कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बचाउने कि धपाउने चौंरी गोठ ?

सडक पूर्वाधारको पहुँच वृद्धिसँगै हिमाली बस्तीमा पनि दशकअघि जस्तो चौंरी पाल्ने चलन घटेको छ । फाट्टफुट्ट पालेकाहरू पनि बेचेर गाडी किन्न लालायित भेटिन्छन् ।
आनन्द गौतम

(पापुङ, ताप्लेजुङ) — सदरमुकाम फुङलिङका वाङगे शेर्पा पुस २६ गते जन्मस्थल पापुङ गए । गाडीमा गएका उनी साँवाको फुङफुङेमा ओर्लिए । बास बस्न बस्तीतिर उक्लँदै थिए । पारिपट्टि चौंरीको घण्टी बज्यो ।

बचाउने कि धपाउने चौंरी गोठ ?

उनलाई लाग्यो, ‘अब उतै जान्छु र चौंरीवालसँगै बस्छु’ । साँझ पर्दै गएकाले फटाफट अघि बढे । उनी साम्जेटारको ओडारमा पुग्दा चौंरीवाल आगो दन्काएर खाना बनाउँदै थिए । गाउँमा चौंरी पाल्ने अधिकांश चिनजानकै भएकाले ‘म पनि थपिएँ है’ भन्दै झोला बिसाए । उनीहरूसँगै खाना खाए र त्यही ओडारमा सुते ।


ओडारमा सुतेका उनलाई विशेष सम्मान दिए । चौंरीका डढाल्नामा लगाउने कपडा उनको ओछ्यानमा १० वटा ओछ्याइदिए । ओढ्नका लागि स्लिपिङ ब्याग थियो । ‘चौंरी धपाएर आएका केटाहरू गाउँतिर पसेछन्,’ वाङगेले भने, ‘सुत्ने बेलामा त हामी ५/७ जना बुढा मात्रै भयौं ।’ बालेको मुढाको राप आउने र ओडारले शीत छेल्ने भएकाले चिसो नभएको उनले सुनाए । वाङगे २४ वर्षपछि यसरी चौंरीको गोठमा सुतेका थिए ।


त्यसअघि उनी आफैं चौंरी धपाएर हिँड्थे र यस्तै ओडारमा रात बिताउँथे । पापुङको यही बस्तीबाट सयौं पटक सदरमुकाम फुङलिङसम्म चौंरी हिँडाएको उनको अनुभव छ । धपाउँदा धपाउँदै सदरमुकाममा घडेरी किने र घर बनाएर सहरमै बस्न थाले । फुङलिङ बजारको वीरेन्द्र चोकमा होटल चलाउन सुरु गर्दाताका उनले आफ्नो गोठ रित्याएका थिए ।


वाङगेजस्ता चौंरीपालन छाडेर अन्य व्यवसाय गर्नेको संख्या बढ्दो छ । उनैको बुझाइमा गाउँमा बाटो पुगेको चार–पाँच वर्षमा सबैको गोठबाट चौंरी रित्तिइसक्छ । ताप्लेजुङ जिल्लामा ६१ वटा वडा छन् । पापुङ र मामांखेमा मात्रै मोटरबाटो पुग्न बाँकी छ । पापुङको सिमानामा रहेको फुङफुङेसम्मै पुगेकाले यसै वर्षमा मिक्वाखोला–५ को पापुङ पनि मोटरबाटोले छुने वडाध्यक्ष डण्डु शेर्पा बताउँछन् ।


यो क्षेत्रमा मेवाखोला जलविद्युत् आयोजनाले दुईवटा एक्स्काभेटर मेसिन लगाएर सडक विस्तारको काम गरिरहेको छ । पापुङमा २० मेगावाटका दुईवटा आयोजना भएकाले त्यहाँसम्मै सडक विस्तार गर्ने आयोजनाको सञ्चालक समिति सदस्य डम्बरध्वज तुम्बाहाम्फे बताउँछन् ।


अहिले पापुङमा एउटा घरमा पाँचदेखि नौ वटासम्म चौंरी र याक छन् तर यस्ता घरधुरी दुई दर्जन हाराहारी मात्रै छन् । वडाध्यक्ष डण्डुका अनुसार एक दशकअघिसम्म शेर्पा र भोटेका प्रत्येक घरमा कम्तीमा १०/१५ वटा अनिवार्य हुन्थ्यो । औलका किसानले माउ गाई र हल गोरु पाले जत्तिकै थियो । चौंरीको दूध दुहुन्थे । यसबाट घिउ, छुर्पीलगायत उत्पादन हुन्छ । हिउँदको बेला भारी बोक्नका लागि औलतिर झार्थे । ढुवानीका लागि बर्खामा मान्छे र हिउँदमा चौंरी र याकको भर थियो । बर्खा सिद्धिएपछि चौंरीवाल बिग्रेको बाटो बनाउँदै चौंरी धपाएर हिँड्थे । गाउँबाट अलैंची, अम्रिसो र जडीबुटीलगायत वस्तु औलतिर झार्थे । सहरबाट चामल, नुन र दाललगायत सामग्री लिएर फर्कन्थे । सिमेन्ट र बालुवाजस्ता निर्माण सामग्रीसमेत चौंरीबाट ढुवानी गरेको नाम्ग्या शेर्पा बताउँछन् ।


