्ष पुस २० मा सन्थाल जातिको लागि ‘धनुषकाँड प्रतियोगिता’ आयोजना गरिन्छ । तुर्षा हेमरम स्मृति प्रतिष्ठानले आयोजना गर्ने उक्त प्रतियोगितामा निशाना लगाउन जिल्लाभरीका सन्थाल थन्काएर राखेका तीर–धनुष बोकेर आउने गरेको बाह्रदशी गाउँपालिका ६ का विश्वनाथ मुर्मुले बताए ।

प्रकाशित : माघ ७, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?