३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्रदेश लोकसेवा आयोगमा अध्यक्ष र दुई सदस्यको नाम सिफारिस

देवनारायण साह

मोरङ — प्रदेश लोकसेवा आयोगका अध्यक्ष र दुई सदस्यको नाम नियुक्तिका लागि सोमबार सिफारिस गरिएको छ । आयोगको अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराई, सदस्यद्वयमा टीकादत्त राई र सीमा आभाषको नाम सिफारिस गरिएको सिफारिस समितिका सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले बताए ।

सिफारिस समितिले नियुक्तीका लागि प्रदेश प्रमुख समक्ष उनीहरुको नाम सिफारिस गरेको हो ।


प्रदेश १ को लोकसेवा आयोग गठनसम्बन्धी ऐन २०७६ अनुसार मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता कोइराला रहेको सिफारिस समितिले उनीहरुको नाम सिफारिस गरेको हो ।


नियुक्तिका लागि सिफारिस भएका तीन सदस्यमध्ये आभाष कांग्रेसबाट परेको कोइरालाले बताए । उनी साहित्यकार हुन् । भट्टराई पूर्वकृषि सचिव र राई प्रदेश १ मुख्यमन्त्री कार्यालयका सचिव हुन् । आयोगमा नियुक्ति पाउने भएसँगै उनले राजीनामा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनीहरुको सपथ ग्रहण मंगलबार हुने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।


मुख्यमन्त्री राईले पुस २९ गते एक हप्ताभित्र प्रदेश लोक सेवा आयोग गठन गर्ने घोषणा गरेका थिए । संघीय सरकारले निजामति ऐन निर्माण नगरेकाले कर्मचारी भर्ना प्रक्रिया तत्काल सुरु गर्न कठिनाई छ ।


प्रदेश समन्वय परिषद् बैठकमा स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश लोक सेवा आयोग गठन गरी जनशक्ति व्यवस्थापनको माग गरेका थिए ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएको २९ औं वार्षिक प्रतिवेदनमा प्रदेश लोक सेवा आयोग गठन तथा योग्यता प्रणालीका आधारमा कर्मचारी नियुक्ति गर्न सुझाव दिएको थियो ।


प्रदेश १ को मन्त्रिपरिषदले प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा राख्ने मंसिर २४ गते निर्णय गरिसकेको छ ।

प्रकाशित : माघ ६, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?