जिल्लामा खच्चड भित्रिएपछि चौंरीलाई केही धक्का भयो । चौंरी, याकको तुलनामा चाँडो हिँड्ने र भारी बोक्ने प्रयोजन भएकाले खच्चडको असर चौंरीमा पर्‍यो । नाम्ग्याका अनुसार उनी आफैंले पनि चौंरी बेचेर खच्चड किने । अब यी दुवै विस्थापनको चरणमा पुगेका छन् । वाङगेका अनुसार चौंरी पालकको ध्यान ट्याक्सी खरिदतर्फ केन्द्रित भएको छ ।


त्यही रात साङगे शेर्पाले एउटा ट्याक्सीलाई कति मूल्य पर्छ भनेर सोधेका थिए । गाडी किस्तामा पाइने र पहिलो पटक पाँच–सात लाख रुपैयाँ जम्मा गरे हुने सुनेपछि उनीहरू निकै नै उत्साही बने । एउटा चौंरीको मूल्य एक लाख रुपैयाँसम्म पर्ने र भएका चौंरी बेचेको पैसाले गाडीको पहिलो किस्ता पुग्ने भएकाले युवाको मन बदलिएको वाङगे बताउँछन् । उनीहरूलाई कहिलेसम्म चौंरी धपाउने भन्ने चिन्ता छ ।


चौंरी र याक

औलको गाईलाई लेकको याक लगाएपछि उत्पादन हुने सन्तान ‘चौंरी’ हो । याकको माउमा तिब्बतबाट ल्याएको गोरुको प्रजननबाट उत्पादन हुने सन्तानलाई ‘जोबे’ भनिन्छ । चौंरीकै गाई–गोरुबाट भने सन्तान हुँदैनन् । पहाडी बहरसँग नाकको संसर्गबाट चौंरी जन्मछ ।


याक र पहाडी गाईबाट जन्मने सन्तानलाई उराङ पनि भनिन्छ । विशुद्ध घरपालुवा जनावर भएकाले दूधदेखि भारी बोकाउनेसम्मको प्रयोजनमा प्रयोग गरिन्छ । पहिले हिमाली ढुवानी सेवा पनि भनिन्थ्यो । मोटोघाटो र तुलनात्मक रूपमा लामो पनि हुने भएकाले खच्चडको तुलनामा भने यो निकै नै ढिलो हिँड्ने जनावर पनि हो ।


गोठपालकले बीउका लागि तिब्बतबाट अनिवार्य गोरु ल्याउने गरेका छन् । यसको मूल्य एक लाख रुपैयाँसम्म पर्ने पेम्बाछिरिङ शेर्पा बताउँछन् । आफ्नो गोठमा नभएकाहरूले अरूको गोठमा चौंरी र याक लगेर संसर्ग गराउँछन् । नौ महिना गर्भधारण अवधि भएका चौंरी र याक १२ बेतसम्म ब्याउँछन् । पेम्बाछिरिङका अनुसार रोग लाग्दा उपचार गर्न नसक्नु अहिलेको मुख्य चुनौती बनेको छ । ज्वरो आउने, झाडापखाला लाग्नेजस्ता समस्या देखिने गरेको छ । यस्तो बेला घरेलु उपचार गर्नुबाहेक उनीहरूसँग विकल्प हुँदैन । अझ यो वर्षदेखित पशुचिकित्सक खोज्न पाँचथर सदरमुकाम फिदिम पुग्नुपर्ने बाध्यता छ ।


पशु स्वास्थ्यकर्मी जिल्लाबाट झिकाउनुपर्छ । गोठमा पुगिसक्दा क्षति भइसक्छ । यस्तो बेला घरेलु उपचार गर्ने र निको नभएर मरे त्यहीं गाडेर गोठ अर्को ठाउँमा सार्ने पेम्बाछिरिङ बताउँछन् । मरेकै ठाउँमा गोठ राख्नु हुँदैन भन्ने पुरानो मान्यता छ । हिउँ परेका बेला घाँस तान्ने क्रममा र बाटो भुलेर लडेर पनि मर्ने गरेका छन् ।


