पारि छोरीको हत्या, वारि न्यायको पर्खाइ

जितेन्द्र साह

(विराटनगर) — छोरीका बारेमा सोध्नेबित्तिकै विराटनगर ११ पिचरा धुदुवा टोलकी ४५ वर्षीया आनन्दीदेवी सहनी डाँको छाडेर रुन्छिन् । ‘सासूससुरा, ज्वाइँ, नन्द र छरछिमेकले मिलेर अर्धमूर्च्छित नहुन्जेलसम्म कुट्दै छोरीलाई विष खुवाए, रातारात खोलामा लगेर फाले,’ उनी रुँदै भन्छिन्, ‘ती निर्दयी हत्यारालाई पनि अदालतले यसै गरी सजाय दिनुपर्छ, उनीहरूलाई फाँसीको सजाय हुनुपर्छ ।’

पारि छोरीको हत्या, वारि न्यायको पर्खाइ

दाइजोको भोका ससुराली पक्षले छोरी २२ वर्षीया रञ्जनाको हत्या गरेपछि उनी तीन महिनादेखि न्यायको पर्खाइमा छिन् । ‘फूल जस्ती छोरीलाई तडपाएर मार्नेहरूले कहिल्यै शान्ति नपाऊन्, उनीहरूको पनि अकालमै मृत्यु होस्,’ आनन्दीदेवीले विलाप गर्दै भनिन् ।


भारत बिहारको अररिया जिल्लास्थित जोगबनीको भेडयारीमा रञ्जनाको असोज २४ को राति हत्या भएको थियो । घटनाको आठ महिनाअघि २३ फागुनमा जोगबनी भेडयारीका २५ वर्षीय भीम बहरदारसँग उनको मागी बिहे धुमधामले भएको थियो ।


जोगबनी प्रहरी चौकीका अनुसार हत्याको दुई दिनपछि २६ असोजको बिहान सीमावर्ती जोगबनी बजारदेखि करिब ३ किमि दक्षिण भवानीपुरस्थित परमान खोलामा रञ्जनाको शव फेला परेको थियो । रञ्जनाको घरदेखि यो खोला एक किलोमिटर पर छ ।


छोरी हराएको खबर पाएपछि २५ असोजमा माइती पक्ष खोजतलास गर्दै भेडयारी पुगेका थिए । खोजी जारी रहँदा २६ असोजको बिहान स्थानीय बालबालिकाले खोलामा शव देखेर खबर गरेका थिए, जुन रञ्जनाको थियो । मृतकको अनुहारलगायत शरीरको विभिन्न भागमा चोटपटक देखिएको थियो ।


‘शारीरिक यातना र हत्या पुष्टि भएकोले चार आरोपीलाई तत्कालै पक्राउ गर्‍यौं । शवको फारबिसगन्ज अस्पतालमा पोस्टमार्टमपछि भिसेरा परीक्षणका लागि पटना पठायौं,’ जोगबनी प्रहरी चौकीका प्रमुख आफताब अहमदले कान्तिपुरसँग भने, ‘अब यो मुद्दा अदालतमा विचाराधीन छ ।’ सीमावर्ती भारत बिहारको अररिया जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । ‘६ महिनाभित्र फैसला हुने अदालतले भनेको छ,’ आमा आनन्दीदेवीले भनिन् । दाइजो स्वरूप माग गरिएको २ लाख रुपैयाँ नदिँदा छोरीको हत्या भएको माइती पक्षको बयानअनुसार प्रहरीले तत्कालै रञ्जनाका श्रीमान् २५ वर्षीय भीम बहरदार, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको थियो ।


फरार रहेकी रञ्जनाको सासूलाई दुई साताअघि पक्राउ गरी अदालतमा उपस्थित गराइसकिएको अहमदले बताए । उनको जेठानी दिदी अझै फरार छिन् । आनन्दीदेवीका अनुसार ससुराली पक्षबाहेक कुटपिट र हत्यामा टोलवासीको समेत संलग्नता थियो ।


