कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश १ मा पहिलो दलित महिला मन्त्री

वालीघरेदेखि मन्त्रीसम्मकाे यात्रा
पर्वत पोर्तेल

काँकडभिट्टा — प्रदेश सरकार गठन भएको करिब दुई वर्ष बित्न लाग्दा आइतबार प्रदेश १ मा चार जना नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश १ काे सरकारमा चार मध्ये एक महिला पनि छन् । उनी हुन् झापाकी जसमाया गजमेर ।

प्रदेश १ मा पहिलो दलित महिला मन्त्री

उनले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । पूर्व एमालेको कोटाबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी गजमेर झापाकी जुझारु नेता हुन् । पार्टीभित्र ‘क्रान्तिकारी’ छवि बनाएकी उनी निरन्तर जनताको सेवाको प्रतिफल स्वरुप आफू यो अवस्थामा आइपुगेकी बताउँछिन् । ‘मैले कहिल्यै मन्त्री हुनुपर्छ भनेर मरिहत्ते गरिनँ’, राज्यमन्त्री बनेपछि उनले भनिन्,‘नेतृत्वले जिम्मेवारी दियो अनि स्वीकारे ।’


मुख्यमन्त्री शेरधन राईले यसअघि मन्त्रीहरु थप्दा महिला र दलितलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता गरेका थिए । यसै अनुरुप यस जिम्मेवारी जसमाया गजमेरसम्म आइपुगेको हो ।

जसमायाका अनुसार पद प्राप्तिका लागि उनले कहिल्यै ‘चलखेल’ गरिनन् । सामाजिक विकास राज्य मन्त्रीको जिम्मेवारीपछि उनले महिला,दलित र उत्पीडित वर्गको हितमा काम गरेर देखाउने प्रतिवद्धता जनाइन् ।


जसमाया ४० वर्ष अघि इलामको फाकफोक थुममा विपन्न दलित परिवारमा जन्मिइन् । त्यसबेला वालीघरे प्रथा व्यापक थियो ।

यस प्रथाले उनलाई भित्रैबाट पोल्थ्यो । विभेद किन हुन्छ भन्ने यिनको बाल मानसिकताले बुझेको थिएन । त्यही विभेद र छुवाछुतको भोगाइले यिनलाई राजनीतिसम्म डोर्याएर मन्त्री बनायो । जसमाया स्कुले जीवनबाटै कम्युनिस्ट राजनीतिमा आबद्ध भइन् ।

घर गाउँमा मात्रै हैन, स्कुलमा पनि छुवाछुतको व्यवहार सहनु परेको अनुभव उनीसँग ताजै छ । ‘छुवाछुतको भोगाइ नै मेरो राजनीतिको प्रेरणा हो’, उनी भन्छिन् ।


स्कुल, गाउँ इकाई कमिटीदेखि जिल्ला र केन्द्रीय स्तरसम्म उनको राजनीतिक अनुभव छ । पार्टीमा रहेर उनले निरन्तर काम गरिरहिन् । ‘यही निरन्तरताले प्रदेश सदस्य हुँदै मन्त्री बनेकी हुँ’, उनी भन्छिन् ।

प्रकाशित : माघ ५, २०७६ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?