पछिल्ला वर्ष घाँस खान नरुचाउने, बसेको ठाउँबाट नउठ्ने र हिँड्दा थरथर काप्ने लक्षण देखिन्छ । यस्तो भएको ८ देखि ११ दिनको बीचैमा मृत्यु भइसक्छ । समस्या देखिएपछि गोठबाट घरसम्म पनि ल्याउन नसकिने पशुपालकको गुनासो छ । स्वास्थ्यकर्मी विकनेस (कमजोरी) का कारण यस्तो भएको बताउँछन् । हिमालमै बस्ने भएकाले हिउँ र चिसोको सामना चौंरीले गर्न सक्छन् तर धेरै दिन हिउँ परे खाने कुरा पुर्‍याउन कठिन हुन्छ । यो बेला शारीरिक कमजोरी हुने र तन्दुरुस्त पार्न कठिन हुने चौंरीपालक बताउँछन् ।


पहिला हिउँबाट जोगाउन गोठ अनिवार्य औलतिर झार्ने र भारी बोकाउने गरिन्थ्यो । लेकमै भएकालाई गोठमै बाँधेर पनि राखिन्थ्यो । अहिले औलमा धपाएर लिएर जाने जनशक्ति कम भएको छ । गोठाला पनि पाइँदैन । औलमा हिउँदे बाली लगाउने भएकाले राख्ने ठाउँको पनि समस्या छ । हिउँले छोपे त्यहाँबाट निस्कनासाथ नुनभुस खुवाउन पुग्नुपर्छ । यसले उनीहरूलाई चरनमा जान शक्ति प्राप्त हुन्छ । यतिबेलाका लागि घाँसको जोहो पनि पहिल्यै गरिएको हुन्छ । हिउँ परेका बेला घाँस तान्ने क्रममा सबैभन्दा बढी दुर्घटनाको जोखिम हुन्छ ।


लेकमा पाइने निगालो, मालिङ्गो हिउँले नुहाएको हुन्छ । त्यो निगालो खानका लागि तन्किन्छन् । त्यही बेला लड्ने र दुर्घटना हुने नुपु शेर्पा बताउँछन् । भारी बोकाउँदा भने घाँस खोलेका अलावा दाना पनि दिनुपर्छ । मकै, नुन, भुस मिलाएर दिइन्छ ।


मिक्वाखोला ५ का वडाध्यक्ष शेर्पा परम्परागत व्यवसाय जोगाउनु अनिवार्य रहेको बताउँछन् । उनका अनुसार यसका लागि स्थानीय तहले भने धेरै लगानी गर्न सक्तैन । ‘मौसम परिवर्तनका कारण रोगको संक्रमण बढी नै देखिन थालेको छ,’ उनले भने, ‘यसका लागि दक्ष स्वास्थ्यकर्मी सके गोठमै नभए वडामा राख्नु अनिवार्य छ ।’ नश्ल सुधारका लागि पनि विशेष योजना ल्याउनुपर्छ । याक संरक्षण र नश्ल सुधारका लागि सरकारले डोल्पा र सोलुखुम्बुमा कार्यक्रम ल्याएको थियो । अहिले स्याङबोचेमा मात्रै संरक्षण तथा संवर्द्धन कार्यक्रम सञ्चालनमा रहेको उनले बताए । यस्तो कार्यक्रम ताप्लेजुङमा पनि विस्तार गर्नुपर्ने उनको माग छ ।


मिक्वाखोलाको पापुङ, साँवा, फक्ताङलुङको ओलाङचुङगोला, लेलेप, सिरिजंघाको याम्फुदिनमा समथर खर्क र चौर प्रशस्तै रहेकाले चौंरीपालनको सम्भावना रहेको डण्डुको बुझाइ छ । यसका लागि पशु बिमा, मौसमको पूर्वजानकारी, बजारको सुनिश्चितता अनिवार्य भएको डण्डु बताउँछन् ।


स्थानीयले पनि अब चार/पाँचवटा मात्रै नभएर व्यावसायिक रूपमा सयौंको संख्यामा पाल्न सक्नुपर्छ । अहिलेसम्म नेपालका चौंरी र याक चीनमा मात्रै निर्यात हुने गरेको छ । मासुका लागि चीनमा लगिन्छ । छुर्पी र चम्मर भने नेपाली बजारमा बिक्री हुन्छ । चौंरीको पुच्छर चम्मरका रूपमा प्रयोग हुन्छ । गोठ जोगाउन सके नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने डण्डु बताउँछन् । ‘तीनजुरे मिल्के जलजलेमा लालीगुँरास हेर्न आएका मान्छेले चौंरी याकको बथान पनि देखे अझै खुसी हुन्छन्,’ उनी भन्छन्, ‘हिमाली पशुपालनको संस्कृति जोगाउन र पर्यटकलाई देखाउन पनि जोगाउन जरुरी छ ।’

प्रकाशित : माघ ४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?