‘मुख्य आरोपीहरूलाई पक्राउ गरिसकेका छौं । अब उनीहरूको घरमा ताल्चा लागेको छ,’ उनले भने, ‘यस्तो मुद्दा कहिल्यै बन्द हुन्न । अनुसन्धानको क्रममा अन्य पनि आरोपी देखिएमा वा अदालतले थप कसैलाई पक्राउ गरेर ल्याउन भनेमा प्रहरी पछि हट्दैन ।’ हरेक कोणबाट अनुसन्धान गरिंदा रञ्जनाको कुटपिट र विष सेवनबाट हत्या भएको पुष्टि भइसकेको हुनाले अभियुक्तहरू बच्ने सम्भावना नरहेको अहमदले बताए ।


रञ्जनाको शव फेला पर्नुभन्दा १५ दिनअघि ज्वाइँले पसल खोल्नलाई पैसा चाहिएको भन्दै दबाब दिएको र नदिएमा रञ्जनाको हत्या गर्ने धम्की दिएको माइती पक्षले बिहार प्रहरीको जोगबनी चौकीलाई दिएको जाहेरीमा उल्लेख छ ।


एक मात्र छोरीको हत्यापछि आनन्दीदेवीको आँखाबाट आँसु नझरेको दिन छैन । ‘गरिब भए पनि छोरीको बिहे खर्चमा कुनै कमी हुन दिएनौं,’ उनले भनिन् । बाँकी चार सदस्यीय सहनी परिवारमा आनन्दीदेवीका पति ५० वर्षीय मानीचन्दले राजमिस्त्री र छोरा २१ वर्षीय रिकेशले टेन्टको काम गर्छन् ।


सामान्य घरमा बस्ने सहनी परिवारले अहिलेसम्मको सम्पूर्ण बचत छोरीको बिहेमा खर्चेका थिए । टीभी, फर्निचर, गरगहना, लुगाफाटा र भाँडाबर्तनलगायत सम्पूर्ण सामान दिएर छोरीलाई बिदा गरेका थिए । तर ज्वाइँले कम दाइजो पाएको भन्दै रञ्जनालाई शारीरिक एवं मानसिक यातना दिँदै आएको परिवारजनले बताए । बिहेपछि परिवारजनले ऋण खोजेर भए पनि ज्वाइँलाई मोटरसाइकल किनेर दिएका थिए ।


‘अब त छोरीलाई खुसी राख्लान् भनेर सोचेका थियौं तर ठिक उल्टो भयो, माग बढ्दै गयो,’ आनन्दीदेवीले भनिन्, ‘पसल खोल्नलाई ज्वाइँले २ लाख रुपैयाँ माग्यो, यति ठूलो रकम तत्कालै दिनलाई असमर्थ थियौं ।’


मागेको रकम नदिएमा रञ्जनालाई मारेर फालिदिने धम्की पटकपटक ज्वाइँले दिएको कान्छो हजुरबा ५५ वर्षीय लक्ष्मी सहनीले बताए । ‘अन्तिम पटक धम्की दिएको १५ दिनपछि नातिनीको हत्या गरे,’ उनले भने । तल्लो अदालतको फैसलाबाट चित्त नबुझेमा उच्च अदालत पुग्ने र त्यहाँबाट पनि चित्त नबुझेमा सर्वोच्चलाई गुहार्ने सहनीले बताए । उनले भने, ‘नातिनीको हत्याराहरूलाई छाड्दैनौं ।’


तर पनि छोरी गुमाएकी आमा आनन्दीदेवीको अवस्था बेहाल छ । घरमा आइपुग्नेलाई छोरीको एक मात्र तस्बिर र शोकपत्र देखाउँदै रुन थाल्छिन् । बैचेनी र छटपटाहटले गर्दा उनलाई राम्ररी निद्रा आउँदैन । ‘सपनीमा छोरीलाई घर फर्केको देख्छु,’ आनन्दीदेवी भन्छिन्, ‘विपनीमा पनि फर्केर आउँछिन् कि जस्तो लाग्छ, आँगनमा छरछिमेकका छोरीबुहारी आउँदा रञ्जना नै आएजस्तो भान हुन्छ ।’ छोरीको सन्तानलाई खेलाउने सपना अधुरै रहेको उनले बताइन् । चाडबाडमा छरछिमेकका छोरीज्वाइँ आउँदा सम्झना आउने गरेको आनन्दीदेवी बताइन् ।

प्रकाशित : माघ ४, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?