कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गुमनाम विराट दरबार

भेडियारीस्थित दरबारक्षेत्रमा पर्यटन वर्षको कुनै झल्को छैन । न त पर्यटक तान्ने कुनै योजना । दरबार चिनाउने संकेत बोर्ड नै पढ्नै नमिल्ने गरी मेटिइसकेको छ । 
जितेन्द्र साह

विराटनगर — विराट राजाको दरबार कहाँ छ, कताबाट जाने हो ? टाढैबाट देखिने गरी वरदेखि परसम्म कतै पनि सन्देशमूलक सूचना पाटी वा मार्गदर्शक चिह्न छैन । पर्यटकले स्थानीयलाई सोध्दै र दरबार खोज्दै अघि बढ्नु पर्छ । नजिकै आइपुगे पनि पर्यटन वर्षको झझल्को दिने खाले गतिविधि भएको देखिन्न । 

गुमनाम विराट दरबार

मुख्य थलोसम्म पुगिसक्दा पनि दरबारक्षेत्र चिनाउने जानकारीमूलक सामग्री सहजै फेला पर्दैन । पक्की पर्खालले घेरिएको दरबारको भग्नावशेष अघिल्तिर राखिएको बोर्डका अक्षर पढ्नै नसकिने अवस्थाको छ ।


मुख्य बजार क्षेत्रदेखि करिब ११ किलोमिटर दक्षिण नेपाल–भारत सीमामा पर्ने विराटनगर महानगर १८, भेडियारी बस्तीस्थित ‘विराट राजा प्राचीन दरबार’ क्षेत्रको अवस्था हो यो । महाभारत कालमा विराट राजाको दरबारमा गुप्तवास बसेका पाण्डवहरूको भेद जान्नका लागि हस्तिनापुरबाट दुर्योधनले भेदी (गुप्तचर) पठाएको ठाउँ भएकोले यसको भेडियारी नामकरण भएको स्थानीयको भनाइ छ ।


‘ठाउँ खोज्नै कठिन भयो, वरिपरि पर्यटकीय स्थल चिनाउने संकेत छैन,’ अमेरिका बस्ने वीरगन्जका युवा व्यवसायी राज सर्राफले भने, ‘यस्तो ऐतिहासिक स्थललाई ओझेलमा परेको देख्दा निराश भएको छु ।’ उनी मित्रजनसँग घुम्ना आएका थिए ।


सर्राफले भने,‘कृषि, उद्योग, व्यापार र प्रविधिझै पर्यटन भनेको समृद्धिको आधार हो, विश्वकै पर्यटकको ध्यान आकर्षित गर्न सकिने यो थलोमा अहिलेसम्म पूर्वाधार निर्माण भएको देखिन्न ।’ करिब अढाई किलोमीटर क्षेत्रफलमा विराट राजाको दरबार फैलिएको छ ।

२०२७ मा पहिलोपटक उत्खनन भएदेखि हालसम्म पर्यटन बोर्ड र स्थानीय निकायले थोरथोर बजेट छर्दै आए पनि यहाँ उल्लेखीय काम नभएको स्थानीयको गुनासो छ । पुरातात्त्विक वस्तु भएको जमिनमा स्थानीयले धान, गहुँ र जुट खेती गरिररहेका छन् ।

‘विराटनगरको नाम र सम्मानसँग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन गरी बहुमुल्य सामग्रीको अन्तर्राष्ट्रिय स्तरको संग्रहालय बनाइसक्नु पर्ने हो,’ विराटनगरकी हेमकुमारी भुजेलले भनिन्, ‘प्राचीन सम्पदा एवं जमिनभित्रका बहुमुल्य बस्तु नासिने, मासिने र चोरिने सम्भावना छ ।’ संघ, प्रदेश र स्थानीयको बेबास्ताले गर्दा स्थानीयबासी पनि दुःखी छन् । पर्यटक सूचना केन्द्रमा जनशक्ति नभएकाले घुमफिर गर्न आउनेलाई भेडियारीबासीले मार्गदर्शन गरिरहेका हुन्छन् । ‘दिनमा १० जनालाई त म बाटो देखाउँछु,’ स्थानीय युवा किसान विनोद मण्डलले भने, ‘स्थानीय नै स्वयंसेवी पर्यटक गाइड हुन् ।’


