सडकजति पार्किङलाई ठिक्क !

देवनारायण साह

मोरङ — विराटनगर महानगरपालिकामा अर्बौंको लागतमा सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । सडक बिस्तार गरी सवारी साधनको सहज आवागमन अनि पैदलयात्रुका लागि सजिलो होस् भन्ने उद्देश्य छ ।

सडकजति पार्किङलाई ठिक्क !

तर जति सडक फराकिलो बनाए पनि यस्तो सजिलो भने हुन सकेको छैन । आउजाउ नै कठिन हुने गरी जताततै गाडीहरू पार्किङ्ग गर्ने क्रम रोकिएको छैन । यही कारण सहज आवागमन प्रभावित मात्र छैन, दुर्घटना पनि बढेका छन् । महानगरस्थित रानी–इटहरी ६ लेन, मूल सडकलगायतका सडकहरूमा जताततै सवारी पार्किङ्ग हुँदा दुर्घटनाको जोखिम बढेको छ ।


अव्यवस्थित रुपमा हुँदै आएको सवारी साधन पार्किङ्गले महानगरपालिका अस्तव्यस्तसमेत बनेको छ । ट्राफिक व्यबस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले यहाँका मूल सडक तथा पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरूको पसल हटाएको छ । सडकपेटी र सडक छेउ सवारी साधन पार्किङ्ग गर्न छाडिएको छैन ।


व्यापारीहरूले सडक पेटीसमेत अतिक्रमण गरेर पसल थाप्ने गरेका छन् । केही ठाउँमा व्यापारीहरूले सडकपेटी अतिक्रमण गरेर स्थायी संरचना बनाउँदा समेत सरोकारबाला निकाय मौन छ । औद्योगिक नगरी विराटनगरको मूल, सहायक र गल्लीलगायतका सडक जताततै अव्यवस्थित पार्किङ्गले अस्तव्यस्त बनेको छ । पार्किङ्ग क्षेत्र उल्लेख नभएको ठाउँमा पार्किङ्ग गरेको पाइएमा तत्काल ट्राफिक प्रहरीलाई कारबाही गर्ने अधिकार छ । तर पार्किङ्ग व्यवस्थित गर्ने जिम्मेबार निकाय ट्राफिक प्रहरीले सडकको एक लाइन पार्किङ्गका लागि चेतना अभियानलगायत कार्यक्रम अहिले सञ्चालन गरिरहेका छन् ।


६ लेन बन्दै गरेको सडक रानी–इटहरीको विराटनगर खण्डमा जताततै मालबाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकललगायतका सवारीसाधन पार्किङ्ग हुँदै आएको छ । आयल निगम प्रदेश १ कार्यालयमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरको पार्किङ्ग स्थल ६ लेन सडक बनेको छ ।


सडकको दुबै छेउमा लहरै मिलाएर ट्याङकर पार्किङ्ग गरिदै आएको हो । ट्याङकर तथा मालबाहक सवारीसाधन ट्राफिक प्रहरीसँगको सेटिङमा सडकमा पार्किङ्ग गर्दै आएको जानकारहरू बताउँछन् । भठ्ठीमोडदेखि रोडशेष चौकसम्म पार्किङ्ग गर्ने भारतीय तथा नेपाली नम्बरको मालबाहक सबारीसाधनबाट अबैध रकम उठाउन २४ सै घण्टा ट्राफिक प्रहरी खटिएको हुन्छ । उनीहरू नेपाली नम्बरका सबारीभन्दा भारतीय नम्बरका सवारीसाधनलाई अनेक बहानामा जरिबाना भन्दै अबैध रुपमा रकम असुली गर्दै आएको सवारी चालकहरूले गुनासो पोखे ।


भरतीय मालबाहक सवारीका रामबिर सिंहका अनुसार भारतबाट मालसामान बोकेर सुनसरी मोरङ औद्योगिक करिडोरको उद्योगको कच्चा पदार्थ लिएर आउँदा र उत्पादित बस्तु लिएर फर्किदा एउटा गाडीबाट ट्राफिक प्रहरीले सामान्य रुपमा २/४ हजार असुल्ने गरेको गुनासो पोखे ।


उनी जस्तै सुनसरी मोरङ करिडोरका १ हजार बढी मालबाहक सवारी चालकसँग यहाँका ट्राफिक प्रहरीको दैनिक २४ सै घण्टा यस्तै व्यवहार भइरहेको चालकहरू बताउँछन् । यस्तै, जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर बजारको मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि भन्दै वन–वे गर्दै आएको छ । तर वन–वे बाटोमा जताततै व्यापारीहरूको सवारीसाधन पार्किङ्ग हुँदै आएको छ ।

विराटनगर बजार क्षेत्रस्थित मूल सडकमा व्यापारी तथा सर्वसाधारणले पार्किङ्ग गरे वापतको शुल्क असुलीका लागि महानगरले गैर कानूनी रुपमा टेण्डर नै लगाएको छ । चाल आर्थिक बर्षमा उक्त शुल्क असुलीका लागि कोशी बहिरा संघ मोरङलाई ठेक्का दिएको महानगरका बित्त व्यबस्थापन महाशाखाले जनाएको छ ।


गैरकानूनी रुपमा मूल सडकमा पार्किङ्ग गराएर शुल्क असुली गरे वापतसमेत बहिरा संघसँग ट्राफिक प्रहरीले नजराना असुल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्रोतले जनायो । सवारी पार्किङ्गसँगै स्थानीयबासीले बालुवा, गिट्टी, माटो, इटालगायतका निर्माण सामग्री सडकमै राख्ने गरेकाले पनि दुर्घटनाको जोखिम बढेको छ । निर्माण सामग्री सडकमा राख्नेसँग पनि ट्राफिक प्रहरीले अबैध रुपमा रकम असुल्ने गरेको पाइएको छ ।


विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अहिले सडक सफाई अभियान सञ्चालन भइरहेको बताए । । ‘महानगरमा अहिले निर्माण भएको सबै सडक चिट्टिक बनाउने र सिंगार्ने काम सुरु गर्दै छौं,’ उनले भने, ‘सडक र चोकलाई सिंगार्ने कामसमेत सञ्चालन गर्न लागेका छौं ।’ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा दुई लेन पार्किङ्गलाई एक लेनमा व्यवस्थित गर्ने काम भइरहेको पराजुलीको भनाई थियो । टोल विकास समितिमार्फत सडकलाई सफा र स्वच्छ राख्ने अभियान समेत सञ्चालन गरिरहेको उनले दावी गरे ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले कोशी राजमार्गस्थित महेन्द्र चोकदेखि बरगाछी चोकसम्मको दुईतर्फी पार्किङ्गले सडक अबरुद्ध तथा जाम हुँदै आएको हुँदा एकतर्फी पार्किङ्गको व्यवस्थापन गरिरहेको बताए ।

प्रकाशित : माघ ६, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?