पर्यटन पूर्वाधार विकासका लागि यहाँ कुनै काम भएको देखिन्न । प्राचीन बस्तु र भग्नावशेषका सुरक्षाका लागि कुनै निकाय राखिएको छैन । ‘उहिलेदेखि यो ठाउँलाई यस्तो र उस्तो बनाउने धेरै सुनेका छौं तर आजसम्म त्यो अनुरुप कुनै काम भएको छैन,’ स्थानीय ६५ वर्षीय सदानन्द मण्डलले भने, ‘अहिलेसम्म हामीले नै संरक्षण गरिरहेका छौं ।’ दशगजादेखि मुश्किलले ५ सय मिटर दुरीमा रहेको दरबारक्षेत्रमा प्राचीन इँटा छरिएको देखिन्छ । दरबारको भवनको जग फोहोरको थुप्रो स्थलमा परिणत भएको छ । २०२७ मा पुरातत्व विभागले उत्खनन गर्दा यहाँ ५० कोठे भवन तथा प्राचीन मन्दिरको अवशेष, पाको इँटाको अन्डाकार गर्भगृह, माटाका भाडाकुडा, विभिन्न आकारका धातु र ४० मुद्रा फेला परेको थियो ।


अन्य पुरातात्विक अवशेषहरूमा भेडियारीको मुल ढिस्को, धरहवा पोखरी, घेघा इनार, चौरी दह, राजाजी ग्रामदेवता थान, बाघेश्वरी देवीको थान र मोरंगिया गढ्डी पोखरीलगायत छन् । यहाँका पुराना पोखरी एवं इनारहरू पुरिएका छन् । भेडियारी वरिपरिको क्षेत्रमा जमिन मुनि विराट दरबारका अवशेषहरू प्रशस्त मात्रामा भेटाउँछ ।


यहाँ खेतीपाती, घर निर्माण र उत्खननको क्रममा जमिन मुनि पुरिएका भवनका जग, मुर्ति, इनार, सिलौटा, बुट्टे शिलालेख,

ढुंगाको नापतौल सामग्री, मटयांग्रा, साँचा, माटा तथा तामाका मुद्रा, कुपी, राम, लक्ष्मण र भरत अंकित धातुको सिक्का, शस्त्रमा धार लगाउने यन्त्र, आगो निकाल्ने यन्त्र, बहुमुल्य मोती, निल र मुंगाहरू फेला परेका छन् ।


महाभारतकालका अनुमान गरिएका ती सामग्रीलाई स्थानीय ६४ वर्षीय कमलकिशोर यादवले आफ्नै घरको सिसाको दराजमा राखेर संरक्षण गरेका छन् । उनी झन्डै दुई दसकदेखि सपरिवार दरबार क्षेत्रको संरक्षण र खोजबीनमा सक्रिय छन् । यादवका छोरा २९ वर्षीय मुकेशकुमार दरबारका संरक्षक र गाइड हुन् ।


‘बुबाको नेतृत्वमा दरबारको भग्नावशेष र पुरातात्विक सामग्रीको सुरक्षा हामीले नै गरिरहेका छौं,’ यावदले भने । उनको अनुसार विद्यार्थी, शोधकर्ता र पर्यटक गरी दिनहुँ औषत २० जना आउँछन् । ‘नेपाल भ्रमण वर्ष सुरु भएपछि आउने क्रम बढेको छ, कहिलेकाहिँ त दुई/तीन बसमा विद्यार्थी आउँछन्,’ यादवले भने ।


दरबार एवं आगन वरिपरि राखिएका दरबारका भग्नावशेष र प्राचीन सामग्रीको बारेमा पर्यटकलाई यादव परिवारले जानकारी दिन्छन् । ‘कुनै शुल्क लिंदैनौं, स्वेच्छाले कसैले दिएमा मात्र स्वीकार्छौं,’उनले भने । पूर्वव्यवसायी र पूर्वजनप्रतिनिधि उनको पिता कमलकिशोरले सम्पूर्ण समय यो ऐतिहासिक धरोहरको उत्थानमा लगाइरहेका छन् । ‘उबेला खेतमा हात्तीको दाँतको पासा, मुंगा, चम्किलो पत्थर र चार थरिका इँटा भेटिएपछि प्रशासनलाई मैंले नै खबर गरेको हुँ,’उनले भने,‘यो सम्पदालाई बचाउन सर्वत्र धाइरहेको छु, दशगजा सीमानजिकै दरबार भएकोले यसको सुरक्षा जरुरी छ ।’ विभिन्न प्रयोजनका लागि २०५२ मा यहाँ तीन कोठा, २०५४ मा एक भवन, २०६८ मा दरबारमा मन्दिर, पर्खाल, गेटपाले घर, बाटो र दरबारको ढिस्कोको उत्तरमा धरोहर पोखरी निर्माणसम्म भएको हो । हाल दरबार क्षेत्रमा संग्रहालयका लागि तीन कोठे पक्की भवन निर्माण भएको यादवले बताए ।

प्रकाशित : माघ ६, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?